एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल कुवेतसँग एक विकेटले पराजित भएको छ। नेपालले कुवेतसामु जीतका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। कुवेतले उक्त लक्ष्य सात बल बाँकी छँदै नौ विकेट गुमाएर पूरा गर्यो।
कुवेतको जितमा कप्तान मीत भावसर नायक सावित भए। भावसर एक्लैले अविजित रहँदै १७५ रन बनाए। प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका उनी अन्तिम समयसम्म क्रिजमा टिकीरहे। भावसरलाई पवेलियन फर्काउन बलर असफल रहेपछि नेपाल प्रतियोगितामा जितविहीन बन्न पुग्यो।
त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो। नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ६१ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे।
यस्तै विवेक मगरले ७१ बलमा ६ चौकासहित ५० रन बनाए। मोहमद आदिल आलमले ४२ बल खेल्दै पाँच छक्का र दुई चौकाको मद्दतमा ४९ रन जोडे। यस्तै शेर मल्लले २१, दिपेश कँडेलले १५ तथा अर्जुन साउदले १० रन बनाए।
बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीनरतीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई/दुई विकेट लिए।
दुई सय ४० रनको विजयी लक्ष्य कुवेतले ४८ दशमलव पाँच ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान भावसरले अविजित १७५ रन बनाउने क्रममा १४९ बलको सामना गरे। यस क्रममा उनले एक छक्का र २४ चौका प्रहार गरे। यस्तै जुदे सल्दन्हाले २५ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्। कुवेतले नेपालका बलरबाट २५ अतिरिक्त रन पाएको थियो।
बलिङतर्फ नेपालका गुल्सन झाले तीन तथा विवेक यादव, शेर मल्ल र बसिर अहमदले दुई दुई विकेट लिए। कुवेतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। यसअघिका खेलमा नेपाल बङ्गलादेश र श्रीलङ्कासित पराजित भएको थियो।
आजको खेलमा विजयी भएपनि कुवेत पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ। उसले यसअघिका दुई खेलमा पराजय बेहोरेको थियो। नेपाल रहेको समूह ‘बी’बाट बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ‘ए’बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् भने अफगानिस्तान र युएई बाहिरिएका छन्।