हेमन्त विवश
दिपायलस्थित रामबाबुको चिया पसल। जहाँ जिल्लाका प्राय सबै दलका नेताहरू भेटिन्छन्। कुन्नि के छ उक्त पसलमा त्यस्तो, जहाँ साँझबिहान दिनहुँ चलिरहन्छ राजनीतिको बहस। महिनादिन अघि त्यतै भेटिएका थिए पुष्प कुमार शाही पनि। जसले कोभिडको तेश्रो भेरियन्टलाई मध्यनजर गर्दै डोटीका प्राय सबै स्वास्थ्यचौकीमा हस्तान्तरण गर्ने हेतुले एक ट्रक स्वास्थ्य सामग्री लगेका थिए।
उसो त बाढीपहिरो जस्ता विपतमा पनि उनी चन्दा बटुलेर दौडिन्छन्, जिल्लातिर विपदमा परेकालाई सहयोग गर्न। यसपटक पनि उनी बसेको बर्षा होटलको कोठा स्वास्थ्य सामग्रीले भरिभराउ थियो।
उनीसँग कुराकानीका क्रममा महामारी, राहत, राजनीति थुप्रै बिषयहरूले ठाउँ पाइरहे। घरायसी कुरा गर्ने सिलसिलामा जब बुवा रामबहादुर शाहीले धर्ती छोडेको प्रसङ्ग सुरु भयो तब आखाँभरी आँसु बनाए। उनी निकै बेरसम्म माैन रहे । पुनः सुरु भयो हाम्रो कुराकानी।
डोटी चैकोटमा टाढैबाट टल्किने सुन्दर घर थियो। बासमती फल्ने ठुल्ठूला खेत थिए। २०३६ सालमा कांग्रेसको सदस्यता लिएका उनका बुवा साथीभाइ भनेपछि हुरुक्क हुने उदार दिलका, मस्त मौलाना जस्तै। अरुलाई सहयोग गर्दैमा रित्तो बनेका बुवामा के सोच पलाए छ कुन्नि एकाएक घर खेत सबै बेचेर परिवारसहित तराई हानिनु भएछ।
आमा सरस्वतीदेवीले नमानेपछि फेरि २०४१ तिर पहाड फर्केर नयाँ घर बनाई गाउँमै बस्न थाल्नु भएछ। आर्थिक अवस्था खस्किँदै गएपछि पाँच भाइ दुई बहिनीमध्ये पढ्न मामाघर पुगेका पुष्पले अन्तिम अवस्थामा बुवाको मुहार त के लाशसम्म पनि देख्न पाएनछन्।
२०५० सालमा जिल्ला सदरमुकाम जानुभएका बुवा घर फर्केर आउनु भएनछ । उनलाई बुवाको यादले सताइरहन्थ्यो घरिघरि। उसो त त्यो घटना कसैले सम्झाइदियो भने वा एकाएक सम्झनामा बुवा आइदिनुभयो भने रसाइदिन्छन् अनायासै आँखा।
बाल्यकालमा छाेडेर जानुभएका बुवाकाे मृत्युकाे कारण के थियाे केही थाहा हुन सकेन । अनेकाै् प्रश्नहरूले डेरा जमाइरहन्छन् मनमा।
‘सिलगढी इन्द्रचोक नजिक बगलेख र पूर्बीचौकी जाने दोबाटोकाे पिपलको रुखनीर लाश भेटिएको थियो रे बुवाको। त्यतिखेर म अछाम मामाघरमा बसेर पढ्दै थिएँ। दश दिनपछि घरबाट पठाएको पत्र पाएर सुनाउनु भएको हो मामामाइजुले’– परेली पुछ्दै सुनाएका थिए उनले।
जस्तोसुकै भए पनि आखिर घरका मुली भन्नु नै छोराछोरीका लागि आशा र भरोशाका निदाल हुन्। त्यही आशा र भरोशाको निदाल टुटिदिँदा भक्कानिनु शिवाय के नै हुन्छ र जीवनमा। ११ वर्षको उमेरमा बुवा गुमाएपछि छातीभरि भक्कानो बोकेर गोरेटोमा निस्किएका उनका पाइला बिस्तारै मोडिए राजनीतितिर।
