बडामहारानीका सुत्केरी स्याहा

गोरखापत्र

प्रकृति अधिकारी

तत्कालीन युवराज महेन्द्रकी रानी इन्द्रराज्यलक्ष्मीको गर्भमा बच्चा अडिनै सकेन। यस कुराले दरबार तनावमा थियो। एकै लगनमा दुई वटी रानी भित्र्याउने परम्परा राजा त्रिभुवनसम्म कायम थियो। महेन्द्रले पनि त्यो परम्परालाई निरन्तरता दिएको भए अर्की रानीबाट शाहज्यादा पैदा हुन पनि सक्थे– अनुमानको कुरा। ऊबेला नामुद कविराज थिए शिवनाथ रिमाल। शाही वैद्य। राजा त्रिभुवनले आफ्नी बुहारीको समस्या राजवैद्यका सामु राख्न चाहे। कविराजलाई बोलाएर त्रिभुवनले एकान्तमा फेहरिस्त अगाडि सारे– मेरी बुहारीको छोरीपछि बच्चा अडिन गाह्रो भयो। केही उपाय होला ?

इन्जिनियर शङ्करनाथ रिमालका बाजे थिए शिवनाथ। बाजेबाट सुनेका त्यो घटनाका बारेमा शङ्करनाथ स्मरण गर्नुहुन्छ, “बाजेले ‘सरकार, छिप्पिएर गन्ध आउने बोकालाई काटेर एउटा बडेमानको कराहीमा राख्ने र त्यसलाई घ्युमा बेसकन पकाएर सेवनपछि बच्चा नअडिने समस्या रहँदैन’ भन्नुभएछ।” हर्लिक्सका थुप्रै सिसीमा भरेर दरबारले कविराजका घरमा घ्यु पठायो। कविराज शिवनाथले नै कराहीमा त्यो ओखती पकाए। त्यसको गन्ध निकै फैलियो, जसले गर्दा ओखती पकाइएको कोठामा धेरै दिनसम्म कोही पनि टिक्न सकेनन्। नातिहरूलाई पनि कविराजले पकाएको ओखती एक चम्चा चाख्न दिए। अहँ, कसैले पनि पूरै खान सकेनन्। घ्युका सिसी थुप्रै बचेका थिए। दरबारले ‘फिर्ता ल्याउनुपर्दैन’ भनेपछि कविराजका नातिनातिनाले त्यो घ्यु खाएर सके।

प्रकाशित मिति: : 2022-01-01 10:09:00

प्रतिकृया दिनुहोस्