कोरोना कहर : भारतसँग सीमाना जाेडिएका लुम्बिनीका ६ जिल्लाकाे यस्ताे छ तयारी

Breaknlinks
Breaknlinks

कोरोना संक्रमण बढेसँगै भारतसँग सीमाना जोडिएका लुम्बिनी प्रदेशका ६ जिल्लाका सीमा नाकामा प्रवेश गर्न कडाइ गरिएको छ। भारतबाट नेपाल प्रवेश गर्दा कोरोना फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको हो।

बाँके, रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका सीमा नाकामा विशेष कडाइ गरिएको छ। त्यस्तै दाङ र बर्दियाका कम चहलपहल हुने सीमा नाकामा पनि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन्।

दोस्रो चरणको कोरोना लहरमा सबैभन्दा पहिले र बढी बाँके जिल्ला प्रभावित भएको थियो। भेरी अस्पतालमा बेड अभावले कोरोना संक्रमितले धेरै दुःख पाएका थिए। अहिले त्यस्ताे अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण गर्न सीमा नाका जमुनाह नाकामा कडाइ गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए।

माघीभन्दा पहिले तिर्थालुहरु धेरै प्रवेश गर्न खोजेपछि केही कठिनाइ भएको र अहिले त्यस्तो अवस्था नभएको भन्दै उनले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरी परीक्षण गरिएको बताए। नेपाल प्रवेश गर्नेहरुकाे अनिवार्य एन्टिजेन विधिद्वारा कोरोना परीक्षण गरिएको, खोप लगाए/नलगाएको हेरिने गरिएको उनको भनाई छ।

साथै नेपालबाट भारत प्रवेशमा पनि कडाइ गरिएको छ। भारत जानका लागि पनि अतिआवश्यक कामबाहेकमा रोक लगाइएको केसीले बताए। ‘अहिले रुपैडिया बजार जानलाई पनि कडाइ गरेका छौँ, अतिआवश्यक हो भने मात्र जान दिने, नत्र जान नदिने पनि गरेका छौँ,’ उनले भने।

उनका अनुसार नरैनापुर गाउँपालिका क्षेत्रका खुला सीमानामा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ। साना नाकाहरुमा आवतजावत गर्नेहरुलाई रोक्न सुरक्षाकर्मी परीचालन गरिएको हो।

यस्तै लुम्बिनी प्रदेशको बढी जोखिम जिल्ला नवलपरासी पश्चिम पनि हो। यस जिल्लामा पनि खुला सीमानाहरु थुप्रै रहेका छन्। विशेष गरेर महेसपुर सीमा नाकाबाट आवतजावत हुने भएपनि अन्य थुप्रै साना सीमा नाकाहरु यस जिल्लामा रहेका छन्। जसले कोरोना संक्रमण जोखिम बढाउने गरेको छ।

महेसपुर सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर नेपाल प्रवेश गर्नेकाे एन्टिजेन विधिद्वारा परीक्षण गरिएको छ। नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार महेसपुर सीमा नाकासहित अन्य साना नाकाहरुमा पनि थप कडाइ गरिएको छ। अन्य सीमा नाकामा स्थानीय तहलाई कडाइ गर्न आग्रह गरिएको मिश्रले बताए।

त्यसैगरी रुपन्देहीको बेलही नाकामा पनि कडाइ गरिएको छ। नाकमा नै हेल्थ डेस्क स्थापना गरी यहाँ पनि एन्टिजेन विधिद्वारा कोरोना परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए।

कपिलवस्तुको कुष्ण नगर सीमा नाकामा पनि आवतजावत गर्न कडाइ गरिएको कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए। यस नाकामा पनि हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण गरिँदै आएको छ।

अन्य साना नाकाहरुमा पनि स्थानीय तहसँगको समन्वयमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै निगरानी बढाइएको उनले बताए।

