जुम्लामा सडक अतिक्रमण हटाउन ठूलाे मात्रामा सुरक्षाकर्मी परिचालन

जुम्लामा भएका सडक अतिक्रमलाई हटाउन अभियान चलाइएकाे छ। मनपरी रुपमा सडक अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन, परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हाे।

बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना डाेजर लगाएर भत्काइएको छ।

अतिक्रमण हटाउने बहस भएको करिब एकदशकपछि मंगलबार सुरक्षाकर्मी परिचालन गरेर परिणाममुखी काम सुरु भएको नागरिक अगुवा राजबहादुर महतले बताए।

'वर्षौं पहिलेदेखि नागरिक समाजको अगुवाईमा सडक अतिक्रमण हटाउन बहसदेखि सडक चक्काजाम गरेका थियाैं तर सफल भएनौं। अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो, प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान सुरु भएको छ,' उनले भने, 'आम नागरिक खुसी छौं। हामी सबै मिलेर सडक अतिक्रण हटाउन जुट्नु पर्छ।'

सडक डिभिजन कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल मंगलबार अतिक्रमण हटाउन थालेका छन्। जसअन्तरर्गत चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ।

सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामाग्री हटाउने, अतिक्रमित भग हटाउनलाई सडककाे भाग जति चिन्ह लगाउने लगायतका काम भएकाे सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए।

'सडक अतिक्रमण हटाउन हामी जुटीसकेका छौं। पहिलो चरणमा बसर्पाक क्षेत्रको निर्माण सामाग्री हटाएका छौं,' उनले भने,'नापी गरिसकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी छ।'

उनका अनुसार सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दाबुझ्दै पनि नागरिकबाट बुझ पचाइएकाे देखिएको छ भने नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिरट चौडा हुनुपर्ने। त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो। तर, अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन्। त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एकहप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइनेछ।

यसअघि अतिक्रमण हटाउने बहस निर्णय भए पनि कार्यान्वयन नभएपनि अब सडक अतिक्रमण हटाउन आफूले खुट्टा नकमाउने समेत प्रमुख श्रेष्ठको दावी छ।

अतिक्रमण बजार क्षेत्रसँगै जुम्लाको तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँसम्म पुर्याइने सडक डिभिजनले जनाएको छ।

प्रमुख जिल्ला विजयाकुमारी प्रसाईले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमती वा बल प्रयोग गरेर भए पनि हटाइने बताइन्।

सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व हो। अतिक्रमण हटाउन प्रहरी प्रशासन, सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आवश्यक रहेको उनकाे भनाई छ।

मंगलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामाग्री हटाइएको केही स्थानीयले विरोध गरेका छन्। अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्सा गरेर मात्रै छोड्ने स्थानीयको माग छ। सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ। केही दिनका खाली नगरे सिधै डोजर प्रयोग गरेर भत्काइने समेत चेतावनी दिइएको छ।

सडक डिभिजन जुम्लाले पटक–पटक सार्वजानिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरे पनि सडकमा स्थानीयको मनपरी रोकिएको थिएन। 

वर्षेनि सडक डिभिजनले करोडौँ खर्चेर निर्माण गरेका सडकको ढल निकासा पनि अतितक्रणमा परेका छन्। जसले आवत जावतमा समस्या, दुर्घटनाको जोखिम बढेको छ। अतिक्रमण बजारभन्दा गाउँमा बढी भएकोले हटाउने अभियान गाउँकेन्द्रित गर्न समेत तातोपानी २ का धिर बुढाको सुझाब छ।

हाल निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमित सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षतीप्रति कार्यालय जवाफदेही नहुने समेत चेतावनी दिइएको छ। त्यसका साथै संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित व्यक्तिबाटै असुल उपर गरीने छ।

प्रकाशित मिति: : 2022-01-04 20:59:00

प्रतिकृया दिनुहोस्