पख्नुस् है त! आज म तपाईं पाठक/दर्शकहरुलाई सुन्धारातिर लैजान्छु। काडमाडौं पस्नु भएको छ भने सुन्धारा त पुग्नु भएकै होला नी! सुन्धारा, त्यो माइक्रो, बस र मोटरसाइकलहरुको कर्कस आवाजभित्र एउटी ७६ वर्षकी आमाको मधुरो स्वर गुञ्जिरहन्छन्। 'मानाको ५० मात्र, मिठो छ लैजानुस् न है।' यो आवाज तपाईंहरुमध्ये कमैले याद गर्नुभएको होला।
अब जाँदा याद गर्नु होला है।
उनी हुन् चितवनकी आशमाया तामाङ। हातगोडा चलुन्जेलसम्म आफैँ गरेर खानु पर्छ भन्ने सन्देश दिने यी आमा बिहानै ६ बजे उठेर हनुमान ढोका पुग्छिन्। ५ पाथी बदाम १२५० मा किनेर ल्याउँछिन्, २५० नाफा हुन्छ। अर्थात ५ बजेसम्ममा ५ पाथी बदाम १५०० मा बेचिसक्छिन्।
'धेरै पैसा बनाएर मलाई धनी हुनुछैन। हुर्केका छोराछोरीसँग मेरो सास रहुन्जेलसम्म सकभर केहि माग्न नपरोस्। हामीलाई दुई छाक खान धेरै किन चाहिने हो र,' तामाङ भन्छिन्।
'यत्रा ठूला हातखुट्टा भएका मान्छेहरु दिनभरी टहलिएर बसेको देख्छु। चित्त कट्क्क खान्छ। म बुढी मान्छेले पो ५ पाथी मात्र बेच्न सक्छु, उनी भन्छिन्, 'हट्टाकट्टा मान्छेले १०/१२ पाथी दिनमा बेच्न सक्यो भने न जागिर खोज्न जानुपर्छ न काम छैन भन्दै बरालिन पर्छ।'
५ बैनी छोरी र २ भाइ छोराले आशमायालाई 'आमा बदाम बेच्न नबस्नु न हामीलाई लाज हुन्छ' नभनेका पनि होइनन्। 'चोरेर खान हुन्न, ठगेर खान हुन्न। मारेर खान हुन्न। काम गरेर खान लाज हुन्छ भन्ने कुरा आजकलका केटाकेटीलाई कसले सिकायो कुन्नी,' तामाङ अगाडि बताउँछिन्, 'शरीरमा यति काम गर्ने तागत रहुन्जेलसम्म काम गरेरै खानु पर्छ।'
त्यसो त आशमायाका पनि आफ्नै घरायसी समस्या छन्। 'छोरा त आफ्नै भए, बुहारीहरुले त्यत्ति बुझ्दैनन्। उनीहरुको के-के कुरा सुनिरहनु भन्दा काम गर्न जान आनन्द लाग्छ मलाई त।'
उनलाई काम गरेर पैसा थुपार्ने रहर छैन। तर मरिसकेपछि आफ्नो दाहसंस्कार राम्रोसँग होस् भन्ने उनको अन्तिम इच्छा छ। ‘छोराछोरीको कुनै भर छैन, बाँच्दा त हेरेनन् झन मरिसकेपछि हेर्लान् भन्ने के आश गर्नु र?’, उनले दुख पोख्दै भनिन्।
दुई भाई छोरा नै गाडी चालक हुन्। छोराले पैसा नकमाउने पनि होइन तर बुहारीले आमालाई हेर्नै खोज्दैनन्। ‘आमालाई के चाहिन्छ होला भनेर कहिलै सोच्दैनन्’, आशमाया भन्छिन्, ‘खाए खाऊ नखाए नखाऊ सोच्छन्।’
‘आफैँले जन्म दिएका छोराहरुको त भर छैन भने बुहारीहरुको त झनै के आश हुन्छ र? उनीहरुको अगाडि के बोझ हुनु भनेर काठमाडौँ आएँ’, उनले भनिन्।
गाउँमा हुँदा पनि उनी कामै नगरीकन त कहाँ बसेकी हुन् र! खेतीपातीको काम सबै उनले नै भ्याउने गर्थिन्। ‘घरमा त्यतिकै बस्न मन लाग्दैन अनि कुटाे, कोदालो बोकेर बारीमा काम गर्न जान्थेँ’, उनी भन्छिन्, ‘आफूले सकेजतिको काम गरेँ।'
श्रीमान छँदा अहिलेजस्तो दुख नभएको सम्झिन्छिन् उनी। ‘के खाऊँ र के लगाऊँ भन्ने सोच्नै आउँदैन्थ्यो, तर उहाँलाई गुमाएपछि कहिले नपाएको दुःख पाएँ’ स्वर्गीय पतिलाई सम्झँदै उनले भनिन्। आफू १४ वर्षकै उमेरमा दुलही भएको उनलाई अझै याद छ।
उनको जीतबहादुर तामाङसँग परिवारकै सहमतिमा विवाह भएको थियो। ‘पहिलाको जमनामा छोरीहरुलाई पढाउने चलन थिएन, छिट्टै विवाह गरेर पठाइदिन्थ्यो, उनले विगत बताइन्।
माइती घरमा दुख पाए पनि उनलाई कर्म घरमा भने त्यति दुख थिएन। घरजम राम्रै थियो। गाउँमा राम्रो परिवार भनेर चिनिन्थ्यो–तामाङ परिवार। त्यसैले त उनीहरुलाई सबैले मान्ने गर्थे। उहीमाथि जीतबहादुर गाउँकै सिपालु झाँक्री।
‘उहाँलाई भेट्न थुप्रै मान्छे आउने गर्थे। आफ्नो समस्याको समाधान पनि बोकेर जान्थे’, उनले भनिन्।
श्रीमानको त्यही कामले गर्दा नै निधन भएको उनको ठम्याइ छ। ‘राम्रो मान्छेलाई भगवानले नी बस्न दिन्न्न नी’, आफ्नो जीवनसाथी गुमाएको क्षण स्मरण गर्दै उनले भनिन्, ‘मेरो श्रीमानलाई कसैले औषधि खुवाएर मार्यो।’
तर कसले कसरी खुवायो त्यो उनलाई मेसो छैन। उनलाई त यती मात्र थाहा छ कि, उनको श्रीमानलाई मान्छेले नै मारेको हो।
श्रीमान गुमाइसकेकी उनलाई अब केही कुराको चिन्ता छैन्। मात्र आफूले गाउँको खेतबारीमा छरेका तोरी टिप्न जानुछ।
‘छोराबुहारीको केही भरै छैन् आफैँ गएर तोरी टिप्छु अनि फेरि काडमाडौं घुर्छु’ उनले भनिन्।