हुम्लाकाे सर्केगाडमा जन्मिएका डा.मंगल रावल कर्णाली क्षेत्रबाट उत्पादन भएका निकै कम डाक्टर मध्ये एक हुन। सर्केगाड हुम्ला सदरमुकाम सिमीकाेटबाट एक दिन एक भात लगाएर हिँडेपछि पुगिने ठाउँ हाे। एक दशक अगाडिसम्म त्यहाँका मान्छे ४० देखि ५० वर्षकाे उमेरमा मर्नु सामान्य कुरा हाे।
त्यहीँबाट उत्पादन भएका डाक्टर रावल हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भएका छन्। यही अवधिमा कर्णालीकाे स्वास्थ्य अवस्थामा व्यापक सुधार भएकाे छ भने ओैसत आयुमा पनि सुधार आएकाे छ।
स्वास्थ्य अवस्थाकाे दयनीय स्थिति कुर्न धेरै टाढा जानू पर्दैन। उनकाे वरिपरि घुमे मात्रै पनि पर्याप्त हुन्छ। उनका आफ्नै काका निकै कम उमेरमा बिते। त्यसबेला कम उमेरमा हुने मान्छेकाे मृत्यु धेरैका लागि सामान्य थियाे। तर, उनलाई भने अनाैठाे लागिरहेकाे थियाे। उनले पछि मात्रै बुझे त्याे एक दीर्घ राेग थियाे।
उनी डाक्टर भइसकेपछि थाहा पाए उपचार समयमै गर्न सकिएमा ९० प्रतिशतभन्दा बढी राेग पूर्णरुपमा निकाे हुने रहेछन् भन्ने कुरा। उनका काका त्यसरी उपचार नपाएरै बितेका रहेछन्।
त्यसबेला हुम्लामा गुरा, मष्ट र महादेव नामका देउता बसालेर हेराउने चलन थियाे। बिरामी परेका मान्छे बाँचे भने उसका देउता कडा भएका र मर्याे भने देउता रिसाएकाे वा भूतप्रेत लागेकाे भन्ने गरिन्थ्यो।
त्यसबेला सर्केघाड वरिपरिका गाउँमा झाडा पखाला फैलिरहन्थ्याे। झाडा पखालाबाट मान्छे मर्नु स्वभाविक थियाे। जुन गाउँका मान्छे कम मरे ती गाउँका देउता बलिया भएकाे प्रचार हुन्थ्याे।
यसरी झाडापखालाबाट मान्छे मर्नुकाे कारण सफा पानी नहुनु थियाे। सर्केगाडकाे धमिलाे पानी खानुपर्ने बाध्यता थियोे। तर, पानी उमालेर खानुपर्छ भन्ने चेतना थिएन।
पछि उनी डाक्टर पढ्दै गर्दा र डाक्टर हुँदा समेत उनकी आमा बिरामी परिरहन्थिन्। त्यसबेलाका उनका तिता अनुभूति धुरै छन्, त्यसमध्येकाे एक हाे उनकी आमाकाे उपचारकाे कथा।
'आमालाई तीन पटक हेलिकप्टरबाट बाहिर लगेर उपचार गर्नुपर्याे। दमकाे कारणले उहाँलाई अप्ठेराे परिरहन्थ्याे,' उनले भने, 'घरमा पहुनाहरुकाे फ्लाे बढी नै हुन्थ्यो। धुँवामा खाना पकाएउनुपर्ने भएकाले उहाँ दमकाे राेगी हुनुभयाे। हामीले उपचार गर्न सक्याै। सामान्य मान्छेले यति धेरै खर्च गरेर उपचार गराउन सम्भव थिएन।'
हुम्लाकाे स्वास्थ्य अवस्था निकै कमजोर छ। तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्लामा धेरै पटक स्वास्थ्य शिविर संचालन गरेकाे छ। हुम्ला मात्रै हाेइन देशका सबै क्षेत्रमा प्रतिष्ठानले स्वास्थ्य शिविर संचालन गरिरहेकाे छ।
कर्णाली प्रतिष्ठान स्थापनाकाे याे एक दशकमा अहिले त्याे कर्णालीमा इतिहास बनिसकेकाे छ। अहिले जहाँ प्रकाेप फैलिन्छ त्यहाँ प्रतिष्ठान पुगेकाे छ। प्रतिष्ठानका डाक्टरहरु खटिएका हुन्छन्।
