हुम्लाका चन्द्रबहादुर कामी र मुगुकी रमिला मल्ल(सुन्तली)लाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा दुवै पक्षलाई अभिभावकसहित राखेर सोधपुछ गरेपछि अभिभावकलाई जिम्मा लगाइएको हो।
पाँच मंसिरमा चन्द्रबहादुर कामीसँग भागी बिहे गरेकी सुन्तलीलाई उनका माइती पक्षले गाउँ घेर हालेर २९ मंसिरमा फिर्ता लिएका थिए।
चन्द्रबहादुरले प्रहरीलाई दिएकाे बयान अनुसार उनलाई माइती पक्षले कुटपिट गरेका थिए भने मार्छन भन्ने डरले भागेकाे बताएका थिए। उनी बेपत्ता पारिएकाे ८ दिनपछि पुस ७ गते खार्पुनाथ गाउँपालिकामा भेटिएका थिए।
सोही दिन उनलाई जिल्ला प्रहरी कार्यालयमा लगेर सोधपुछ गर्दा पाँच दिनसम्म जंगलका गोठमा बसेको बयान दिएका थिए। उनी फेला परेपछि मुगुबाट रमिलालाई पनि ८ गते जिल्ला प्रहरी कार्यालय हुम्ला झिकाइएको थियो।
रमिला र चन्द्रबहादुरका अभिभावकलाई बोलाएर सोधपुछ गरिएको हुम्लाका प्रहरी डिएसपी हेरम्ब शर्माले बताए।
'हामीले दुवै पक्षलाई राखेर छलफल गर्याैं। उहाँहरु दुवै पक्षले कानुनी प्रक्रियामा नजाने भन्नुभयो,' उनले भने, ‘कानुन अनुसार विवाह गर्ने उमेर नपुगेकाे हुनाले दुवै जनालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएका छौं।'
चन्द्रबहादुरलाई रमिलालाई लिन आएका माइती पक्षले सँगै लिएर कुटपिट गरेकाे हुम्ला प्रहरीले पुष्टि गरेकाे थियाे। पछि चन्द्रबहादुरले भने प्रहरीसँग धकलम गरी कुटपिट गर्दा डरले भागेर जंगलतिर गएको बताएका थिए।
मंसिर ५ गते १८ वर्षीया रमिलालाई १९ वर्षीय चन्द्रबहादुरले आफ्नो घरमा ल्याएका थिए। त्यसपछि मंसिर २९ गते रमिलाको गाउँका मानिसले उनलाई चन्द्रबहादुरको घरबाट खोसेर लगेका थिए।
त्यसै दिनदेखि सम्पर्कविहिन भएका चन्द्रबहादुरलाई खोज्न डीएसपीको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियाे।
प्रहरीकाे राेहरबरमा केटाकेटी दुबैलाई अभिभावककाे जिम्मा लगाएपछि उनीहरुकाे प्रेम असफल पर्ने षड्यन्त्र हुन सक्ने याे घटनालाई सुरुदेखि गम्भीर रुपमा लिन अभियान चलाइरहेका रंगकर्मी हिरा बिजुली नेपालीले बताए।
'यहाँ स्वजातीय विवाह भएकाे खण्डमा उमेरकाे प्रवाह गरिँदैन। कथित ठूलाबडाले गरेकाे बालविवाहमा जिल्लाका सीडीओ, डीएसपी नै गएर भाेज खाएर आउँछन्,' उनले भने, 'अन्तरजातीय विवाहमा प्रेमी प्रेमिकालाई छुटाउन उमेरकाे कारण देखाएर षडयन्त्र गरिन्छ। याे त्यसैकाे सिलसिला हाे।'
रमिला मुगुको सोरु गाउँपालिका-४ की हुन् भने चन्द्रबहादुर हुम्लाको सर्केगाड गाउँपालिका-१ का हुन्। यी दुई गाउँपालिका सिमाना जोडिएका दुई जिल्लाका पालिका हुन्।