पीएम कपः विक्रमको उत्कृष्ट प्रदर्शनसँगै आर्मीको दोस्रो जित

File Photo
File Photo

विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।

शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो।

११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो। आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए। चार चौका हिर्काएका हरिले ३९ बल खेलेका थिए।

यस्तै विक्रम सोबले २९ रन बनाए। २२ बलको सामना गरेका विक्रमले एक चौका र दुई छक्का प्रहार गरे।  यस्तै भीम सार्कीले १३ रन बनाउँदा शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए।

सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए। चार ओभर बलिङ गरेका आदित्यले १४ रन खर्चिए। यस्तै हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ३७ रन बनाए। यस्तै वसन्त कार्कीले ३४ रन बनाउँदा विकेट किपर समेत रहेका अर्जुन साउदले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउँन सकेनन्।

सुदूरपश्चिमका दुई खेलाडी शुन्यमा आउट भएका थिए। सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिए। चार ओभर बलिङ गरेका विक्रमले आठ रन मात्रै खर्चिएका थिए।

यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १ विकेट लिए। जितसँगै आर्मीले दोस्रो स्थानमा रहँदै सेमिफाइनल सम्भावना कायम राखेको छ। आर्मीको तीन खेलबाट ५ अंक रहेको छ। यता, सुदूरपश्चिमको भने तीन खेलबाट दुई अंक रहको छ र तेस्रो स्थानमा छ।

समूह ‘ए’ मा तीन खेलमा शत प्रतिशत जितसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ। 

प्रकाशित मिति: : 2022-01-14 13:33:00

प्रतिकृया दिनुहोस्