युक्रेनमाथि रुसले 'कुनै पनि समय' हमला गर्नसक्ने अमेरिकाको चेतावनी  

सुहन श्रेष्ठ

वाशिंगटन डीसी
Photo: AFP
Photo: AFP

युक्रेनमाथि रूसले कुनै पनि समय हमला गर्न सक्ने अमेरिकाले चेतावनी दिएकाे छ।

ह्वाइट हाउसले अमेरिका र रुसी कूटनीतिज्ञबीचको बैठकअघि युक्रेन-रुस सिमाक्षेत्र बारे खतराको मूल्याङ्कन गर्दै युक्रेनमा कुनै पनि समय रुसले आक्रमण गर्न तयार रहेको बताएको हाे।

'रूसले युक्रेनमा कुनै पनि समयमा आक्रमण गर्न सक्ने भएकोले हामी अहिले संवेदनशील स्थितिमा छौँ र हामीले पहिले देखेभन्दा धेरै गुणा खतरनाक स्थिति हो यो,' अमेरिकी प्रेस सचिव जेन प्साकीले मंगलबार पत्रकारहरूलाई भनिन्।

राज्य सचिव एन्टोनी ब्लिन्केनले शुक्रबार जेनेभामा रूसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्ने कार्यक्रम संगै युक्रेन वरपरको अवस्थाको बारेमा प्साकीको उक्त कुरा बताएकी हुन्।

ब्लिन्केनले रुसलाई युक्रेनबाट फिर्ता बोलाउन कुनै 'कूटनीतिक सम्झौता' र 'साझेदारी' मा पुग्न सकिन्छ कि भन्ने उदेश्यले उक्त वार्ता राखेको एक अमेरिकी अधिकारीले नाम नखुलाउने सर्तमा भने।

युक्रेन, संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले युक्रेन सीमामा रुसी सेना जम्मा पारेकाेप्रति गहिरो चिन्ता व्यक्त गर्दा मस्कोले आक्रमणको योजना रहेको बारम्बार अस्वीकार गरेको छ।

रूसले पहिले नै कब्जा गरिसकेको क्रिमिया र रुस समर्थक पृथकतावादीहरूलाई सहयोग गरिरहेको क्षेत्र युक्रेनमा यदि राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गर्ने निर्णय गरेकाे खण्डमा 'गम्भीर आर्थिक प्रतिबन्ध' लगाइने प्साकीले बताइन्।

प्रतिबन्ध सूचीमा 'नोर्ड स्ट्रिम २'

संयुक्त राज्य अमेरिका र यसका युरोपेली सहयोगीहरूले युक्रेनविरुद्ध रूसी आक्रमणलाई कुनै सैन्य शक्तिको साथ सामना गर्ने योजना नभए पनि विगतमा कहिल्यै प्रयोग नगरिएको आर्थिक काउन्टर उपायहरू लागु गरिने वाशिंगटनले बताएको छ। 

उक्त आर्थिक प्रतिबन्धमा रुसबाट जर्मनीसम्मको 'नर्ड स्ट्रिम २' प्राकृतिक ग्यास पाइपलाइनलाई रोक्ने योजना समावेश भएको प्साकीले जोड दिइन्।

पूरा भइसकेको तर सञ्चालनमा नआएको उक्त पाइपलाइन युरोपको ऊर्जा आपूर्ति नेटवर्कको एक महत्त्वपूर्ण भाग मानिन्छ। तर रुसको लागि भने यो पाइपलाइन मस्कोको निर्यात क्षमता सुदृढ पार्ने एउटा हिराको टुक्रा हो।

'हाम्रो दृष्टिकोणमा नोर्ड स्ट्रिम २ रोक्ने रुसमाथिको एक मात्र कदम हाे', प्साकीले भनिन्। युक्रेनप्रति अमेरिकी समर्थन प्रदर्शन गर्न ब्लिन्केन मङ्गलबार कियेभ पुगेका थिए।

त्यसपछि उनी पश्चिमी एकता कायम गर्न बेलायत, फ्रान्स र जर्मनीसँग चारतर्फी वार्ताका लागि बर्लिन जानेछन्। एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-01-19 18:59:00

प्रतिकृया दिनुहोस्