कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्दै, निक्षेप ३५ र कर्जा ४१ प्रतिशतले वृद्धि

File Photo
File Photo

बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेपछि कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा कर्णाली प्रदेशभित्र निक्षेप संकलन र कर्जा लगानी उच्च दरमा वृद्धि भएको भेटिएको छ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप ३५ दशमलव ९१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो निक्षेप ३३ दशमलव ८४ प्रतिशतले वृद्धि भई ४२ अर्ब १० करोड २६ लाख पुगेको थियो।

प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ्ग सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको प्रतिवदनले औल्याएको छ।

यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा कर्णाली प्रदेशमा कर्जा प्रवाह पनि ४१ दशमलव २२ प्रतिशतले बढेर ५१ अर्ब ३३ करोड १८ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२ दशमलव २४ प्रतिशतले बढेर ३६ अर्ब ३४ करोड ९२ लाख पुगेको थियो।

कोरोना संक्रमणको प्रभाव न्यून भए पनि अर्थतन्त्र चलायमान हुँदै गएकोले कर्जा विस्तारमा वृद्धि भएको र सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा सुविधा तथा मौद्रिक नीतिले प्रदान गरेका अन्य विभिन्न छुट तथा सुविधाहरुले पनि कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ।

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाका ४१२ शाखा रहेका छन्। त्यसमध्ये वाणिज्य बैंकका १९२, विकास बैंकका १७, वित्त कम्पनीका तीन र लघु वित्त वित्तीय संस्थाका २०० शाखा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-12-15 16:27:00

प्रतिकृया दिनुहोस्