म्यान्मार सेनाद्वारा पत्रकारसहित १० जनाको घाँटी रेटेर हत्या

सुधा अत्रि

हाखा, म्यान्मार
Breaknlinks Nepali
Breaknlinks Nepali

भारत र बङ्लादेशसँग सीमा जाेडिएकाे म्यान्मारको पश्चिमी छिन् प्रान्तमा ‘सैन्य जुन्ता’ले १३ वर्षीय बालक र एक पत्रकारसहित कम्तिमा १० जनाको घाँटी रेटेर हत्या गरेको खुलासा भएको छ।

अघिल्लो साता हिरासतमा लिएर सामूहिक रूपमा अमानबीय ढंगले क्रूरतापूर्वक हत्या गरिएको स्थानीयहरूले  बताएका छन्। एक वर्षदेखि सरकारी सेनाले गाउँ–गाउँमा छिरेर युद्ध अपराध गरिरहेको उनीहरू बताउँछन्।

‘जुन्ता सेना’द्वारा मारिएका उनीहरूलाई माटुपी बस्तीको कि–लुन र लोन–ह्ला गाउँबाट गिरफ्तार गरिएको थियो। स्थानीयहरूले मृतकमध्ये दुई जनाको शव कासे गाउँ नजिकै फेला परेका थिए। बाँकी आठ जनाको एक कि–लुन र लोन–हलाको बीच भाग भेटिएको छिन् जातीय अधिकार समूहका प्रमुखले बताएका छन्।

मृतक मध्ये तुइ डिम, भान हट, स्टिभन, ला रिङ, ला नाङ, टिन सान, फुपा सली, लियान न्गाई, जे काएट आङ र थाक लुङ रहेको स्थानीयले पहिचान गरेका छन्।

तुइ डिम म्यान्मार–भारत सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीय पत्रकार हुन्। उनले छिन् भाषामा आधारित खोनुम्थुङ समाचार संस्थाको प्रधान सम्पादक भएर काम गर्थें। उनी पक्राउ पर्नुअघि आफ्नो गृहनगर माटुपी भ्रमणमा निस्केको पारिवारिक स्रोतले दाबी गरेको छ।

स्थानीय बासिन्दाकाअनुसार उनको शव माटुपी–हाखा सडकको किलुन गाउँ नजिकै भेटिएको थियो। हत्या गरिएका मध्ये ला नाङ १३ वर्षीय बालक हुन्। गाउँलेहरूसँगै शिकार गर्न जंगल छिरेको बेला नाङसहित अन्य युवाहरू पक्राउ परे। उनीहरूलाई माटुपीस्थित १४० औं इन्फन्ट्री बटालियनका सैन्य जवानहरूले नियन्त्रणमा लिएको जनाइएको छ।

शिकारी दलसँगै जंगल पसेकी एक महिलाले आफू भने भागेर बाँचेको बताइन्। उनीहरूलाई क्रूर यातना दिएर हत्या गरिएको उनको दाबी छ। ‘गोलीका घाउहरू छैनन्,’ ती महिलाले भनिन्, ‘उनीहरूको हात बाँधिएको छ। घाँटी काटिएको अवस्थामा फेला पारेका छौँ।’

कासे गाउँ नजिकै भेटिएको एक शवको घाँटीमा चक्कु प्रहार गरिएको स्थानीय बताउँछन्। घाँटीमा सातवटा घाउ छन्।

भारतस्थित छिन् मानवअधिकार संगठनका उपकार्यकारी निर्देशक जा ओप लिनले चीन राज्यमा भएको हत्यालाई ‘सेनाले गरेको अर्को युद्ध अपराध’ भनेका छन्।

‘यो युद्ध अपराध हो। एक जवान केटा र एक पत्रकारसहित दर्जनौं बर्मेलीहरूको यसैगरी हत्या गरियो। सामान्य गाउँलेहरूलाई समातेर मार्नु वा तिनीहरूलाई मानव ढालको रूपमा प्रयोग गर्नु युद्ध अपराध हो,’ लिनले भने।

सेनाले यसक्षेत्रमा आक्रमण गरेपछि ३० गाउँका ४ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। जसमध्ये धेरैजसो म्यान्मार–भारत सीमापार गरी आश्रय लिन पुगेको स्रोतको दाबी छ।

जुन्ता सेनाले हालैका महिनामा छिन् प्रान्तमा पटकपटक आक्रमण गरी कैयौंलाई पक्राउ गरेको छ।
 

प्रकाशित मिति: : 2022-01-19 18:55:00

प्रतिकृया दिनुहोस्