कर्णालीमा सरकारले प्रतिष्ठान त स्थापना गरेकाे थियाे। तर डाक्टर ल्याउने जिम्मेवारी भने प्रतिष्ठानका उपकुलपति, रेक्टर र रजिस्ट्रारकै हुन्थ्याे। केही घटना भइहाले अर्काे आपत आइलाग्थ्याे। बिरामी मरिहाले वा घाइते भएका बिरामीलाई रेफर नगर्दा आउने प्रेसर थाम्नकाे सकसलाई वर्णन गर्न नसकिने हुनाले नै तत्कालीन रजिस्ट्रार प्रा. डा. श्याम लम्साल खल्तीमा राजीनामा बाेकेर हिंड्थे।
सबै कुराकाे चाँजोपाँजो मिलाउने काम उनले गरेपनि बिरामी हेर्ने काम फेरि पनि विशेषज्ञ डाक्टर र मेडिकल अफिसरहरुकै थियाे। त्यसमाथि विशेषज्ञ डाक्टरकाे थप जिम्मेवारी।
अस्पतालमा दिनभर ओपीडी हेरेर राति मात्रै अप्रेसन हुन्थ्याे। बिरामी निकाे हुँदा बिरामीकाे अनुहारमा देखिने खुसीले डाक्टरलाई पनि खुसी बनाउने भयो नै। त्योसँगै उनीहरुको विशेषज्ञताले थप सार्थकता पाउँदा अर्कै खालकाे आनन्द मिल्ने रहेछ।
'काठमाडौंलगायत ठाउँमा बसेकाे भए हामीबाट सेवा लिन नपाएका बिरामीले हामी जस्ता सय डाक्टरबाट सेवा लिन सक्थे,' उनीहरुकाे सामुहिक स्वर छ, 'त्यहाँ जति पनि विकल्पहरु छन्। तर दुर्गममा हामीबाट सेवा लिन नपाएका बिरामीको मृत्यु हुन पनि सक्थ्याे। हामीले उपचार गरेपछि निकाे हुने बिरामीले हामीलाई सबैभन्दा बढी खुसी दिन्छ।'
उनीहरु चारैजनालाई दुर्गममा बसेर काम गर्नै पर्ने बाध्यता थिएन। उनीहरुले अस्पतालसँगकाे सम्झौतामा अध्ययन गरेका थिएनन्। थप अध्ययनका लागि प्रतिष्ठानले लगानी गरेकाे पनि थिएन।
डा. सुर्यमान लिम्बूले भने, 'हामीले कुनै दिन पनि छोडेर जान्छु भन्ने आवाज निकालेका छैनौं। अहिले त ८ वर्ष भयाे। यो अवस्थासम्म आइपुग्दा यो संस्था छ त, हाम्रो अस्तित्व छ भन्ने निष्कर्षमा पुगेका छाैं। म गर्वसाथ भन्न सक्छु सर्जरी डिपार्टमेन्ट मैले स्थापना गरेको हुँ। याे सुनाउँदा मेराे छाती गर्वले चाैडा हुन्छ।'
उनले थपे, 'हामी सबैले आ-आफ्नाे क्षेत्रका विभागहरु स्थापना गर्याैं। ती सारमा फाउन्डेसन थिए। यतिन्जेल हामीले सबैखाले प्रशासनिक जिम्मेवारी पूरा गरिसकेका छौं। सुरुको मेडिकल डाइरेक्टर निरेश हो। उहाँ पीएचडी गर्न चाइना गएपछि म भएँ। बीचमा गिरीले पनि जिम्मेवारी लिनुभयाे। पुजन मेडिकल डाइरेक्टर हुनुभयाे। नरेश र उहाँ अहिले त पदाधिकारी नै हुनुहुन्छ।'
