२००७ सालदेखि ६२/६३ सम्म पूर्णतः शाहीकाल थियो। शाहीकालले नेपालमा धेरै नेताहरू जन्मायो। त्याे काल नेताहरू जन्मने उर्वर समय थियो। सामान्यतयाः नेपालमा मात्रै हाेइन– जहाँ–जहाँ शाही शासन थियो, त्यहाँ–त्यहाँ नेताहरू जन्मिए। र, यो नै शाही शासनको एउटा विशेषता मानिन्छ। यसैकारण पनि शाही शासन भनिएको हो।
पौराणिक कालतिर फर्केर हेर्दा पनि यस्तै महापुरूष वा दिव्य पुरूषहरूको जन्म भएको देखिन्छ। श्रीकृष्ण, श्रीराम ईत्यादी। तर, पौराणिक कालमा श्री कृष्णले कंशको बध गरेपछि कंशको मथुराराज्यको गद्दीमा आफू बसेनन्। उल्टै उग्रसेनलाई जिम्मा लगाए। श्री रामले रावण बध गरेपछि लङ्काको गद्दी पनि आफूले लिएनन्। यसैकारण शाही परिवारका योग्य विभिषणलाई सुम्पे। त्यस्तै किस्किन्धामा पनि बालीको बधपछि सुग्रीवलाई जिम्मा लगाए। उनीहरूलाई थाहा थियो। उनीहरूको उच्छिष्ट (खाएर बाँकी रहेकाे) त्यही छ। र, त्यो उच्छिष्टबाट कुनै पनि समय विद्रोह हुन सक्छ यो दुरदर्शी निर्णय लिए।
नेपालमा राजा वीरेन्द्रको वंश नै समाप्त गरियो। वंश समाप्त गर्नेले यो कुरा बुझेनन् कि राजा वीरेन्द्र उच्छिष्ट थिए। र, त्यही उच्छिष्टबाट वीरेन्द्रको हत्यापछि पनि निरन्तर नेपालमा राजशाही चल्यो। पछिल्लो समय गणतन्त्र आएपछि नेपालमा त शाहीकाल नै समाप्त गरियो। राजशाही हटाइयो तर गणतन्त्रवादी नेताहरूले यो कुरा बुझेनन् कि नेपालमा शाही परिवारका उच्छिष्ट छन्। र, यो कुनै पनि समय ब्यूँतिन सक्छ। कुनै पनि समय विद्रोह हुन सक्छ। त्यस्तै परिस्थिति बुझेर श्री राम र श्री कृष्णले त्यहाँका राज्यको गद्दी नाघेर त्यहीँका शाही परिवारका योग्य मानिसलाई जिम्मा लगाएका थिए। यो कुरा सायद गिरिजाप्रसाद कोइरालाले बुझेर नै ‘वेवि किंग’को कुरा उठाएका पनि थिए। भविष्यमा गणतन्त्र निर्विवाद रहोस् भनेर भविष्यमा शाही परिवारका उछिष्ट र शाही परिवारका पक्षधर र समर्थकहरूबाट फेरि आन्दोलित नहोस् भनेर तर के कारणले हो यसले नतिजा दिन सकेन।
नेपालमा शाहीकालले थुप्रै नेताहरू जन्मायो। नेताहरू जन्मने उर्वर समय नै शाहीकाल हो शाहीकालको तत्कालिन समय नै यस्तो रह्यो कि नेताहरू जन्मने वातावरण र परिस्थिति राजशाहीले आफैँ सिर्जना गर्थे र विषयवस्तु बनाउँदै जान्थे। मानव अधिकारको हनन् गर्नु, मौलिक हक/अधिकार हनन् गर्नु, प्रेस स्वतन्त्रता नहुनु, वाक स्वतन्त्रता नहुनु, भ्रष्टाचारले पराकाष्ठकाे सीमा नाघ्नु, सुशासन नहुनु, हत्या, हिंसा र जेल निर्वासित गर्नु भन्नु अधिनायकवाद र सर्वसत्तावाद लाद्नु नै राजशाहीमा नेताहरू जन्मने उर्वर समय भयो।
