सर्वप्रथम म कर्णालीका ती लाखौँलाख आमाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु जो प्रसूति उपचार हुन नसकेर कारुणिक रूपमा यो भूमिमा जीवन गुमाउन पुगे र राज्यले सबैभन्दा बढी मातृ मृत्यु दर यो भूगोलमा अङ्कित गर्यो।
म ती लाखौँलाख अबोध बालबालिकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु जो उपचारको अभावमा मृत्युवरण गर्न पुगे र संसारकै सबैभन्दा बढी बाल मृत्युदर हुने मुलुकहरूको लहरमा यो भूगोल अङ्कित भयो।
म ती दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु जो सामान्य उपचारको समेत कमीले अकाल मृत्युका शिकार भए र सरकारी आँकडामा काठमाडौं बस्ने व्यक्तिको औसत आयु ७५ माथि तर कर्णालीबासीको औसत आयु ६० वर्ष हाराहारी हुने आजसम्मको परिवेशले यहाँका बासिन्दाको बाँच्ने अधिकार समेत गुमेको अवस्था हालसम्म विद्यमान रह्यो।
म ती ज्ञात–अज्ञात शहीदहरू प्रति पनि श्रद्दाञ्जलि व्यक्त गर्दछु जसको राजनैतिक संघर्ष र त्यागले देशमा एकात्मक राज्यसत्ताको अन्त्य भयो र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो जनकल्याण गर्ने संस्थाको स्थापना गर्ने वातावरण बन्यो।
त्यस्तै, प्रतिष्ठानको सेवा प्रवेश गर्ने पहिलो विशेषज्ञ रही प्रतिष्ठानको सेवा गर्ने क्रममा हवाई यात्रा गर्दा जीवन गुमाउने डा. विकल्प पोखरेलप्रति श्रद्दान्जली व्यक्त गर्न चाहन्छु, जसको काठमाडौंको सुखसुविधा त्यागेर जुम्लामा सेवा गर्ने प्रेरणाले आज कर्णाली चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्गम स्थल तथा सुगम क्षेत्रलाई चिकित्सक आवश्यक परे सहयोग गर्न सक्ने स्थलमा परिणत भयो।
पूर्वको हराभरा जिल्ला भोजपुरमा जन्मिएको र नेपालकै सबैभन्दा ठूलो प्रतिष्ठान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षभन्दा बढी समय बिताएको मलाई जुम्लामा सेवा प्रारम्भ गर्दा कर्णालीको भूगोल र सामाजिक अवस्था अकल्पनीय थियो। इमान्दारीसाथ भन्दा,सानो जहाजमा जुम्ला आउँदा र पटक पटक कर्णाली राजमार्गमा यात्रा गर्दा मेरो मनमा 'अब फेरी मेरा साना छोरीहरूसंग मेरोभेट होला कि नहोला ?' भन्नेआन्तरिक द्वन्द सिर्जना हुन्थ्यो।
जब जुम्ला आइन्थ्यो, यहाँको आवश्यकता हेर्दा र यो प्रतिष्ठानको विकास गर्ने स्थानीयहरूको तीब्र चाहना हेर्दा जीवनमा समाजलाई केही दिनुपर्ने समय यही हो जस्तो पनि लाग्दथ्यो।
मलाई याद छ, सानो घरमा चलेको २५ शैयाको अस्पताल तथा सरकारले प्रतिष्ठान स्थापना गर्न विनियोजन गरेको मात्र १७ लाख रुपैयाँसहित साधन श्रोतको चरम अभाव रहेको प्रारम्भिक अवस्थामा योजना बनाएर हामी पदाधिकारीहरू राजधानी जान्थ्यौँ र मन्त्रालयमा अनुदानको याचना गर्थ्यौं।
स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूको निरन्तर प्रतिक्रिया रहन्थ्यो, 'हैन सर,जिम्लामा प्रतिष्ठान साँच्चै बनाउने हो ? कहाँबाट मान्छे ल्याउने उपचार गर्न ? डाक्टर पढ्न कोही जुम्ला जाला र ? लु सर, योजना अलिक सानो बनाएर ल्याउनुस, जुम्लामा अरब खर्च गर्ने अवस्थामा मन्त्रालय छैन।'