प्रतिष्ठानसँग जुम्लामा हुने ठूला आन्दोलन र राजनीतिक घटनाहरु पनि ठाेकिन आइपुग्छन्। चिकित्सा क्षेत्रकाे सुधारका लागि संघर्ष गर्दै आएका डा. गाेविन्द केसीले दुई पटक सत्याग्रह जुम्लामै गरे। पहिलाे सत्याग्रहले ठूलाे रुप लियाे। त्यसबेला अस्पतालभित्र गोली चल्यो। हुलदंगा भयो। एक जना गम्भीर घाइते भए।
गम्भीर घाइते हुनेलाई गाेली लाग्याे भनिएपनि त्याे सही प्रचार थिएन। उनकाे शरीरको भित्रसम्म काठको तिखो भाग पुगेको थियो। त्यो प्रतिष्ठानको लागि अपेक्षा नगरिएकाे घटना थियो। तत्काल सर्जरी गर्नुपरेकाे लिम्बू बताए।
'उनलाई बचाउन नसकेकाे भए त्याे घटनाले ठूलो रुप लिने थियाे,' उनले भने, 'उनलाई बचाएको क्षण निकै आनन्ददायी थियो। यस्ता धेरै खुसीहरु छन्। जसले हामीलाई यहाँ बस्नलाई चुम्बकीय गुणले जस्तो काम गरिरहेका छन्।'
प्रतिष्ठानसँग ठाेकिन आएकाे अर्को ठूलाे घटना हाे, सुदूरपश्चिमबाट आफ्नाे भूगोल छुट्याएर अगल प्रदेश माग गर्दै भएकाे जुम्ला आन्दोलन। त्यसबेला मध्यपश्चिमलाई सुदूरपश्चिममा गाभिएकाे थियाे। संविधान सभाबाट संविधान जारी हुनुपूर्व २०७२ साउन २३ गते सर्वपक्षीय सहमतिका आधारमा छ वटा प्रदेशहरुको सिफारिस गरिएको थियो। त्यसमा असहमति जाहेर गर्दै सुर्खेत र जुम्लामा नागरिक स्तरबाट १३ दिनसम्म आन्दोलन चलेकाे थियाे।
आन्दोलन चर्किदै जाँदा जुम्लामा गाेली चल्याे। शहीद हरिबहादुर कुँवरसहित तीन जनालाई गाेली लाग्याे। संयाेग त्याे दिन प्रतिष्ठानका सिनियर डाक्टरहरु सबै निस्केका हुनाले त्यहाँ एक जना डा. प्रविण गिरी मात्रै थिए। बजारमा कर्फ्यु थियो। सबै कुरा उनकै टाउकोमा आइलाग्थ्याे।
'उहाँहरुको प्राथमिक उपाचार गरेर बाहिर पठाउन सम्भव भयो,' डा. गिरीले भने, 'एक जना शहीद भइहाल्नुभयाे। बाँकीलाई बचाउन सकियो।' त्यही बेला विशेष प्रहरीमा भएका उनका भाइले फोन गरेका थिए, 'तपाईंलाई त्यहाँबाट लखेट्ने योजनामा छन्, कियर गर्नुहोला,'यसमा थप्दै उनले भने, 'कसैले भगाउन खाेज्छ भने भागुँला। तर पछि त्यस्तो केही भएन। त्यो एक्लै म्यानेज गरेको क्षण पनि जीवनमा सम्झन लायक छ।'
त्यसबेला डा. लिम्बूकी श्रीमती सुत्केरी हुने थिइन्। उक्त कुराले यता उनलाई आफ्नो केस आफैंले ह्यान्डल गर्न पनि अप्ठ्यारो परिरहेको थियो। त्यसैले उनी, श्रीमतीकाे स्वास्थ्य समस्याले तथा डा.जावेद र डा. पुजन अरु कामले पनि बाहिर जानुपरेको थियाे।
