अमेरिकामा कम्प्युटर नेटवर्कमा जमेका सीसीआईबाट सफल सर्लाहीका सुनील झा [भिडियो]

अमेरिकाको मेरिल्याण्डबासी हुन्– सुनीलकुमार झा। सर्लाही जिल्लाको बरहथवाभन्दा दक्षिणमा पर्ने सीमावर्ती सिमरा गाउँ उनको जन्मस्थल हो। अहिले अमेरिकाको मेरिल्याण्डमा बसोबास गरिरहेका यी इञ्जिनीयरले ‘कम्युटर नेटवर्किङ’ मा राम्रो सफलता हासिल गरेका छन्।

कक्षा ५ सम्म बरहथवामै पढे उनले। पिताजी थिए– प्रहरी हवल्दार। ‘छोरा बिग्रन्छ भनेर बुवाले अर्को विद्यालय गरेर भर्ना गरिदिए। कक्षा छदेखि गोरेथाको स्कुलमा पढेँ’, उनी सम्झन्छन्।

स्कुल घरबाट तीन किलोमिटर टाढा पर्थ्याे। जनकपुर अञ्चलकै नमूना विद्यालय थियो त्यो। २०४० सालमा एसएलसी गरे- पहिलो श्रेणी (फस्ट डिभिजन) मा। त्यति बेला ‘फस्ट डिभिजन’ आउन मुस्किल हुन्थ्यो। आफ्नो ब्याचमा चार जनाले ‘फस्ट डिभिजन’ गरेको उनी सम्झन्छन्।

गरिबीले गाँजेको थियो परिवारलाई। त्यसैले जागिर पाइन्छ भनेर उनका पिताले ‘ओभरसियर’ बनाउने सपना देखे। अनि बरहथवाबाट गाडी चढाएर काठमाडौं पठाइदिए।

‘फस्ट डिभिजन’ भएकाले इञ्जिनीयरिङ क्याम्पस, पुल्चोक नाम निस्कियो। सुरुको एक वर्ष मंगलबजारमा डेरा बसे– दुई–तीन जना साथी मिलेर। लुगा पनि बाहिरै धुनुपर्ने, पानीको पनि दुःख तर पनि के गर्ने, बस्नुपर्ने बाध्यता थियो।

एक वर्षपछि सानेपा सरे– काकाले चिनेको मान्छेका घरमा। उनी सम्झन्छन्, ‘मंगलबजारमा गिरीको घरमा बस्थ्यौँ, सानेपा चाहिँ बोगटीको घरमा सरेका थियौँ।’

किसान परिवार, चामल घरबाटै ल्याउँथे। ‘नाइटबसमा लोड गरेर चामल ल्याउँथ्यौँ घरबाट। चामल ल्याउन सजिलो थियो तर पैसा चाहिँ हुँदैनथ्यो’, उनी सम्झन्छन्।

‘वानेश्वरमा बासुदेव उपाध्याय (अंकल) हुनुहुन्थ्यो, बानेश्वरमा। सिंहदरबारमा जागीर खानुहुन्थ्यो। काकाले उहाँलाई भन्नुभएको थियो, महिनाको चार सय दिनुहोला भनेर। म उहाँसँग पैसा लिन प्रत्येक महिना सिंहदरबार जान्थेँ’, उनले भने।

सिभिल ओभरसियर पास गरे– ६७ प्रतिशत अंक ल्याएर। त्यसपछि जागीर पनि खाए– दुई वर्ष। साथीहरु इञ्जिनीयर भर्ना भए। आफू पछि परेको महसुस भएपछि जागीर छाडेर बीईमा नाम निकालेको उनी सम्झन्छन्। उनले दुई पटक प्रयास गरे– नाम निकाल्न तर निस्किएन।

बिएल नेपालीसँगको कुराकानीमा उनले भने, ‘मैले भगवानसँग प्रार्थना गरेँ पढ्न पाऊँ भनेर’, उनले भने, ‘अन्तिममा सफलता पाएँ। स्वामी विवेकानन्दको कथा पढ्दा शिक्षा पाएको थिएँ– मान्छे कमजोर होइन, मान्छेमा कमजोरी छ। तिमीले ईश्वरमा विश्वास गर्नुभन्दा पहिला आफैँमा विश्वास गर। तिमीले केही गर्ने प्रयास गर्नु नै ईश्वरमा समर्पण हो भन्नेमा विश्वास गरेँ। अनि कस्सिएर पढेँ, नाम निकालेँ। अनि खुशी कहिल्यै भएको थिइनँ।’

पढ्ने मौकाका लागि पैसा थोरै भए पनि काठमाडौंमै बसेका थिए उनी। उनले भने, ‘त्यो बेला नाम ननिकालेको भए मैले पढ्ने मौका नै पाउने थिइनँ। त्यो ईश्वरको देन थियो।’

०४६ सालमा बीई गरे। त्यसपछि फेरि जागीर खोज्नुपर्ने भयो। उनले सम्झिए– पहिले ओभरसियरको जागीर खान एक महिनासम्म मन्त्रीको चाकडी गर्न धाएको। अनि जागीर खाने आशा छाडेका थिए।

