आधुनिक नेपाली रङ्गमञ्चका जन्मदाता

पर्दा, प्रकाश र ध्वनिका माध्यमले नेपाली रङ्गमञ्चलाई आधुनिक स्वरूप दिएका प्रचण्ड मल्लले पछिल्लो पुस्तालाई त्यो सीप हस्तान्तरण मात्र गरेनन्, थुप्रै कलाकार समेत जन्माए।

हिमाल खबर

काठमाडौँ

बालकृष्ण समलाई आधुनिक नेपाली नाटकका जन्मदाता मानिन्छ। नाट्य साहित्यलाई विशिष्ट उचाइमा पुर्‍याएका उनले नाटक लेखनसँगै त्यसलाई मञ्चन गर्ने पुस्ता पनि हुर्काए। नाट्यकर्मी प्रचण्ड मल्लको निधनसँगै समले हुर्काएको त्यो पुस्ता अन्त्य भएको छ।

८५ वर्षीय मल्लको निमोनियाका कारण २ पुसमा सिभिल अस्पताल काठमाडौंमा निधन भयो। उनी परम्परागत नाटकलाई आधुनिक लेप दिने व्यक्तिका रूपमा स्थापित छन्।

प्राध्यापक तथा नाटककार अभि सुवेदी प्रजातान्त्रिक क्रान्तिपछिको खुला वातावरण र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनापछि नाटकको संस्थागत विकास भएको  बताउँछन्।  'टोल र डबलीमा देखाइने नाटकको ऐतिहासिक परम्परा भए पनि समले हाल हामीले नाटक भनेर चिनेको पश्चिमा शैली भित्र्याएका हुन्,' सुवेदी भन्छन्, 'उनले नाटक लेखन, मञ्चन मात्र गरेनन्, नाटकको एउटा पुस्ता नै तयार पारे जसका एक सदस्य मल्ल हुन्।'

बाराको कलैया, बरेवामा जन्मिएका र बाल्यकाल वीरगन्जमा बिताएका मल्ललाई सानैदेखि लेखपढभन्दा नाचगानमा रुचि थियो। स्थानीय त्रिजुद्ध स्कुलको विद्यार्थी हुँदा दश वर्ष जतिको उमेरमा रामलीला नाटक हेरेपछि उनलाई  रङ्गमञ्चको नशा चढ्यो। कालान्तरमा समको सङ्गतमा परेपछि उनी आजीवन नाटकमै लागिरहे।
 

प्रकाशित मिति: : 2022-01-03 10:50:00

प्रतिकृया दिनुहोस्