राजशाहीले नेताहरू मात्रै जन्माएन राजशाहीले धेरै कवि लेखकहरू पनि जन्मायो। उनीहरूलाई लेख्ने विषयवस्तु, लेख्ने परिवेश, लेख्ने परिस्थिति बनिरह्यो। सडक कविता क्रान्तिले धेरै कविहरू जन्मायो। तत्कालिन राजनैतिक व्यवस्थाले सिर्जना गरेको पृष्ठभूमिमा धेरै उपन्यास, कथा र निबन्धहरू लेखिए। र, यसरी साहित्यकार पनि जन्मिए।
त्यतिखेर पत्रकार र पत्रकारिता तत्कालीन समयको चुनौतीमा पनि अधिनायक र सर्वसत्तावादको कुरा उठाइरहे।
राजशाही कालमा जन्मिएका नेताहरूले तत्कालिन व्यवस्थाको विरूद्ध, तत्कालिन व्यवस्थाले उत्पन्न गरेको परिस्थितिविरूद्ध र बेथितिविरूद्ध आन्दोलन गरे र ती नेताहरू अहिले गणतान्रिक शासन व्यवस्थाको राज्य सञ्चालक छन्।
यो राज्य सञ्चालनमा नेपालका सबै राजनीतिक दलहरूले आफ्नाे राजनीतिक हैसियत, राजनीतिक पार्टीको क्षमताअनुसार राज्य सञ्चालनको जिम्मेवारी पाएका थिए र छन्। र, यिनीहरूले पूर्वराजशाही कालको विकृती, विसङ्गति अधिनायकवाद, सर्वसत्तावादको नजिकबाट अध्ययन गरेका थिए।
नजिकबाट अनुभव गरेका थिए र त्यसकाे पीडा, त्यसकाे यातना भोगेका थिए। र, यसबाट गणतान्रिक मुलुकले उन्मुक्ति पाउँछ। राष्ट्र समृद्दि र विकासतिर उन्मुख हुन्छ। जनता र स्वयम् नेताहरू पनि यो पीडाबाट मुक्त हुन्छन्। जनताले यस्तो सोचेका थिए। जनताले यस्तो अभिलाषा गरेका थिए र अब नेपालमा पुन: यस्तो आन्दोलन गर्नुपर्दैन। अब आन्दोलन सधैंकाे लागि सकियो। मुलुकमा अमनचैन आउँछ। यस्तो सोचे तर त्यस्तो भएन। भयो के भने यिनीहरूले त्यही सिके। यिनीहरूले त्यही देखे र त्यसैलाई गणतन्त्रमा दोश्रो संस्करण रूपमा जनतालाई दिँदै गए। त्यति मात्रै हाेइन यिनीहरूले सिकेको, यिनीहरूले देखेको, यिनीहरूले भोगेको भन्दा अझ बढी गर्दै गए। र, यसकाे परिस्कृत रूप प्रस्तुत गरे।
वर्तमान सरकारभन्दा पूर्व नेपालमा बहुमतको कम्युनिस्ट सरकार थियो। यो कम्युनिस्ट सरकारले यिनीहरूको राज्य सञ्चालनकाे शैली र तौरतरिकाले राजशाहीसँग तुलना मात्रै गरेनन् त्यो भन्दा बढी अधिनायकवाद त्यो भन्दा बढी सर्वसत्तावाद पथमा अग्रसर भइरहेको पुष्टि सरकारको कार्यशैलीले देखाउँदै गएको थियो।
जस्ताेकी प्रधानमन्त्रीले गुप्तचार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पती सुदृढीकरण विभाग, २५ अर्वसम्म सिधै ठेक्का दिने व्यवस्था आफ्नो मातहतमा राखेर शक्तीशाली बन्न खोज्नु, अर्कोतिर राज्यले निर्मला बलात्कारपछिकाे हत्या, ३३ किलो सुन तस्करी, एनसेलकाे कर छली काण्ड, वाइबडी भ्रष्टाचार, बालुवाटारको सरकारी जग्गा बिक्री प्रकरणलगायतका मुद्दाहरूको किनारा लगाएर दोषीलाई कारवाही गर्न नसक्नु। त्यस्तै पत्रकारलाई धरपकड् गर्नु, जेल हाल्नु र प्रेस जगतलाई सङ्कुचन गर्ने रणनीति बनाउँदै जानु, न्यायक्षेत्र पनि सरकारले आफ्नो प्रभाव क्षेत्रभित्र पार्नु, स्वायत्त संघसस्था निकायहरूमाथि क्रमश: हस्तक्षेप गर्दै जानु राजशाही कालले जन्माएका गणतान्त्रिक नेताहरूबाट यस्तो हुनु गणतान्त्रिक मुलुकको लागि दुर्भाग्यपूर्ण रूपमा लिन सकिन्छ।