२०४६ सालमा आन्दोलन चलिरहँदा उनी मावलीका हजुर बुवालाई सोध्दथे रे–‘त्यहाँ के भएको हो ?’ हजुरबुवाले उनलाई सुनाउँथे– ‘ती राजाविरोधि हुन्। प्रजातन्त्रका लागि आन्दोलन गरिरहेका छन्।’ ‘मामा तपेन्द्र बहादुर शाह जिल्लास्तरको राजनीति गर्नुहुन्थ्यो। प्रायजसो नेताहरू आउँदा जाँदा त्यतै बस्ने गर्थे। ०४६ को प्रजातन्त्र घोषणा भएपछि एकदिन ठुलो लस्करसहित अछाम पुगेका नेता शेरबहादुर देउवा पनि त्यतै बस्नुभयो। दलबलकासाथ हिँडेका उहाँलाई देखेपछि मभित्र राजनीतिक सोच पलायो’– उनले विगत सम्झिए।
मामा घरमा आएका नेताहरूले फलानाको छोरो राम्रो छ। फलानाको छोरो बिग्रियो। फलानो यस्तो बन्यो भनेर कुरा गरेको सुनिरहन्थे उनी। ती कुराहरूले पनि अप्रत्यक्ष रुपमा प्रशिक्षित भएका थिए।
‘मामा तपेन्द्र बहादुर शाहको नेतृत्वमा प्रावि स्कुललाई मावि बनाइएको देखेर मनमा समाज सेवाको भावना पैदा हुँदै जानथाल्यो। पछि त्यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेँ मैले पनि’ –उनले सुनाए। त्यही विद्यालयमा ८ कक्षामा अध्ययनरत छदै नेविसंघको एकाइ कमिटि गठन भयो। जहाँ उनी निर्विरोध अध्यक्ष चयन भए।
एलएसी पछि धनगढीको कैलाली बहुमुखी क्याम्पसमा भर्ना भएका शाही कैलालीस्थित ठूलो बुवाको घरमा बसेर पढ्न थाले। उनी मेरीगोल्ड बोर्डिङमा शिक्षक बनेर आफ्नो पढाइ र राजनीतिलाई सँगसँगै अगाडी बढाउन थाले। त्यतिबेला गीत गजल लेख्नेदेखि साहित्यिक संघसंस्थामासमेत आवद्ध हुन थाले। कैलाली गजलमञ्चको संस्थापक सदस्य हुँदै उपाध्यक्ष बने। कैलाली क्याम्पसको साहित्य प्रतिष्ठानको उपाध्यक्ष बने। पछि नेविसंघको कैलाली जिल्ला अध्यक्ष बने। त्रिविबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर र कानुनमा एलएलबी उतीर्ण शाही जिन्दगीलाई रङ्गमञ्चको पात्रको रुपमा परिभाषित गर्न रुचाउँछन्– ‘हामी पात्र हौं। अभिनय कति राम्रो, अरुका लागि कत्तिको हितप्रद गर्न सकिन्छ भन्ने मात्र न हो। एकदिन सबैले जानु नै छ भने अरुको भलो हुने सामाजिक काममा अग्रसर भइरहौं।’
उनकी आमा निकै नै शाहसी हुनुहुन्थ्यो। जो सधैं दुःख पिएर, दुःख चपाएर, दुखकै भारी बोकेर पनि छोराछोरीका लागि बाहिरी मुस्कान देखाइरहनु हुन्थ्यो। वर्षदिन भयो ६० वर्ष नपुग्दै आमा पनि बुवा हिँडेकै बाटो भएर पुगिसक्नु भयो कतै अज्ञात लोकमा। ‘मुवा गएको पीडा झन् बढी भयो। अब साथमा छन् मात्र तस्बिर। जुन तस्बिर हेरेर एकान्तमा चित्त बुझाउछु – लामो सास तान्दै सुनाए उनले।
राजनीतिमा लागेपछि उनले कैयौंपल्ट पुलिसका लाठी खाए। जेलको अनुभव बटुले। २०५९ साल असोज १८ मा राजाले ‘कु’ गर्नेताका उनी नेविसंघका कैलाली जिल्ला अध्यक्ष थिए। संकटकाल घोषणा गरिएको थियो। सम्पूर्ण विद्यार्थी संगठनको नेतृत्व गरेर मसाल जुलुस निकाल्ने तय गरियो। अग्रपंक्तिमा देखापर्ने विद्यार्थी नेताहरूमा थिए– लक्षीराम आचार्य, यज्ञराज ढुङ्गाना, लक्ष्मण शाही, कृष्ण राउत, बिनोद साउँद, दीपक पाण्डे आदि। पुलिसले सबैलाई लगेर जेल चलान गरिदियो। उनीलगायत सबैजना ८३ दिन जेल बसे।
