आखिर कहिले सुध्रिएला समाज ?

Breaknlinks
Breaknlinks

मलाई देख्ने बित्तिकै प्राय मान्छेले भन्ने शब्द हुन्छ, कति दुब्लो रहेछौ तिमी, घरमा खाना दिदैँनन् कि क्या हो? म पनि मुस्कुराउँदै भनिदिन्छु, ‘अहँ दिनुहुन्न नि, मलाई खाने बेलामा जहिल्यै बाहिर निकालिदिनु हुन्छ।’

यो प्रश्न भोग्ने सायद म मात्र हाेइन होला, म जस्ता अरु पातलो मान्छे पनि हुन्छन् हाेला।

सुरुसुरुमा त यस्तो कुरा सुन्दा धेरै नराम्राे लाग्थ्यो तर, आजकल मलाई यस्ता कुराको वास्तै लाग्दैन। किनकि यस्ता कुरा मनमा लिएपछि केही कुरा गर्न जाँगर चल्दैन रहेछ। कतै जाँदा मान्छेले के भन्नलान् भन्ने कुरा पनि मनमा खेलिरहँदो रहेछ। तर भन्नेहरुले हेक्का नराखी प्याच्च भनिदिन्छन्। यो पनि सोच्दैनन् कि उसलाई त्यस्ता कुरा मनपर्छ कि पर्दैन भनेर।

आफ्नो कमजोरीलाई अरुले यसरी धज्जिया उडाउँदा आफूप्रति भएको ‘सेल्फ कन्फिडेन्ट’ घट्दै जान्छ र मान्छेको भीडमा आफूलाई उपस्थित गराउन एकदमै असहज हुन्छ।

एकदिनको कुरा हो, म आफ्नो नजिकका आफन्तकोमा गएकी थिएँ। त्यहाँ मेरो बारेमा  चर्चा चल्यो। प्रसंग थियो–मेरो शारीरिक बनावट।

उनीहरु भन्दै थिए, ‘छोरी मान्छेको ज्यान पातलो भयो भने राम्रो देखिँदैन। लुगाले पनि त्यति सुहाउँदैन। अब त फेरि बिहे गर्ने बेला पनि भैसक्यो नि’, म खिन्न भएँ। अनि सोच्न थालेँ, के दुब्ली हुनु मेरो गल्ती हो? पातली भएर मैले पाप गरेँ?

मैले चिनेको एक जना दिदी हुनुन्छ। जसको शरीरको बनावट मोटो छ। ज्यान ठुलो भएको कारण धेरैको नराम्राे भनाइ सुन्न परेको उहाँ सुनाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘सबै जनाले धेरै मोटाइस्, अलि घट्ने गर, भद्दा देखिरहेकी छस्।’

आफ्नो प्राकृतिक बनावटबाट दिक्दार भएकी उहाँ शरीर घटाउन चिकित्सकहरुसँग परामर्श लिएर औषधि पनि लिँदैहुनुन्छ।

दुब्लो भयो भने मोटाउनुपर्छ रे, मोटो भयो भने दुब्लो हुनुपर्छ रे। कालो भयो भन्ने नानाथरीका मेकअप गर भन्छन्। अनि मेकअप गरेपनि नक्कली रैछ रे। जस्तो काम गरे पनि सुख छैन समाजमा।त्यसैले त मानिस जहिले पनि यसको शिकार बन्ने गरेका छन्।

लगाएको लुगाबाट मान्छेको बानीव्यहोरा तुलना गर्ने हाम्रो समाजमा सरकारी जागिरे भनेपछि हुरुक्क हुने र सघंर्ष गर्नेलाई पनि हेप्ने गरिन्छ।

दाजुबहिनी हिंडिरहेका छन् भने पनि नराम्रो दृष्टिकाेण हेर्ने गर्छ समाजले। नयाँ लुगा लगायो भने पनि कति फेशन गरेको रे, अनि पुरानै कपडा लगाउँदा पनि लुगै फेरेन रे। यदि कसैले समाजसेवा गर्यो भने पनि नाफा खायो रे। जे गरे पनि सुखै छैन, यो समाजमा। के गर्दा सन्तुष्टि मिल्छ त हाम्राे समाजलाई ?

आखिर हामी जस्तो भएपनि समाजले हामीप्रति हेर्ने दृष्टिकोण भने कहिल्यै सकारात्मक हुँदैन। यस्ता कुराको चासो राख्ने हो भने हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। त्यसैले म जे छु त्यसैमा सन्तुष्ट छु।

प्रकाशित मिति: : 2022-01-18 10:47:00

प्रतिकृया दिनुहोस्