संयोग पनि जगबले जुर्‍यो। उनी बस्ने घरबेटीका छोराहरु अमेरिका गएका थिए। त्यसैले बीई पहिलो वर्ष पढ्दैदेखि सुनीलले पनि ‘ईङ्गलिश डिक्सनरी’ नै कण्ठ गर्न थालेका थिए। ‘मैले चार वर्षे बीई सक्दा अक्सफोर्डको डिक्सनरी नै कण्ठ गरिसकेको थिएँ’, उनले भने, ‘मलाई ईश्वरले क्षमता दियो होला, म एउटा शब्दको चार–पाँच वटा अर्थ अंग्रेजीमै भन्न सक्ने भएको थिएँ।’

सुनीललाई लाग्थ्यो– जागीर खाँदा घुस त खाइएला तर घुस खाएपछि राती निद्रा लाग्दैन। ‘मैले क्षमता उपयोग हुने जागीर पाऊँ भन्थेँ– ईश्वरसँग। अनि अमेरिका जाने सपना बनाएँ। त्यसपछि जीआरईको तयारी सुरु गरेँ,’, उनले भने।

०५० सालमा बीई गरेको, तीन वर्षको तयारीपछि ०५३ सालमा उनी अमेरिका गएका हुन्। साथीहरुले लोकसेवाको तयारी गर्दा आफू ‘जीआरई’ मा लागेको उनले बताए।

‘मेरा काका (ठूलो बुवा) हुनुहुन्थ्यो– कविजी। उहाँ आँखा देख्नुहुन्नथ्यो तर मुखाग्र कविता भन्नुहुन्थ्यो। हाम्रो परिवारको मार्गदर्शक उहाँ हाम्रो आदर्श हुनुहुन्थ्यो’, सुनीलले सम्झिए, ‘मलाई उहाँले पनि बिहे गर भन्नुहुन्थ्यो। मैले त्यो पनि टारेर अमेरिकातिर लागेको थिएँ। बिहेपछि पढ्न पाइँदैन भन्ने मलाई लाग्थ्यो।’

सिभिल इञ्जिनीयरिङ पढ्न ‘टेनिस स्टेट युनिभर्सिटी’ गए– सुरुमा। आफैँले शुल्क तिर्ने शर्तमा। दाजु मस्कोमा बस्ने भएकाले अलिकति मद्दत गरे। ‘त्यसबेला मलाई कम्प्युटरमा निकै चासो थियो। त्यसपछि म अर्को कलेज भर्ना भएँ– आईटी पढ्न’, उनले भने, ‘म पुल्चोक पढ्दै कम्युटरसँग मेरो मोह बसिसकेको थियो।’

‘म आफैँ गाडी हाँकेर म करिब दुई हजार माइल टाढा पर्ने क्यालिफोर्नियाँ गएँ, अल्फा इन्स्टिच्युटमा। दुई–चार महिना तालिम गरेपछि काम पाइन्थ्यो। मैले त्यो बाटो रोजेँ’, उनले भने, ‘तर मैले काम पाइनँ। मलाई अरुले उछिने।’

गुजरातका आकाश भट्टको संगत पाएर आफू सफलतातर्फ लम्किएको उनले सुनाए। करिब छ वर्ष क्यालिफोर्निया बसेका उनी त्यसपछि कामकै सिलसिलामा अरिजोनामा दुई वर्ष बसे। अनि मेरिल्याण्डमा आएर बसेका छन्– करिब छ वर्षदेखि।

‘अहिले मेरिल्याण्डमा मेरो आफ्नै ल्याब छ। सीसीआई (सिस्को सर्टिफाइड इन्टरनेट नेटवर्क एक्सपर्ट) भन्ने एउटा उच्च स्तरीय तालिम केन्द्र हो। त्यो ल्याबमा गरेर जानिन्छ, पढेर होइन। यो परीक्षा पास गर्न दुनियाँको साह्रै गाह्रो परीक्षा हो। छ लाख नेटवर्क इञ्जिनीयरमा दुई–तीन प्रतिशतले मात्र पास गर्छन्। यो गर्ने नेपालबाट कोही थिएन। त्यसैले मैले यसको तयारी गरिरहेको थिएँ’, उनले भने।

‘मैले यसका लागि १०–१२ वटा किताब पढेँ, कम्प्युटरको १६देखि १८ वटा डिभाइसको सर्वर जोडेर सबैको कमाण्ड दिन्छ। त्यसलाई मिलाउनुपर्छ, त्यो निकै गाह्रो हुन्छ। एउटा मिस भयो भने काम गर्दैन। आईपी एड्रेसको कुरा हुन्छ। आठ घण्टामा सबै मिलाएर दिनुपर्छ।’

‘यो परीक्षाको तयारीका लागि अरुले इन्स्टिच्युट गएर पढ्थे, मसँग त्यसका लागि पैसा पनि थिएन। आफैँ तयारी गरेर मैले जाँच दिएको। मैले एक वर्ष तयारी गरेँ’, उनले भने, ‘हामीले नेटवर्कको डिजाइन गर्छौँ। यो जोड्ने काम हो। यसले संसारभरिका सिस्टमलाई जोड्ने काम गर्छ। त्यो वायरलेसबाट जान्छ।’

अहिले आफूले कम्प्युटर नेटवर्कको व्यवस्थापन गर्ने बताउँदै उनले भने, ‘मैले नेटवर्क पनि व्यवस्थापन गर्छु। डेटा बेस पनि म आफैँ व्यवस्थापन गर्छु। सर्वर पनि मैले आफैँ सिकेको छु। मेरो आफ्नै ल्याब छ। त्यसैमा काम गर्छु।’

प्रकाशित मिति: : 2021-12-20 16:28:00

प्रतिकृया दिनुहोस्