दाङको एक मात्र सीमा नाका कोइलावासबाट पनि मानिसहरुको आवतजावत बढेपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। ‘तिर्थालुहरुकाे आवतजात बढेको थियो। हामीले थप कडाइ गरेका छौँ,’ उनले भने, ‘हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण गरिँदै आएको छ।’

बर्दिया प्रशासनले जिल्लामा ठुला सीमानाका नभएपनि मानिसहरु आवतजावत गर्ने साना नाकाहरुमा कडाइ गरेको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले सुरजपुर सीमा नाकामा हेल्थ डेस्क नै राखिएको बताए।

साथै अन्य नाकाहरुमा नेपाल प्रवेश गर्नेलाई निगरानी बढाएको र थप कोरोना जोखिमलाई ध्यान दिँदै जिल्लामा कडाइ गरिएको उनको भनाई छ।

अस्पतालमा पूर्वाधार अपुग छैन

लुम्बिनी प्रदेशमा बढी कोरोना जोखिमका रुपमा रहेका सीमा क्षेत्रका जिल्लाहरुका अस्पतालमा पर्याप्त पूर्वाधारहरु रहेको प्रशासन कार्यालयहरुले जानकारी दिएका छन्। दोस्रो चरणको कोरोना लहरमा बढी प्रभावित बाँके जिल्लामा अस्पतालमा बेडदेखि अक्सिजनसम्मको अभाव हुन नदिन तयारी तिव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए।

‘अघिल्लो कोरोना लहरमा हामीले जुन किसिमको अभाव खेपेका थियाैँ, अब त्यस्तो छैन,’ उनले भने, ‘दोस्रो चरणको संक्रमण दरभन्दा बढी भए त के भन्नु, नत्र पर्याप्त पूर्वाधारहरु छन्।’

बर्दिया पनि बाँकेपछि प्रभावित जिल्ला हो। यस जिल्लामा पनि पूर्वाधारको अभाव नरहेको प्रमुख जिल्ला अधिकारी सुनारले बताए। ‘अघिल्लो पटक हामीले ठुलो अभाव खेप्यौँ। त्यसपछि हामीले बर्दियामा नै अक्सिजन प्लान्ट निर्माण गरेका छौँ,’ उनले भने, ‘अस्पतालमा बेडहरुको व्यवस्था पनि गरेका छौँ।’ उनले पूर्वाधार भन्दा जनशक्तिको अभाव रहेको बताए।

रुपैन्देही, कपिलवस्तु तथा नवलपरासी पश्चिममा पनि अस्पतालमा बेडको अभाव, अक्सिजनको अभाव नहुने गरेर तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले बताएका छन्। स्थानी तहको समन्वयमा तिव्र संक्रमण दर भएमा आइसोलेसन, क्वारेन्टीन, अस्पतालमा अक्सिजनको व्यवास्था कसरी गर्ने भन्ने तयारी भएको प्रशासन कार्यालयको भनाई छ।

तेस्रो चरणको कोरोना लहर बढ्दै जाँदा दाङमा अलि बढी संक्रमितहरु फेला पर्न थालेका छन्। एक अंकमा संक्रमण देखिने जिल्लामा अहिले दुई अंकमा संक्रमितहरु फेला पर्न थालेका छन्। विशेष गरेर जिल्लाको तुलसीपुर क्षेत्रमा संक्रमितहरु बढ्दै जान थालेका हुन्।

संक्रमण बढ्दै गएपनि अस्पतालहरुमा बेडको अभाव नहुने प्रमुख जिल्ला अधिकारी रेग्मी बताउँछन्। उनले जिल्लामा अक्सिनजनको कमी हुन नदिने, अस्पतालमा बेड पनि पर्याप्त रहेको भन्दै संक्रमण बढेमा क्वारेन्टीन, आइसोलेसन निर्माण गर्न सकिने बताए।

प्रकाशित मिति: : 2022-01-17 19:20:00

प्रतिकृया दिनुहोस्