गण्डकीका स्वास्थ्यकर्मी भन्छन्- हामी रहुञ्जेलसम्म कोरोनासँग लडिरहन्छौं

कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमणदर तिव्र गतिमा बढिरहेको छ। पहिलो र दोस्रो लहरमा जस्तै कोरोना संक्रमितको मृत्यु दर नबढे पनि संक्रमणदर भने ह्वात्तै बढेको छ।

गण्डकी प्रदेशमा पनि कोरोना संक्रमणको दर दिनहुँ बढ्दो क्रममा छ। गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमितको कास्कीमा छन्। आइतबार बेलुकासम्मको तथ्यांकमा कास्कीमा १ सय ५८ संक्रमित थपिएका छन्।

प्रदेशभर आइतबार बेलुकीसम्मको तथ्यांकमा २ सय १३ संक्रमित थपिएका छन्। योसँगै गण्डकीमा संक्रमितको संख्या ८९ हजार५ सय ५१ पुगेको छ।

संक्रमितको दर बढेसँगै अस्पतालमा बिरामीको संख्या पनि बढेको छ। केही स्वास्थ्यकर्मीहरु संक्रमित भएर आइसोलेसनमा छन्। गण्डकी प्रदेशको कोरोना अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डाक्टर शरद बरालका अनुसार अहिले अस्पतालमा गम्भिर खालका बिरामीको संख्या पनि थपिएको छ।

गम्भिर खालका १२ जना कोभिड संक्रमितको अहिले अस्पतालमा उपचार भइरहेको उनले सुनाए। ‘अहिले हाम्रो अस्पतालको आइसोलेसनमा १२ जना बिरामीहरुको हामीले उपचार गरिरहेका छौं। अवस्था एकदमै भयावह भइसकेको छ,’ उनले भने, ‘सबै जना सचेत हुनु जरुरी छ।’

कोभिड नियन्त्रणमा जुध्न. कोभिड अस्पतालमा २५ कर्मचारी खटिएका छन्। तीमध्ये केही स्वास्थ्यकर्मी कोभिड संक्रमित भएर बिदामा बस्नु परेको उनले सुनाए। कोभिडको पहिलो लहरमा ४० बेड क्षमता भएको यो अस्पतालमा अहिले बेड क्षमता बढाएर ९० पुर्‍याइएको छ।

दोस्रो लहर आउँदासम्म पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था नभएको भन्दै आलोचना खेप्नु परेको कोभिड अस्पतालमा अहिले पर्याप्त अक्सिजनकाे सुविधा पनि रहेको उनले सुनाए। हाल यो अस्पतालमा दैनिक २ सय सिलिण्डर आपुर्ति गर्न सक्ने क्षमता छ।

कोभिड संक्रमणको दर तिव्र गतिमा फैलिरहेको अवस्थामा पनि स्वास्थ्यकर्मीले त्यसकाे सामना गर्न तयार रहेको उनले बताए। ‘सबै स्वास्थ्यकर्मी संक्रमित भएर अस्पताल नरित्तिएसम्म हामी बिरामीको उपचार गरिरहन्छौं,’ उनले भने।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रन भयावह रुपमा फैलिसकेको उनले बताए। साथै, सचेत र सजग हुन समेत उनले आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2022-01-18 14:00:00

प्रतिकृया दिनुहोस्