यो एक पटकको भनाइ हैन, मैले र तत्कालीन उपकुलपतिले कैयौं पटक स्वास्थ्य र अर्थ मन्त्रालयमा यी र यस्तै भावका प्रतिक्रियाहरू पायौँ।
एकातिर जुम्लामा 'तत्कालीन अञ्चल अस्पतालमा धेरै कुरा नि:शुल्क हुन्थ्यो, यो प्रतिष्ठान आएपछि झन् बिग्रियो' भन्ने जनगुनासो बढ्न थाल्यो, उता राजधानीमा जुम्लामा प्रतिष्ठान बनाउन अरबौं खर्च गर्नु 'बालुवामा पानी हाल्नु' सरह हो भन्ने प्रशासक र राजनैतिक नेतृत्वको बहुमत थियो।
मलाई याद छ– संख्यामा एक अरब देखेपछि यो प्रतिष्ठानको गुरुयोजना सदाको लागि तुहिनेछ जस्तो हामीलाई लाग्यो र हामीले अहिले भएको ३०० शैयाको अस्पताल बनाउन ९९ करोडको योजना तयार गरेर प्रारम्भिक चरणमा कर्णाली सबै दलका नेतागणलाई 'कम्भिन्स' गर्यौँ।
प्रतिष्ठान बन्नुमा कर्णालीका सबै नेता र जनताको योगदान रहेकोमा दुइमत छैन तर प्रतिष्ठानको ३०० शैयाको अस्पताल निर्माण योजना लागू गर्न माननीयहरू– नरेश भण्डारी, बलबहादुर महत, ललितजंग शाही, पूर्वमन्त्री शक्ति बस्नेत र पूर्वमन्त्री सत्य पहाडीले राजधानीमा र दिनबन्धु श्रेष्ठज्यू, गजेन्द्र महत, डिल्ली काफ्लेजलगायत सबै राजनैतिक दलका नेतृत्वले स्थानीय स्तरमा गर्नुभएको नि:स्वार्थ सहयोगको कारण नै प्रतिष्ठानका योजनाहरू अघि बढ्न सम्भव भएको मेरो बुझाइ छ।
प्रतिष्ठान योजना स्वीकृत गराउने क्रममै तत्कालिन स्वास्थ्यमंत्री खगराज अधिकारीलाई सहमत गराउनु अत्यावश्यक रहँदा प्रतिष्ठानका वर्तमान उपकुलपति डा. मङ्गल रावल र मैले उहाँको निवासमै गएर गरेको एक पटकको लामो छलफलबाटै उहाँलाई सहमत गराउन सफल भयौँ।प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. पारसकुमार आचार्यको सबल नेतृत्व तथा तत्कालिनमुख्य सचिव लीलामणि पौडेल र अर्थमन्त्री रामशरण महतको समेत प्रथम गुरुयोजना स्वीकृत गराउन रहेको अमूल्य योगदानलाई म स्मरण गर्न चाहन्छु।
यस अभियानमा मैले पटक–पटक डा. गोविन्द के.सी.लाई भेट गरी साथ दिन अनुरोध गर्दा हाम्रो मुद्दा उहाँको प्राथमिकतामा नपरेको तर ३०० शैयाको अस्पताल बनेपश्चात् उहाँ स्वयम् जुम्ला आएर एमबीबीएस अध्यापन स्वीकृतिको निमित्त माग गरेको समाचार सुन्दा मलाई गर्व लाग्यो।साथमा, प्रतिष्ठान यहाँसम्म आइपुग्नुमा प्रतिष्ठान स्थापनार्थ बनेको नागरिक स्तरको दबाब समिति र कर्णालीका पत्रकारमित्रहरूको प्रतिष्ठानको गुरुयोजना स्वीकृत गराउनेसम्बन्धी आवाजको समेत ठूलो भूमिका म देख्दछु।
महामहिम राष्ट्रपति, स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीसमेत सम्मिलित यो ऐतिहासिक कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सम्बन्धमा एउटा गम्भीर मुद्दा उठाउन चाहन्छु। देशको सबैभन्दा जेठो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सबैभन्दा कान्छो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आज किन अस्थिर छन् ?