त्याे बेला उनीहरु संयाेगले बाहिर जना पाएका थिए। बजारमा लागेकाे कर्फ्युका कारण सम्भव भएकाे थिएन। त्यहिबेला ढाँडथपालाको एकजना रक्सी खाइरहने मान्छेको ब्लेडिङ भएको थियो। उनलाई २० प्वाइन्ट रगत दिँदा पनि सन्चो भएको थिएन। तुरुन्त रिफर गर्नुपरेको थियो। उनका आफन्तले इमर्जेन्सी प्लेन मगाएका कारण उनीहरुलाई निस्कन सहज भयाे र डा. गिरी जुम्लामा एक्ला हुन पुगे।
डा. लिम्बूकाे श्रीमती र बच्चासँग जाेडिने अर्काे घटना पनि छ। उनकाे दोस्रो बच्चा हुने बेला एमबीबीएसको अनुगमन आउनेवाला थियो। उता काठमाडौंमा श्रीमतीलाई व्याथा लागेर अस्पताल भर्ना गरिसकेकाे थियाे। जुम्ला विमानस्थल पीज गर्न लागेकाे हुनाले प्लेन थिएन। गाडीबाट जानुपर्ने भयो।
खल्लागाडमा बाटाे बिग्रिएकाे हुनाले राति मात्रै नेपालगन्ज पुगे। नेपालगन्जबाट काठमाडौंका लागि काटेकाे टिकट छुट्यो। भोलिपल्ट मात्रै जान पाए। त्यही दिन उनकी छोरी जन्मिइन्।
'अस्पतालको जिम्मेवारीका कारण भएको पारिवारिक बिछोडका कथाहरु पनि कम्ता पीडादायी छैनन्,' उनले भने, 'यी सबै सहँदा हाम्राे मन दराे हुन पुगेछ। त्यसैले पनि जुम्लासँग जाेडिएकाे भावना सितिमिति नटुट्ला।'
भावनासँग जाेडिएकाे डा. निरेशकाे आफ्नै घटना पनि छ। उनी दुई महिनाका लागि भनेर आएका थिए। कारण त्यही दुई महिनामा उनकाे बच्चा हुने थियो। त्यतिबेला जुम्लामा एकजना कार्यालय सहयोगीकी श्रीमती पनि गर्भवती थिइन्। उनको अप्रेसन गर्नुपर्ने थियाे। उनी जानै लाग्दा एयरपोर्टमा उनले यता बसिदिनुस् भनेर आग्रह गरिन्। उता उनकी श्रीमती सुत्केरी हुने थिइन्। उता जानू पनि उत्तिकै जरुरी थियो। यता राेकिनु त झन् जरुरी थियाे।
'दुर्गममा विशेषज्ञ डाक्टरकाे अभावमा महिलाहरुले भाेगेका विभत्स घटनाहरुले मन साह्रै कुँड्याउँथ्याे,' उनले भने, 'एयरपोर्टको गेटमा गर्भवती महिला र उनका श्रीमानले रोकेको दृश्यले निकै भावुक बनायो। यताका बिरामीकाे उपचार सकेर उता गएपछि श्रीमतीसँग बसेर कर्णाली बस्ने गरी फर्किए।'
त्यसबेला गाइनाे वार्डमा अत्यधिक चिसो हुन्थ्यो। त्यस्तो ठाउँमा महिलाहरु बच्चा पाउँथे। काप्दै बच्चा पाएकाे देख्दा आमाहरुप्रति लाग्ने मायाले पनि आफूहरुलाई जुम्ला छाेड्न नदिएकाे डा. लिम्बूले भने, 'यहाँका मान्छेहरु अति नै बलिया हुन्छन् जस्तो लाग्थ्यो।'
