मानिसको मुहारका आकृति जनाउने केही मुखौटाका थुप्रा छन्। कुनै मुखौटामा उन्मुक्त हाँसो देखिन्छ, कुनै रिसले चुर भएको, कुनै पीडाले विक्षिप्त छ त कुनै भावशून्य। छेउछाउमा ढुंगा अनि माटा पनि छन्। बगरजस्तै भान दिने उक्त थुप्रोको परिधिलाई वरपर रहेका ‘साभेल’ले तोकिदिएको छ। अनि साभेल कसिएको छ हत्केलाभित्र।
टुक्रिएका मुखौटा देख्दा लाग्छ, बनाउँदाबनाउँदै बिग्रिएपछि कलाकारले त्यसै फालेर हिँडेका हुन्। ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने निम्न वर्गका क्षणिक खुसी, दुःख, सन्ताप तथा अन्य भिन्न भाव पो व्यक्त गरिएका हुन् कि जस्तो पनि लाग्छ।
यद्यपि, यो ल्यान्डस्केप कुनै बगर वा फोहोरका डंगुरमा नभई बौद्ध टुसालस्थित तारागाउँ म्युजियमको एउटा कोठामा प्रस्तुत गरिएको हो। उक्त कलाको नाम ‘छरिएका टुक्राहरू’ दिएको छ। यसका कलाकार हुन्– जुपिटर प्रधान।