०६१ साल माघ १९ गते। तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी आफैँलाई मन्त्रिपरिषद्को अध्यक्ष घोषणा गरेका थिए।
आफ्ना पिता राजा महेन्द्रको पथमा अघि बढ्ने दुष्स्वप्न देखेका तत्कालीन राजा ज्ञानेन्द्रको ‘तानाशाही शासन’ सुरु भएको थियो। संविधानप्रदत्त मौलक हकमाथि बन्देज लगाएर राजा ज्ञानेन्द्र एक्लै अघि बढ्ने चेष्टा गरिरहेका थिए।
एकातर्फ ०५८ साल जेठ १९ को राजा वीरेन्द्रको वंश विनाशपछि अपराधको जगमा उभिएको ‘नयाँ राजा’ को अत्याचारप्रति बौद्धिक वर्गको मनभित्र आन्दोलनको आगो दन्किरहेको थियो तर राजनीतिक दलहरुप्रतिको विश्वास पनि थिएन। त्यो परिस्थितिमा आन्दोलनको ज्वारभाटा बनेर प्रकट भएका थिए– गगन थापा। राजाको निरंकुशताले दबाइएका नेपालीको आवाज बनेर निस्किएका थिए– गगन।
गगन त्यसअघि नै नेपाल विद्यार्थी संघका महामन्त्री भइसकेका थिए। त्रिचन्द्र कलेजको स्ववियु सभापति पनि भइसकेका थिए– नेवि संघकै बागी बनेर। तर, जति बेला ‘शाही कू’ भयो, त्यस बेला गगनसँग कुनै ‘प्लेटफर्म’ थिएन– निरंकुशताविरुद्ध जुध्ने।
नेविसंघको नेतृत्वबाट केहीअघि मात्र सभापति गुरुराज घिमिरे र महामन्त्री गगनलाई त्यसको केही समयअघि मात्र हटाएका थिए। अनि गगन जोडिएका थिए– नागरिक आन्दोलनमा। उक्त नागरिक आन्दोलनको मुख्य नेतृत्व गरेका थिए– डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडीले।
०६२ सालको साउन १० गते। ‘शाही शासन’ विरुद्ध नागरिक आन्दोलनले कार्यक्रम गर्यो– ‘रत्नपार्क हाम्रो हो’ भनेर। नागरिक अधिकार कुण्ठित गरिएको विरोधमा रत्नपार्कमा धर्ना र जुलुश राखिएको थियो। राजनीतिक दलहरुले आन्दोलन आह्वान गर्दा जनताको सहभागिता नहुने अवस्था थियो त्यो। जनताको नजरमा दलहरु अत्यन्तै बदनाम थिए। त्यसैको फाइदा उठाउने प्रयास गरेका थिए– महत्वाकांक्षी निरंकुश राजा ज्ञानेन्द्र शाहले।
राजनीतिक दलमा आवद्ध नभएका व्यक्तिहरूको नेतृत्वमा भएको उक्त आन्दोलनमा सहभागी जुटाउने काम गर्थे– कांग्रेस र एमालेका युवा–विद्यार्थीले। गिरिजाप्रसाद कोइरालाको कोपभाजनमा परेका गगन उक्त आन्दोलनका एक जना प्रमुख हस्ती थिए तर उनी ‘लो–प्रोफाइल’ बस्थे।
रत्नपार्कमा धर्ना दिने कार्यक्रमसहित भोटाहिटीबाट रत्नपार्कतर्फ ‘नागरिक जुलुश’ अघि बढ्दै थियो, प्रहरीले दमन गर्यो।
उक्त जुलुशमा अलि पछाडि थिए– गगन। गणतन्त्रको नारा लगाइएको थियो– जुलुशमा। त्यसको नेतृत्व गरेका थिए– गगनले। उनी भोटाहिटीबाट पक्राउ गरे। उनी हिरासतमा राखिए।
शाही सरकारको हिरासतमा राखिए–गगन। पक्राउपछि राजकाज मुद्दा लगाउने तयारी थियो– उनीमाथि। उल्टै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै गगनमाथि आरोप लगाए– ‘दरबारिया’ भनेर।
