मानिस आज सबै खाले पशुहरुमध्ये बल, बुद्धि र विद्यामा शीर्ष स्थानमा रहेको छ। वानराभ मानव रुखबाट ओर्लेर भुइँमा टेकेपछि अन्यान्य पशुहरुसित कडा प्रतियोगिताको सामना गर्नु परेको थियो।
अन्य पशुहरुसित हतियार त थियो तर ती हतियारहरु अस्त्रको रुपमा नै रहेको थियो जसलाई ती जानवरहरुले शस्त्र झैं प्रयोग गर्न सक्दैनथे। हतियारको रुपमा दाँत र नङ पशुहरुको जीउमा नै स्थापित रहन्थ्ये।
अन्य स्पर्धी पशुहरुमाथि आक्रमण गर्नको लागि त्यहीँसम्म जानुपर्थ्याे। यसको विपरीत आदि–मानवसित ढुङ्गा वा काठको डण्डा फालेर अन्य जानवरहरुमाथि आक्रमण गर्न सक्ने विलक्षण शक्ति विकसित भइरहेको थियो।
आदि–मानवहरु सङ्गठनसाथ रहन्थे जुन उनीहरुको अतिरिक्त शक्ति थियो। यति भएर पनि आदिमानव कतै न कतै अन्य पशुहरु भन्दा आफूलाई कमजोर ठान्दथे। गुफा युगमा रहँदा नै मानवलाई अतिरिक्त शक्ति प्रदान गर्ने आगोको अनुसंधान तथा पहिचान भइसकेको थियो।
सम्भवतः आगोको अविष्कार नै मानवलाई अन्य पशुहरुभन्दा बलियो बनाएको थियो। आगोको अविष्कार मानिसको लागि एउटा चमत्कार थियो। आगो अन्य पशुहरुलाई तर्साएर धपाउने काममा प्रयोग हुन्थ्यो।
आगोमा खाद्यपदार्थ पोलेर खाँदा खाना पोषिलो तथा स्वादिलो हुन्छ। खाद्य परिकार काँचै सेवन गर्नु अस्वस्थकर तथा बेस्वादिलो हुनुको साथै पाचन प्रणालीको लागि कष्टकारक हुन्छ।
मानिस आगोको सहायताले खाद्य पदार्थलाई पोलेर, पकाएर, वफाएर तथा भुटेर खान सक्दछ। खानाको विभिन्न परिकार बनाएर खान आगोको सहायताले नै सम्भव हुन सक्यो।
आगो बाल्नको लागि इन्धन अपरिहार्य हुन्छ। मानिसले आदिम युगदेखि नै इन्धनका विभिन्न श्रोत तथा साधन बारे अनुसन्धान तथा प्रयोग गर्न थाल्यो।
सुकेको घाँस, पात तथा रुख विरुवाको हाँगाबिगा आगोको लागि राम्रो इन्धन हो। प्राकृत रुपमा यस्ता पदार्थहरु पहिले पहिले त सहज सुलभ थिए। मानिसहरु त्यसमाथि नै आश्रित रहे तर कालक्रमानुसार त्यस्ता पदार्थहरुको उचित आपूर्ति न्यून हुन थाले पछि त्यस्तो इन्धनको विकल्पको रुपमा अन्य साधनको खोजी अनुसन्धान हुन थाल्यो।
विभिन्न कालखण्डमा मानिसले खनिजकोइला, ज्वलनशील तेल, विद्युत तथा अन्ततः केही दशक पहिले खनिज गैस पता लगाउन सफलता पाउन सक्यो। इन्धनको रुपमा यी जम्मै साधनहरु व्यापक रुपमा प्रयोग हुन थाले। यसरी प्रयोग हुन थालेपछि योजनाबिनाको प्राकृतिक दोहनका कारणले इन्धनका त्यस्ता साधनहरु न्यून हुन थाले, जसको प्रत्यक्ष मार मानव जीवनमाथि पर्न थाल्यो।
