संघको अध्यक्ष भएपछि पहिलो पहल के रह्यो ?
वित्तीय स्थायित्व कायममा केन्द्रित छौं। केन्द्रीय बैंकले ब्याजदर तोकेअनुसार सबै २७ वटै वाणिज्य बैंकले वृद्धि गरेका छन्। कुनै बैंकको ब्याजदर पनि फरक नहोस् भनेर एकरूपता कायम गरेका छौं। आर्थिक गतिविधिलाई स्थायित्व दिने कुरामा कर्जा प्रवाहलाई मद्दत गर्ने गरी स्रोत परिचालन गर्नेतर्फ केन्द्रित छौं। यसैगरी, सुशासन कायम गर्ने र भुक्तानी प्रणालीलाई बलियो बनाउने काम पनि गरेका छौं। नेपालको बैंकलाई दक्षिण एसियामै राम्रो रूपमा हेर्ने गरिएको छ। यहाँको निष्कृय कर्जाको स्थिति पनि खराब छैन। स्थायित्व र सुरक्षित बैंकिङ प्रणालीलाई बलियो बनाउनुपर्छ भनेर रणनीति नै बनाएर काम गरिरहेका छौं। हामीले अन्य मुलुकमा गरेका बैंकका राम्रा अभ्यासलाई पनि ग्रहण गर्ने गरेका छौं।
लगानीयोग्य पुँजीको चरम अभावलाई कम गर्ने विकल्पबारे कत्तिको ध्यान दिनुभएको छ ?
सर्वप्रथम त आर्थिक गतिविधि राज्यले निर्धारण गरेको आर्थिक वृद्धिदर नै महत्त्वपूर्ण हुन्छ। आर्थिक वृद्धिदरलाई केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्रक्षेपण गरेको हुन्छ। मौद्रिक नीतिले बजारमा पुँजी कसरी परिचालन गर्ने भन्ने कुरालाई सम्बोधन गर्छ। आर्थिक गतिविधिमा वाणिज्य बैंकको सबैभन्दा बढी हिस्सा रहेको छ। यसको भार करिब ९० प्रतिशतको हाराहारीमा छ। त्यो काम गरिरहेकै छौं। कर्जादेखि स्रोत जोहो गर्ने कामसम्म भइरहेको छ। यसर्थ महत्त्वपूर्ण गतिविधिमा हाम्रो संलग्नता हुने भएकाले मौद्रिक नीतिले जसरी निर्धारण गरेको हुन्छ, सोही सीमाभित्र बसेर आफ्नो स्रोत परिचालन र कारोबार वृद्धि गर्छौं। त्यही अनुसारको सुशासन, मूल्य र मान्यता कायम गर्ने विषयमा नियामकको निर्देशनभित्र रहेर काम गर्दैछौं। संघले विशेष गरेर वित्तीय स्थायित्वलाई मद्दत गर्ने, मुल्य नियन्त्रणमा स्थायीत्व दिने, वृद्धिदर व्यवस्थापन गर्ने, भुक्तानी प्रणालीलाई बलियो र सुरक्षित बनाउने, सुशासन तथा पारदर्शीमा बढी केन्द्रित गरेको छ।