शाही सरकारको तारो बनेका गगन गिरिजाप्रसादको पनि तारो बनेका थिए तर यसबाट पनि विचलित नभएका गगन हिरासतमा बसिरहे। पार्टीले निर्णय गर्नुभन्दा अघिदेखि नै उनी गणतन्त्रवादी भएका थिए। शायद् गगनको राजनीतिक ‘करिअर’ मा सबैभन्दा कठिन बेला यही थियो। उनी गिरिजाप्रसाद कोइरालाले नरुचाएका मात्र होइन, सिध्याउनै खोजेका नेता नेता हुन्।
शाही शासनविरुद्ध ०६२/६३ को आन्दोलनको सबैभन्दा देखिएका युवा नेता हुन्– गगन। उनी नेपाली राजनीतिको एकजना ‘सेलिब्रिटी’ का रूपमा स्थापित भए। गगनले सडकबाट गणतन्त्र शंखघोष गरेको धेरै समयपछि मात्र कांग्रेसले गणतन्त्रलाई आत्मसात गरेको थियो।
०६३ सालको आन्दोलनका एकजना ‘सेलिब्रिटी’ नै भको सफलतापछि गगनको छवि यस्तो बन्यो, उनलाई समावेश नगर्दा युवाको प्रतिनिधित्व नहुने भयो। यही अवस्थाको बाध्यताका कारण गगन पहिलो संविधानसभा सदस्य भए–‘समानुपातिक’ तर्फबाट। दोस्रो संविधानसभामा भने उनले काठमाडौं– ४ बाट प्रत्यक्ष चुनिए। ०७४ सालमा पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
पहिलो संविधानसभाभित्र गगनले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख हुने राजनीतिक प्रणालीको वकालत गरे। गगन थापा, नरहरि आचार्य, प्रदीप गिरीसहित कांग्रेसका १६ जना सभासद्ले ‘शासकीय स्वरुप निर्धारण समिति’ मा बेग्लै प्रस्ताव नै दर्ता गरेका थिए।
गणतन्त्र स्थापनापछि ०६७ असोज ५–७ गते काठमाडौंमा भएको कांग्रेसको बाह्रौँ महाधिवेशनमा गगनले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य जिते। ०७१ सालमा संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका उनी ०७३ सालमा स्वास्थ्यमन्त्री भएर पनि काम गरेका थिए। स्वास्थ्यमन्त्रीका रूपमा पनि उनले केही स्मरणीय काम गरेका थिए।
कांग्रेसको १३औँ महाधिवेशनमै उनले नेतृत्वमा हस्तक्षेप गर्ने प्रयास गरे। शेरबहादुर देउवा र रामचन्द्र पौडेलले नेतृत्व गरेको दुवै गुटमा गगन अटाएनन्। त्यसपछि सभापतिका तेस्रा उम्मेद्वार कृष्णप्रसाद सिटौला समूहसँग जोडिए र महामन्त्री लडेका थिए। त्यसबेला उनले सम्मानजनक मत ल्याएका थिए। अनि कांग्रेसको भावी नेताका रूपमा आफूलाई स्थापित गरेका थिए।
कांग्रेसको चौधौँ महाधिवेशनमा सबैले नजरमा परेका एक्ला ‘सेलिब्रिटी’ हुन्– गगन। सबैको चासो थियो– यसपटक गगनले महामन्त्री जित्लान् त ? राजनीति सरल रेखाबाट मात्र बग्दा उनलाई रोक्नसक्ने तागत कांग्रेसभित्र थिएन तर आशंका बाँकी थियो। आम नेपालीले आशा गरेका यी युवानेताले त्यो लक्ष्य भेदन गर्न सफल भएका छन्। यति भन्दा अत्युक्ति हुँदैन– कांग्रेसका गगन यस्ता एक्ला नेता हुन्, जसमाथि नेपालीको आशा र विश्वास छ, उनलाई आमनेपालीको आशीर्वाद छ।
कठिन यात्रापछि कांग्रेस नेतृत्वको टाकुरोमा चढेका छन्– गगन। अब भने उनको काँधमा महामन्त्रीको भार थपिएको छ। उनको राजनीतिक यात्रालाई अब कांग्रेसको भावी सभापति र देशको भावी कार्यकारी प्रमुखका हेरिएको छ। अब कांग्रेसको भविष्य उनको सफलतासँगै गाँसिने छ।