जेलबाट छुटेपछि काठमाडौं पुगेका शाही पुन सक्रिय बने आन्दोलनमा। आन्दोलनको प्रमुख एजेण्डा थियो विद्यालयस्तरका पाठ्यपुस्तकमा राखिएको राजारानीको तस्बिर च्यात्ने। तस्विर च्यात्ने क्रममा बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकबाट उनीलगायत तात्कालीन नेविसंघ उपाध्यक्ष प्रदीप पौडेल, अनेरास्वबियुका महासचिव ठाकुर गैरे, नारायण भारती, सरोज थापा, बिपी रेग्मी आदिलाई समातेर राजद्रोहको मुद्दा दाएर गरी जेल चलान गरियो। भेट्न आएका गगन थापालाई समेत एक साता हनुमान ढोकामा थुनेर राख्यो।
देशभर रिहाइको नारा घन्किन थालेपछि राजद्रोहलाई डाइभर्ट गरेर सार्वजनिक मुद्दा बनाइयो। पाँचसय जरिमाना तिरेर माफी मागेमा छुट्करा पाइने कुरा आयो। उनले एक रुपैयाँ पनि जरिवाना नतिर्ने र माफी पनि नमाग्ने अडान लिएपछि सेन्टर जेलको भद्र गृहमा राखियो। ३५ दिनपछि अदालतको फैसला अनुसार मुद्दा जितेर बाहिर आए।
१०औं महाधिवेशनमा नेविसंघको केन्द्रीय सदस्य, ११औं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष भएर लामो समयसम्म विद्यार्थी राजनीति र १४ महाधिवेशनमा डोटीबाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका शाही सुनाउँछन्– ‘संविधानमा भएको कुरा जुन रुपले कार्यान्वयन हुनु पर्थ्याे हुनसकेको छैन। गरिबी उस्तै छ। जनताले सुख सम्बृद्धि पाउन सकेका छैनन्। स्वास्थ्य, शान्ति, सुरक्षाका सवाल उसैगरी उठिरहेका छन्, जुन दुखद कुरो हो। हामीले गर्नुपर्ने काम थुप्रै छन्।’
त्यतिबेलाकाे संघर्ष समझिदै उनले सुनाए –‘म राजनीतिमा लागेकै कारण द्वन्द्वकालमा उनका दुई भाइलाइ गाउँमा बस्न गाह्राे भएर ८ कक्षामा पढ्दै गर्दा सेनामा भर्ना भए। आमाले जीवनभर दुःख मात्रै पाउनु भयो। आफूले जागिर खादै पढ्दै गरेँ। ‘थुप्रै छन् कथा व्यथाहरू तर पनि हरेश खाइनँ कहिल्यै। गुजरा त चरो मुसो सबैले गरेकै हुन्छन्। अरुको भलाइका लागि लाग्नु पर्छ भन्ने हो।’
मामाकी छोरी मार्फत चिनाजान भएकी सञ्जु शाहसँग भावना मिलेपछि २०७२ सालमा मागी विवाह गरी प्रणायसुत्रमा बाँधिएका शाही दम्पत्तिका ३ वर्षका एक छोरा छन्। उनी पछिल्लो समय दरबारमार्गमा रोयल थकाली रेष्टुरेन्ट एण्ड बार चलाइरहेका छन्। श्रीमती सञ्जु गङ्गालाल अस्पतालमा कार्यरत छन् । बिहानदेखि साँझसम्म दुईजना आआफ्ना पथमा संघर्षरत छन्।
भेटमा मन्दमुस्कानका साथ आत्मियता प्रकट गर्छन्। उदार दिलका उनकाे स्मरणशक्ति उत्तिकै तिखो छ। कसैको केही काम गर्नु छ भने, कहाँ कसलाई भनेर हुने हो सोच्न थालिहाल्छन्। सामाजिक काममा सक्रिय, मिजासिला, सहयोगी भावनाका शाही युवादेखि अग्रज सबैका प्रिय छन्। भविष्यमा उच्च तहमा पुगेपछि शक्तिको रापले बद्लिन्छ वा उनको यस्तै सेवामुखी सोच रहिरहन्छ हेर्न बाँकी छ। लेख्न बाँकी छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया