‘नेवता’ भोजपुरी भाषाको शब्द हो। नेवता शब्दको शाब्दिक अर्थ अन्य भाषाहरुमा निम्ता वा निमन्त्रणा भन्ने हुन्छ। तर भोजपुरी भाषी क्षेत्रमा नेवता शब्द जुन अर्थमा प्रयोग हुन्छ, त्यो अन्य भाषाहरुका निम्ता वा निमन्त्रणा शब्दको प्रयोग भन्दा भिन्न हुन्छ।
कुनै सामाजिक वा पारिवारिक उत्सव जस्तै विवाह, ब्रतबन्ध, उपनयन, बधु प्रवेश, पास्नी, जन्मदिन, विवाहको वार्षिकोत्सव, नवगृह प्रवेश तथा सत्यनारायण भगवानको कथा, अष्टयाम, लखराँव आदि धार्मिक अवसरमा आफ्ना हित, कुटुम्ब, साथीभाइ तथा आफ्न्तहरुलाई निम्ता दिइन्छ। त्यस्तो अवसरहरुमा निम्ता मान्न जाने परम्परालाई शिष्टाचारको पालनाको रुपमा लिइन्छ। यस्ता अवसरहरुमा आफ्नो गच्छे अनुसार पाहुनाहरुलाई भोज दिने गरिन्छ।
आमन्त्रित पाहुनाहरु मिठो मानी भोज खान्छन्, मोज मस्ती गर्छन्, नाचगान हुन्छ, अनि बिदा हुन्छन्। निम्ता मान्न जाने बेलामा पाहुनाहरुले आफ्नो साथमा नगद वा जिन्सीको रुपमा उपहार पनि लाने गर्दछन्।
जुन प्रायः औपचारिक हुन्छ, परम्पराको फगत पालनाको रुपमा मात्र। यस्ता किसिमका निम्ताका उत्सवहरु केही बेर, क्षण वा घण्टाको मात्र हुन्छ। जसमा पाहुनाहरु सरिक भएर तितामिठा सम्झना लिएर आ-आफ्नो घर फर्किन्छन्, तथा केही दिनमै त्यो घटना विस्मृत हुन्छ।
तराईको भोजपुरी भाषी क्षेत्रमा पारिवारिक वा सामाजिक उत्सवका अवसरमा आफन्त वा हित मित्रहरुलाई त्यस अवसरको केही हप्ता पहिले नै पत्र वा कार्ड पठाएर निम्ता दिइन्छ, जसलाई भोजपुरी भाषामा ‘नेवतल’ भनिन्छ। जसलाई नेवता पठाइन्छ त्यस मानिसलाई ‘नेवतहरी’ भनिन्छ।
शुभ वा अशुभ अवसरमा केही हप्ता पहिले नै नेवता पठाउनुको विशेष अर्थ रहेको हुन्छ। नेवतहरी खाली हात जान सक्दैन। नेवतहरी नेवता लिएर जाँदा कम्तिमा केही रसद, लुगा तथा नगद लिएर जानुपर्ने हुन्छ।
रसदको रुपमा कम्तिमा एक दउरा चामल वा चिउरा तथा एक हाँडी दही भरियालाई भार बोकाइ लैजानुपर्ने हुन्छ। त्यस्तै विवाह, ब्रतबन्ध, उपनयन जस्ता शुभ अवसरमा विवाह हुने बेहुला वा बेहुलीको लागि क्रमशः गंजी, कुर्ता र मर्दानी (धोती) तथा सारी, साया, व्लाउज र श्रृंगारका सामान लैजानुपर्ने हुन्छ।
त्यस्तै गमीको नेवता (श्राद्धमा) कम्तिमा एक दउरा चिउरा, एक हाँडी दही तथा पगरीका लागि मलमलको (एक किसिमको लुगा विशेष, जसको रङ्ग सेतो हुन्छ) लुगा लैजानु पर्दछ। स्मरणीय तथा सुखद कुरा के हुन्छ भने बाबुको मृत्युको तेह्राैँ दिनको श्राद्धमा घाटमा, सोह्र श्राद्ध सम्पन्न भइसकेपछि आंगनमा शुभकर्म तथा गौरी गणेशको पूजा र सूर्यलाई अर्घ्यदान पछि यज्ञकर्ता (प्रायः मृतकको जेठो छोरा)को अँजुरी भरिन्छ, जसमा नेवतहरीहरु नगद राखेर शिरमा पगरी गुँथी दिन्छन्।
देशको राजाको निधन पश्चात युवराज राजाको पदमा अभिसिक्त भए झैं घरको मूलीको निधन पश्चात जेठो छोरालाई इष्टमित्र, छरछिमेक, आफन्त, कुटुम्बको रोहबरमा घरको मूलीको पदमा अभिसिक्त गरिन्छ। राजालाई विश्वभरिका राजाहरुको उपस्थितिमा श्रीपेच लगाई दिए जस्तै उसलाई पनि इष्टमित्र, छरछिमेक, आफन्त कुटुम्बको रोहबरमा पगरी लगाइ दिइन्छ।
अन्य भाषाको निम्ता वा निमन्त्रणा झैं भोजपुरी भाषी क्षेत्रको नेवता घडी, पला वा घण्टाको नभइ कम्तिमा तीन दिनको हुन्छ। भोज प्रमुखतया दुई किसिमको हुन्छ। कची तथा पकी भोज। कची भोजमा सिद्धान्न जस्तै दाल, भात, तरकारी, भुजिया, पापड, अचार तथा विभिन्न किसिमका झूरी, मस्यौरा, तिस्यौरी, पकौडा र बारा हुन्छ। यस्तो कची भोजको सुरुमा शुद्ध घ्यू तथा अन्तमा दही दिनु अनिवार्य हुन्छ।
त्यस्तै पकी भोजमा पक्वान्न जस्तै दही चिउरा, चिनी, नुन, हरियो खुर्सानी तथा गच्छे अनुसारका मिस्ठान्न प्रकारहरु आवश्यक रहेका हुन्छन्। कची भोज स्वजातिय तथा पकी भोज परमीन (आफू भन्दा इतरको जात) लाई दिनु आवश्यक रहेको चलनचल्ती छ। धार्मिक भोजमा भने ब्राह्मण अतिथिलाई पकी भोज दिने चलन रहेको पाइन्छ। भोज पछि अँजुरीमा नेवता दिन नभ्याएका जनसाधारणहरुले भोज पछि नगदको रुपमा दिन्छन् तथा बहीमा लेखाउँछन् पनि।
नेवता भनेको आफन्तको दुख तथा सुख दुवै अवसरमा साथमा सामेल हुनु हो। दुवै अवसरहरुमा भोज लामो समयसम्म चलिरहेको हुन्छ। जसमा नेवतहरीहरुले ल्याएको चामल, चिउरा तथा दही जस्ता जिन्सी पदार्थहरुको प्रयोग हुन्छ।
यज्ञ समाप्त भएपछि यज्ञकर्ताले नाच, बाजा, हल्वाइलाई पैसा तिर्नु बाँकी रहेको हुन्छ। नेवतहरी पाहुना, पहुनीहरुको बिदाई तथा यज्ञमा खटेका ज्यामी, मजदूरहरुको ज्याला मजदुरी दिनुपर्ने हुन्छ। यस्तो स्थितिमा यज्ञको लागि जोहो गरिएको अनुमानित रकम जस्तो सुकै धनी वा गरिब गृहस्थ भएपनि सकिसकेको हुन्छ।
यस्तो स्थितिमा नेवतामा आएको नगद रकम काम लाग्दछ। त्यहि नेवतामा आएको रकमले त्यस्ता अदृष्ट गर्जो टर्ने गर्दछ। भोजपुरी भाषी देहाती समाजमा नेवताको यस प्रकारको चलनलाई दूरदर्शी परम्पराको रुपमा लिनु पर्दछ। जसले समाजमा सौहार्द तथा आत्मीयता र भाइचारा बढाउनमा ठूलो सहयोग पुर्याएको हुन्थ्यो र हुन्छ पनि।