ढाका टोपीको सहारामा परिवार पाल्ने ओड

दिनभरि हातमा ढाका टोपी बोकेर उनी डुल्ने गर्छन्। उनीसँग टोपी मात्र होइन मुङगाका माला र चेस्टगार्ड पनि छ। जसलाई उनले फरकफरक दाममा बेच्ने गरेका छन्। 

पहिला त उनी नेपालगञ्ज जान्छन्, टोपीलगायतका सामान किन्छन् अनि त्यसलाई बेच्न उनी काठमाडौं आइपुग्छन्। उनी अर्थात् जुम्ला सिञ्जा गाउँपालिकाका ५१ वर्षिय सिम्म ओड।

उनी वर्षका तीन महिना दिन  काठमाडौंमा बिताउने गर्छन्। ‘कामको लागि काठमाडौं आउने गरेको छु’ उनले बिएल नेपालीसँग भने, ‘अरु महिना खेतीपातीमै बिताउने गरेकाे छु’ 

घरदेखि टाढा सहर आएर उनलाई काम गर्ने कुनै रहर छैन्। तर उनी दुईचार पैसा कमाउनका लागि भएपनि सहर आउने गर्छन्। ‘तीन महिना काम गरेर कहाँ पुग्छ र’ उनले भने, ‘तर व्यापार हुने महिनामा त गनुपर्याे नी’

वर्षका ९ महिना उनी गाउँमा खेतीपातीका काम सम्हाल्ने गर्छन्। तर बर्षदिन पनि खान नपुग्ने उनी बताउँछन्। ‘धेरै माटो छैन्, उत्पादन पनि छैन’ उनले भने, ‘किसानी नगरुम भने पनि के गर्नु र!’ आफूले काम गर्न सक्ने काम छोड्दैनन्। 

त्यसैले त उनी जुम्लाबाट केही महिनाका लागि भएपनि काठमाडौं आउने गर्छन्। ‘काठमाडौं नआएर पनि के गर्नु खोई कसैले देला र खाउला भन्ने छैन्’ उनले भने, ‘काम गर्ने ठाउँ नै काठमाडौं हो।’ 

उनी काठमाडौंको बालाजूमा बसेका छन्, जसको भाडा उनले दैनिक सय रुपैयाँ तिर्ने गर्छन्।  ‘खानु र बस्नु गरेर दिनमै आठ सो सकिन्छ नी’ आफ्नो अवस्थाबारे बताउँदै उनले भने,  ‘बस्ने ठाउँ सस्ताे भएर  के गर्नु खाना महगाेँ रहिछ। खाजा पनि खानैपर्याे।’

उनी बिहान ८ बजेदेखि नै काम गर्न बाहिर निस्किने गर्छन्। अनि बाटो हिड्ने मानिसलाई सोध्ने गर्छन्– ‘केही लिनुहुन्छ हजुर?’ 

त्यसरी बेच्दै डिड्दा कसैले सामान लिने गरेको समेत उनी बताउँछन्। ‘बाटो हिड्दै गरेका मानिसलाई किनिदिनु न भन्ने रहर होइन तर बाध्य छु’ उनले भने, ‘घरका जहानका लागि भएपनि सम्झनुपर्छ।’ 

दिउँसो सडकको धुवाँ खाएर दुईचार रुपैयाँ जोगाएका उनलाई दुई छाक टार्न नै मुश्किल पर्छ। ‘कुनै दिन त भोक्कै पनि सुतेको छु।’

उमेरले ५ दशक कटिसकेका उनलाई सुख पाएको याद छैन्। सानो बेलादेखि नै दुखको चपेटा परेका उनले ठूला भएपछि पनि सुख पाएनन्। सानु छँदा स्कूल नगइकन गोठाला जानुमा मस्त। ठूलो भएपछि परिवारलाई पाल्नमा नै व्यस्त। 



राष्ट्रिय झण्डा फहराउँदै हिँड्दा कतिले गिज्याए, कतिले धम्क्याए

एसियाकै पहिलो महिला टेम्पो चालक जाे दरबारकी सुसारे थिइन् 



‘पहिला दुख थियो, परिवारसँग पैसा थिएन मलाई पढाउने त्यसैले पढिन। अक्षर केही चिन्दिनँ’ उनले भने, ‘पढेर पनि के हुन्थ्यो होला आखिर कामै त गर्नुपर्ने रहिछ नी।’

 पढ्न नपाएकोमा उनलाई केही पछुतो छैन्। उनलाई पैसा कमाएर राख्ने रहर छैन्। आफू बाँचुञ्जेल परिवारलाई पाल्ने मात्र उनको अन्तिम इच्छा छ।

प्रकाशित मिति: : 2022-01-10 18:10:00

प्रतिकृया दिनुहोस्