किन यी प्रतिष्ठानहरूमा अपेक्षित विकास र स्थिरता हुन सकेको छैन ? यसको वस्तुगत उत्तर खोजेर समाधानको निमित्त स्पष्ट गोरेटो नकोरेसम्म कर्णालीलगायत कुनै पनि प्रतिष्ठानहरूबाट हामीले सोचेको प्रतिफल पाउन सम्भव छैन।
मलाई लाग्दछ, जब राजनैतिक नेतृत्वको पार्टीगत स्वार्थ जोडिन्छ, नेतृत्वले आफ्नो झण्डा बोक्ने पदाधिकारी खोज्छ, नयाँ नियुक्तिमा राम्रा भन्दा हाम्रा खोजिन्छ, बहालवालालाई हटाएर आफ्ना ल्याउन खोजिन्छ। अनि आफ्ना भनिएकाले अनैतिक कार्य गरे पनि क्षमायोग्य बनाइन्छ, तब अव्यवस्था शुरु हुन्छ।
नेतृत्व इमान्दार हुँदा कम्युनिष्ट देश चीन, पूँजीवादी देश अमेरिका र राजावादी देश साउदी अरेबियालाई प्रणालीले रोक्दो रहेनछ। राजनैतिक नेतृत्वले हस्तक्षेप नगर्दा भारत जस्तो देशमा एआईआईएमएस, पीजीआई, एसजीपीजीआईजस्ता संसारमा ख्याति कमाउने संस्था पनि बन्ने रहेछन्। प्रतिष्ठानहरू स्थापना मात्र गरेर हुँदैन, प्रतिष्ठानहरूलाई विकाश र विस्तार गर्न सरकारकोस्थिर भूमिका पनि हुनु आवश्यक छ।
'यदि झण्डा नबोकी अवसर नपाउने हो भने, किन विरामी उपचारमा समय खेर फाल्ने ? यदि पैसा नबुझाई नियुक्ति नहुने हो भने, किनदुर्गम र कर्णाली बसेर सेवा गर्ने ? मन्त्रालयको नेतृत्व परिवर्तन हुनेबित्तिकै जिम्मेवारी खोसिने हो भने किन इमान्दार बन्ने ?' भन्ने जस्ता घातक भावना प्रतिष्ठानहरूको नेतृत्व गर्न सक्षम् र योग्य चिकित्सक र अन्य स्वास्थ्यकर्मीमा नपलाओस् भनेर सरकारको नेतृत्व गर्ने नेतागणहरूले सजग हुनैपर्ने अवस्था छ। यो नै प्रतिष्ठानहरूको स्थिरता र विकासको पहिलो कडी बन्ने म देख्दछु।
साथमा, सबै प्रतिष्ठानहरूको ऐन र नियमावालीहरूको समसामयिक परिमार्जन गर्नु, प्रतिष्ठानहरूलाई आत्मनिर्भर बनाउनै नसकिने प्रावधानहरू हटाउने गरी चिकित्सा शिक्षा ऐनको परिमार्जन गर्नु, सबै प्रतिष्ठानहरूको सहकार्यको साझा संयन्त्र निर्माण गर्नु तथा कुलपति र सहकुलपतिको कार्यालयमा प्रतिष्ठानहरूसँग स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा निरन्तर सहकार्य गर्न प्रतिष्ठानहरूकै नेतृत्व अनुभव भएका व्यक्ति सम्मिलित संयन्त्र तत्काल निर्माण गर्नु अत्यन्त जरूरी देखिन्छ।
(प्राध्यापक डा. लम्साल हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका पूर्वरजिष्ट्रार लम्सालले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिष्ठानको भवन तथा एमबीबीएस कक्षाको शुभारम्भ समारोहलाई गर्नुभएको सम्बोधनको सम्पादित अंश ।) shyamlamsal001@yahoo.com