पञ्चायतकालमा हाम्रो देशको प्रमुख नारा थियो– ‘हरियो वन नेपालको धन’ ! नेपालमा त्यस बेला वन हाम्रो देशको विस्तृत भूभागमा विद्यमान रहेको थियो।
अर्को नारा पनि थियो– ‘खडा रुख सरकारको, लडेपडेको रुख जनताको’ ! केही शुल्क राजस्वको रुपमा तिरेर जनताले वन पैदावरको लागि वन विभागमा स्थापित रहेका घाटहरुमा पूर्जी पाउँदथे। त्यस पुर्जीले गोरुगाडामा जंगलबाट लडेपडेका काठ दाउरा जनताले ल्याउन पाउदथे, जीवित रहेका खड़ा रूख भने काट्न पाइँदैनथे।
दाउराका लागि जनतामा कुनै प्रकारको अप्राप्यता थिएन। जनताको चूल्होमा दाउराको प्रशस्ती रहन्थ्यो। पञ्चायत कालपछि देशमा बहुदलीय व्यवस्था र गणतन्त्र आयो। राजनैतिक अभ्यासमा कुन्नि के भयो ? वनको पुर्जी बन्द भयो तथा जनताको चूल्होको प्रयोगको लागि दाउरा अप्राप्य भयो।
केही टाठाबाठा नेता भनाउँदा मानिस तथा हाकिम हुकामहरु आपसी मिलोमतोमा वनसम्पदा झ्वाम पारे। जनता हेरेको हेर्यै भए। गोरू–गाड़ा, ट्र्याक्टरको ढुवानीबाट समेत न मासिएको जंगल साइकल र ‘कान्हभरवा’ (खर्पनझैँ काँधमा बोक्ने) ले सखाप पारिदियो।
इन्धनको यस्तो समस्याबाट छुटकारा पाउन गाउँका किसानहरुले आफ्नो बाँझो, आली तथा पर्तिहरुमा विभिन्न खाले जातका बोट विरुवा रोप्न थाले। किसानहरुले पालेका गाईवस्तु, गोरु तथा भैँसीहरुको गोबरले चिपरी (गुइंठा), गोहरा (लामो गुइँठा) बनाएर घाममा सुकाई खाना पकाउने इन्धनको रुपमा प्रयोग गर्न थाले।
वर्तमान समयमा केही दशक पहिलेदेखि रुखबिरुवाहरुमा अज्ञात रोग लागेर सुकी सखाप भइसके। केही समयपहिलेसम्म प्रत्येक गा“उहरुमा ठूल्ठूला बगैँचाहरु रहेका हुन्थे जसमा आँप, जामुन, कटहर, अम्बा, सिसौका विशाल–विशाल रुखहरु हुन्थे। अबका दिनहरुमा कुनै पनि गाउँमा त्यस्ता रुख वा बगैँचाहरु बाँकी छैनन्।
किसानहरुले चिपरी, गोहरा बनाउनको लागि गोबर उपलब्ध छैन किनकि यान्त्रिक विस्तारको कारणले अब गाईबस्तु वा भैँसी, गोरुहरु छैनन्। खेतीको कामका लागि विभिन्न खाले यन्त्रहरुले पशुधनहरुलाई विस्थापित गरिदिएका छन।
गोरुगाडाको अस्तित्व नै समाप्त भइसकेको तथ्य हाम्रो आ“खाको सामुने छ। पुराना दिनहरुमा खेतीको काम जसरी हलोगोरुले गर्न सकिन्थ्यो। आज किसानले त्यस्तो सोच्न पनि सक्दैन।
वर्तमान अवस्थामा मानिस मरेपछि लाश पोल्नको लागि दाउरा अप्राप्य भइसकेको छ। यस्तो समयमा बिहान–बेलुका घरकी गृहिणीले खाना पकाउनको लागि घरमूलीसित दाउराको माग गरे पछि विचराको आङ काम्दछ।
दाउराको वर्तमान अवस्था यस्तो छ भन्ने भविष्यमा के हुने होला, दैवले नै जानुन...! दाउरा, मानव जीवन र मृत्यु पर्यन्तसम्मकोलागि अनमोल थिएन र छैन पनि कि क्या...!