रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबिच भिडियो बार्ता, रूसी सेनाको चहलपहलबारे छलफल

Photo: Mikhail Metzel / Sputnik via Reuters
Photo: Mikhail Metzel / Sputnik via Reuters

युक्रेनको सीमा नजिक रूसी सेनाको चहलपहललाई लिएर मस्को र पश्चिमबीच बढ्दो तनावको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधवार एक भिडियो कल मार्फत द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मामिलाहरूबारे बुधवार छलफल गरेका छन्।

आफ्नो प्रारम्भिक टिप्पणीमा दुवै देशका नेताले रूस र चीन बीचको सम्बन्धको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्धलाई '२१ औं शताब्दीमा अन्तरराज्यीय सहयोगको उचित उदाहरण' भनि टिप्पणी गरे।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले 'एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने राम्रो छिमेक, एकअर्काको हितको सम्मान गर्ने, साझा सिमानालाई शाश्वत शान्तिमा परिणत गर्ने दृढ संकल्प जस्ता सिद्धान्तका आधारमा हाम्रा देशहरूबीच सहकार्यको नयाँ नमुना गठन भएको छ' भनि प्रशंसा गरे।

सीले पुटिनको बारेमा 'राष्ट्रिय हितको रक्षा गर्ने चीनको मुख्य प्रयासलाई दृढतापूर्वक समर्थन गर्दै हाम्रा देशहरूबीच फाटो ल्याउने प्रयासको दृढतापूर्वक विरोध गरे र म यस्को निकै प्रशंसा गर्छु,' भने।

पुटिनले फेब्रुअरीमा बेइजिङमा सीसँग व्यक्तिगत रूपमा भेट्ने र २०२२ ओलम्पिकमा सहभागी हुने योजना रहेको बताए र 'सहमति अनुसार हामी वार्ता गर्नेछौं र त्यसपछि शीतकालीन ओलम्पिक खेलहरूको उद्घाटन समारोहमा भाग लिनेछौं,' भने।  

चीन र रुसले अन्तर्राष्ट्रिय अर्थव्यवस्था र राजनीतिक व्यवस्थामा अमेरिकी हस्ताछेपको सामना गर्न आफ्नो विदेश नीतिहरू बढाउँदै गइरहेका छन्। दुवैले देशले आफ्नो आन्तरिक नीतिका कारण प्रतिबन्धको सामना गरेका छन्।

अल्पसंख्यकहरू विशेष गरी सिनजियाङका उइगुर मुस्लिमहरू र हङकङमा प्रजातन्त्र समर्थक आन्दोलनमाथिको कारबाहीको लागि दुर्व्यवहारको आरोपमा चीनले प्रतिबन्धहरूको सामना गर्नुपरेको छ भने रुसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई गाभेको र विपक्षी नेता एलेक्सेई नाभाल्नीलाई विष दिएर जेल हालेको आरोपमा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नुपरेको छ।

व्यापार, प्रविधि र चीनले आफ्नो क्षेत्रको रूपमा दाबी गरेको ताइवान प्रति चीनको सैन्य धम्कीलाई लिएर पछिल्लो समय बेइजिङ र वाशिंगटन विवादमा छन्।  

सन् २०१४ मा क्रिमियालाई गाभेर युक्रेनको पूर्वमा पृथकतावादी विद्रोहको पछि लागेपछि अमेरिकासँगको रुसको सम्बन्ध शीतयुद्धपछिको तल्लो तहमा पुगेको छ। बिगतको समयमा मस्कोले युक्रेनको सिमानामा हजारौं सेना तैनाथ गरेपछि तनाव फेरि सुरु भएको छ। रसियाको यस्तो क्रियाकलापले गर्दा युक्रेन र पश्चिमी मुलुकहरुले रुसले नयाँ आक्रमणको योजनालाई संकेत गरेको दाबि गर्दै आएका छन्।

मस्कोले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको कुरा अस्वीकार गर्दै युद्धग्रस्त देशको पूर्वमा सैन्य निर्माणको दोष उल्टै युक्रेनलाई लगाउंदै आएको छ।

युक्रेनले विद्रोहीहरूद्वारा नियन्त्रित क्षेत्रहरू बल प्रयोग गरेर पुन: दाबी गर्ने प्रयास गर्न सक्ने आरोप रुसी अधिकारीहरूले लगाउने गरेका छन् र नेटोले(NATO) युक्रेनमा विस्तार वा सेना परिचालन नगर्न कानुनी रूपमा बाध्यकारी आस्वासन प्रदान गर्न पश्चिमलाई पुटिनले दबाब दिएका छन्।

प्रकाशित मिति: : 2021-12-16 07:57:00

प्रतिकृया दिनुहोस्