त्याे देखेका डा. गिरीले त्यसबेला अप्रेसन थिएटरमा एसी राख्नुपर्ने कन्सेप्ट प्रस्तुत गरका थिए। तर छलफलमा भएका पदाधिकारीदेखि सबै डाक्टर हाँसेका थिए। 'चाहेपछि सबै हुँदो रहेछ। अहिले सबै सम्भव भएको छ,' डा. गिरीले भने, 'आज सुविधा सम्पन्न ओटी मात्रै तीनवटा छन्। तातो चिसोको बन्दोबस्त छ।'
दुर्गममा हुने विशेषज्ञ डाक्टरकाे अभावले र आफ्नाे विकल्प छैन है भनेर एक पटक साेच्याे भनेपनि आफूले सेवा गरिरहेकाे ठाउँ छाेड्न सकिँदाे रहेनछ। 'यता आएपछि नैतिक बन्धन जस्ताे पनि हुँदोरहेछ। देखिसकेपछि छोडेर जान नसकिने रहेछ,' डा. पुजनले भने, 'सुरुमा अर्काे व्यवस्था नहुन्जेल जानुपर्छ भन्ने लाग्यो। पछि रगत पसिना बगेको संस्थालाई छोडेर जान मनले मानेन।'
उनीहरु कर्णालीमा रहँदा सँधै अभाव मात्रै भएन। कहिले राज्यले विशेषज्ञ डाक्टरलाई हेलिकप्टरमा बसालेर कयौं ठाउँमा बिरामीको उपचार गराउन पनि पठायाे। ती अविस्मरणीय क्षण भएकाे डा. लिम्बूले बताए।
उनले भने, 'आज बाहिरबाट हेर्दा यति सजिलै एमबीबीएस आएको जस्तो लाग्छ। धेरैले वाओ! गर्छन्। त्यसका पछाडि हाम्रो पनि योगदान छ। हामीले दुरदराजका नागरिकलाई गरेकाे सेवाबाट राज्य पनि जानकार थियाे। यहाँ डाक्टर उत्पादनकाे आवश्यकता खट्किँदै थियाे।'
प्रतिष्ठान राम्रो भएकाे देख्दा उनीहरु एकै ठाउँमा बसेर खुसी साट्छन्। त्याे खुसी कहिले फुटसलकाे ग्राउन्डमा पोखिन्छ त कहिले चियाकाे चुस्किमा। यो संस्था नराम्रो हुँदा हाम्रो पनि मन दुख्ने भएकाे हुनाले अब प्रतिष्ठान कहिले पछाडि हट्न नहुने डा. निरेशले बताए। उनले भने, 'हामी निर्धक्क भन्न सक्छौं याे संस्था हाम्रा सुख, दु:खकाे संगम हाे।'
हिजाे चार जना विशेषज्ञ अभावका बीचमा काम सुरु गरेकाे ठाउँमा आज एकसेएक नामी डाक्टर आएका छन्। ८० जनाभन्दा बढी विशेषज्ञ डाक्टरकाे सेवा कर्णालीबासीले लिइरहेकाे दृश्य देख्दा डा. लिम्बू दिमागमा पुराना पानाहरु पल्टाउन पुग्छन्।
'त्याे सिमित बजेट। ती शनिबार छुट्टी पनि नलिएर अप्रेसन गरेका दिन। त्याे विशुद्ध सेवा भावना। सम्झी ल्याउँदा मन त्यसै त्यसै खुसीले उडिरहेको जस्ताे लाग्छ, सिमलका भुवाजस्तै,' उनले भने, 'अहिले त करोडौं बजेटमा काम भइरहेको छ। अहिले ती दिन कथाजस्ताे पनि लाग्छ। प्रतिष्ठानले मारेका फट्काे हाे जस्ताे पनि लाग्छ।'
उनीहरुलाई लाग्छ ती दिनमा प्रतिष्ठानमा जग खनेर पिलर ठड्याउने काम भएकाे थियाे। आज त्यसैमा टेकेर नै यति धेरै विकास हुन सकेको छ।
बाँकी अरु शृङ्खलामा प्रकाशन हुने नै छन्।