कांग्रेसको चौधौँ महाधिवेशनको नेतृत्व चयनसम्म पुग्दा युवानेता गगन थापा आफ्नो पहिलेदेखिको अडानबाट टसको मस नभई आदर्श जोगाउन सफल भएका छन्। यदि कांग्रेसका महाधिवेशन प्रतिनिधि विवेकशील रहे भने महामन्त्रीमा उनी सर्वाधिक मत पाएर निर्वाचित हुने छन्।
सो पार्टीको दोस्रो पुस्ताका नेताहरू प्रकाशमान सिंह, सुजाता कोइरालादेखि तेस्रो पुस्ताका विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेलसम्मले पदको पछाडि दौडदा आफ्नो आदर्शलाई कुल्चिएका छन्। विगतमा जे–जे भन्दै र गर्दै आए, व्यवहारमा ती सबैको खण्डन गरेका छन्। आफ्नै भनाइविपरीतको व्यवहार गरेका छन्।
सभापतिमा शेरबहादुर देउवालाई चुनौती दिने नेता शेखर कोइरालाले आफ्नो राजनीतिक उचाइ निर्माण गरे, देउवाविरुद्ध उम्मेद्वारी दिएर आफ्नै समूहको अन्तर्घातका बाबजुद ठूलो मतका साथ उनलाई चुनौती दिए। उनी कांग्रेसका ‘आदर्श नेता’ हरूको अगुवा बन्न सफल भए।
कोइराला परिवारको ‘विरासत’ मा आएका भए पनि उनले आफूलाई निकै निखारेका छन्। यस पटकको प्रतिस्पर्धाले उनको राजनीतिक उचाइ बढाएको छ।
शेखरभन्दा ठीकविपरीत अवस्था देखियो – प्रकाशमान सिंहको। साढे तीन वर्षअघि संसदीय दलको नेतामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर बनाएको शीर्षनेताको छवि समाप्त पारेका छन्। अन्नतः सभापतिको दोस्रो चुनावमा देउवामै विलीन भएर आफ्नो पहिलो वरियताको नेताको चिनारी पनि समाप्त पारेका छन्।
प्रकाशमान सिंह ‘संस्थापन इतर समूह’ का नेता भनेर चिनिन्थे। उनी सभापति देउवाका कटु आलोचक थिए। अन्तिम समयसम्म शेखरलाई पछि हटाएर आफू उम्मेद्वार बन्ने प्रयासमा रहेका उनले पहिलो चरणको चुनावमा अत्यन्तै कमजोर उपस्थिति देखाए। शेखरले देउवालाई ‘नेक टु नेक’ चुनौती दिँदा सिंह भने विमलेन्द्र निधीसँग प्रतिस्पर्धा गरेर बसिरहेका थिए।
मत गणनाअघिसम्म पनि पहिलो चरणमै आफू निर्वाचित हुने दाबी गरिरहेका थिए– प्रकाशमान। उनको दाबी र प्राप्त मत हेर्दा प्रष्ट भन्न सकिन्छ– उनी कत्तिको दूरदृष्टि राख्दा रहेछन् भनेर।
उम्मेदवारी चयनको वार्तामा रामचन्द्र पौडेलका लागि छाड्न शेखर तयार भए, सशांकले छाडे तर प्रकाशमान छाड्न तयार भएनन्। सशांकले दाबी छाडे। प्रकाशमानले पनि छाडेको भए पौडेल एक्ला उम्मेद्वार हुने थिए।
०४६ सालको आन्दोलनका कमाण्डर गणेशमान सिंह अडानका नेता थिए तर त्यही विरासत दाबी गर्दै देउवाविरुद्ध उठेका उनले ‘स्वार्थ’ का लागि देउवासँग सम्झौता गरे। अघिल्लो दिनसम्म नेतृत्व परिवर्तनको वकालत गर्ने उनी देउवाको पक्षमा लागे।
उनले सभापति उठ्दा पनि गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता र देउवाका सबै गलत कामको पाँच वर्षसम्म वचाऊ गर्ने विश्वप्रकाशलाई महामन्त्री उठाएका थिए।
अर्का नेता विमलेन्द्र निधी पनि पिता महेन्द्रनारायण निधीको आदर्शलाई अघि सारेर सभापछि उठेका थिए जो पछाडिबाट दोस्रो भए। विद्यार्थी राजनीतिदेखि देउवाका प्रियपात्र रहेका उनी सभापतिमा देउवाविरुद्धै उठे। ‘कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी छ’ भनेर चुनावको दिनसम्म भन्दै आएका उनी पनि वचनमा टिकेनन्। उनी पनि दोस्रो चरणको सभापति चुनावमा देउवालाई नै समर्थन गरे।
स्व. गिरिजा कोइरालाकी सुपुत्री सुजाता कोइरालालाई कोही पनि कांग्रेसजनले सिद्धान्त वा आदर्शका आधारमा मूल्याङ्कन गर्दैन। पिता शक्तिमा आए पनि आर्जनका लागि देश फर्केकी उनले त्यसबेला निकै बद्नामी कमाएकी थिइन्। त्यसैले उनी प्रकाशमानको प्यानलबाट उठेको विषयमा कसैले प्रश्न पनि उठाउँदैन।
कांग्रेसका तेस्रो पुस्ताका दुई जना नेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको आदर्श पनि यसपटकको महाधिवेशनमा ‘स्वार्थपूर्ण (कु)तर्क’ सावित गरिदिएको छ।
सभापति देउवाको पछिल्लो पाँच वर्ष नौ महिनालामो कार्यकालमा सबैभन्दा धेरै आलोचना गर्नेमा पर्थे प्रदीप पौडेल तर पदका लागि कृष्णप्रसाद सिटौला मार्गबाट देउवाकहाँ पुगेका गरेका उनी ‘देउवा समूह’ बाट महामन्त्रीका उम्मेद्वार बने।
पौडेलले देउवा समूहका उम्मेद्वार बन्ने अपेक्षा गरिएका विश्वप्रकाश शर्मालाई प्रतिस्थापन गरिदिए। अनि शर्मा चाहिँ ‘लाइन’ नमिल्ने प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री उठे। यद्यपि, उनी महामन्त्रीका बलिया उम्मेद्वार मानिन्छन्। प्रकाशमानले देउवालाई समर्थन गर्नेबित्तिकै उनी पनि दोस्रो चुनावमा देउवाको समर्थनमा बोलेका छन्।
यसपटकको महाधिवेशनमा महेश आचार्य, मिनेन्द्र रिजालले पनि आदर्शमा अडिने नेताको छवि बनाएका छन् तर रामचन्द्र पौडेल चाहिँ घुमाएर देउवाको समर्थनमा पुगेका छन्। रामचन्द्रका लागि सभापति छाड्न तयार देखिएका शेखर कोइरालाको पक्षमा न पौडेलले भोट मागे, न आफूले भोट नै दिए।
आफूलाई शन्तनेता किशुनजी र गणेशमान सिंहआदर्श देखाउने ध्याउन्नमा लागेका पौडेलबारे हिन्दीको यो चर्चित कथन उपयुक्त हुने कांग्रेसका शेखर पक्षधर नेताहरूको भनाइ छ– 'नौ सौ चूहे खाके बिल्ली हज को चली !'
कार्यकर्ताले पुछेका नेता हाेइन रहेछन । साँडे डुक्रेकाे जसताे मात्रै गरेका रहेछन । गगन थापाले सहयाेग नगरेकाे भए त्यति मत पनि आउने थिएन रहेछ । अनि कसरी अडिग हुन्थे त ?