गणतन्त्र आएपछि अब मुलुकमा फेरि आन्दोलन हुँदैन। अब फेरि हामीले आन्दोलन गर्नुपर्दैन। नेपाल बन्द र आगजनी हुँदैन भन्ने हाम्राे साेच र विश्वासमा कम्युनिष्ट सरकारकाे राज्य सञ्चालन शैलीले गलत सावित गरिसकेकाे छ। एकातिर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाहरूबाट विद्रोह भयाे भने राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले पनि आपसमा एकीकरण गरेर संगठित हुँदै छन्।
पूर्वराजाले पनि आफ्नै किसिमले जनतासँग सम्पर्क बढाइरहेका छन् भने वर्तमान राज्य सञ्चालन शैलीले कम्युनिस्टप्रति जनतामा वितृष्णा बढेकाे छ। यी सबै कुराले गणतन्त्रको सुदूरभविष्य सुखद होला ? यसमा सन्देह बढेर गएको छ। यो सन्देह बढ्नुमा राजशाही कालमा जन्मेका नेताहरू नै जिम्मेवार हुन् भन्ने भोलि जनताले यसरी इतिहासमा मुल्यांकन गरे भने ?
अब अहिले नेपाली कांग्रेस सभापति शेरबाहादुर देउवा प्रधानमन्त्री छन्। यो सरकार गठबन्धनको सरकार हो। पूर्वसरकारले सञ्चालन गरेको शैलीले नेपाली जनतामा आएको निराशा र गणतन्त्रप्रतिकाे नैराश्यलाई विश्वास र आशामा परिणत गर्नुपर्ने छ र त्यो गठबन्धनको सरकारलाई लोकतन्त्र र सुशासन दिनु गठबन्धन नै देउवाकाे बन्धन हुने देखिन्छ।
सबैभन्दा ठूलो चुनौती मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नै देखिन्छ। यसले सरकारको लोकप्रियता बढाउने हो कि अलोकप्रियता ? त्यो भविष्यले नै बताउला। तथापि अहिले यो विषयमा नेताहरूमा देखिएको मतान्तरले सरकारको स्थायित्वमा मात्रै हाेइन गणतन्त्र नै धरापमा पर्न सक्नेसम्म अवस्था नआउला भन्न सकिँदैन। अर्कोतर्फ भर्खर सभापतिमा निर्वाचित भएका प्रधानमन्त्रीको पहिलो कार्य सुशासन र लोकतन्त्रको सम्वर्द्धन र संरक्षण गर्नु पनि त्यति नै जिम्मेवारीपूर्ण छ। जुन नेपाली कांग्रेसको मुल मन्त्र हो। यो अभीष्ट पूरा गर्न देउवालाई गठबन्धन सहज हुन्छ जस्तो देखिँदैन।
अहिले नेपालमा जति पनि नेताहरू शीर्ष स्थानमा छन् र प्रधानमन्त्री भएका छन्, ती सबै राजशाही कालमा जन्मेका नेताहरू हुन्। तिनीहरूबाट मुलुकमा केही सुधार नहुने भएपछि गणतन्त्र स्थापित भएपछि गणतन्त्रले नेताहरू जन्माउने छन्। र, त्यसकाे छनक देखिन थाल्दैछ। यसो भयो भने राजशाही कालमा जन्मेकाहरू कालान्तरमा विस्थापित हुन्छन्। जसरी राजशाहीका पृष्ठपोषक, राजशाहीका प्रतिरक्षामा उभिएकाहरू विस्थापित भए।