गाउँगाउँमा स्वास्थ्य सेवा विस्तार भएसँगै धामीझाँक्रीकाे प्रभाव अहिले निकै कम छ। लामाे समयदेखि एनजीओ र आइएनजीओकाे सक्रियता बढिरहेकाे थियाे। उनीहरुले धामी झाक्रीलाई पनि तालिम दिने काम गरे। पछि धामीहरुले पनि बिरामी अस्पताल पठाउन थाले।
उपकुलपति डा.रावले आफ्नै विषय र त्यससँग जाेडिएका परम्परागत उपचार पद्धतिबारे आफ्नाे अनुभव यसरी सुनाए,'म अर्थाेपेडिक डाक्टर हुँ। हामीले हड्डी भाचिएकाे, चर्किएकाे, त्यसका केही समस्या आएकाे एक्सरे गरेपछि मात्रै थाहा हुन्छ,' उनले भने, 'तर गाउँघरमा काप्रा लगाउँने मान्छे डाक्टर हाे। उनीहरुले नाडी छामी भाचिएकाे छ भनेर कसेर बाँधिदिँदा त्यसले कति बिरामीकाे हात काटेर फाल्नुपर्ने अवस्था पनि आउँथ्याे। यी घटना आजभोलि बिरलै देखिन्छन्। याे प्रतिष्ठानकाे देन हाे।'
हाल कर्णाली क्षेत्रभरीबाट उपचार गराउन प्रतिष्ठान आउने बिरामी २४ घण्टा नवित्दै विशेषज्ञ सुविधा पाइरहेका छन्। सिधै विशेषज्ञ डाक्टरकाे सेवा कर्णालीका नागरिकले पाउनु गाैरवकाे विषय भएकाे उपकुलपति डा.रावलले बताए।
अहिले प्रतिष्ठानमा देशभर नभएकाे दुर्लभ जनशक्ति छ। न्युराे सर्जन, अति राम्रा छाति राेग विशेषज्ञ भएपनि उपकरण अभावका कारण उनीहरुकाे दक्षता उपभाेग गर्न नसकिएको उनले बताए। 'हामीसँग देशभर अभाव भएका क्रिटिकल केयरकाे डाक्टर हुनुहुन्छ। जाे हाम्राे पनि गाैरवकाे विषय हाे।'
अब कर्णाली डाक्टर उत्पादनका लागि तयार छ। देशका १८ जिल्लाबाट विद्यार्थी चिकित्सा विज्ञान अन्तर्गत स्नातक तह र स्नातकोत्तर तहकाे अध्ययनका लागि आएका छन्।
'अहिले चिकित्सा शिक्षा आयाेगले प्रवेश परीक्षा लिएर विद्यार्थी पढ्नकाे लागि पठाउने गरेकाे छ। तर, याे चिकित्सा शिक्षा ऐनले हाम्राे प्रतिष्ठानका ऐनलाई सक्रिय रहनबाट राेकेकाे छ,' उपकुलपति रावलले भने, 'प्रतिष्ठानकाे ऐनमा ४५ प्रतिशत कर्णालीका नागरिकले पढ्न पाउने व्यवस्था गरेकाे छ। तर, चिकित्सा शिक्षा ऐनले याे प्रावधान लागू गर्न राेकेकाे छ। हामी हाम्राे ऐन सक्रिय बनाएर कर्णालीका नागरिकले बढीभन्दा बढी लाभ लिन सक्ने बनाउन क्रियाशील रहनेछाैं।'
महत्त्वपूर्ण कुरा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलाे वर्षमै उल्लेख्य उपलब्धि हासिल गरेकाे छ। अहिले अन्य प्रतिष्ठानमा धेरै सिटमा विद्यार्थी भर्ना भइनसकेको अवस्थामा कर्णालीले एमबीबीएस अध्यापनकाे लागि अनुमति पाएकाे २० सिटमध्ये १९ सिटमा विद्यार्थी भर्ना भइसकेका छन्।
स्थापनाकाे १० वर्षमा २० जना विद्यार्थी भर्ना गर्न सफल कर्णाली निकट भविष्यमा स्वास्थ्य शिक्षाकाे हव बन्ने दिशामा अग्रसर छ। अबकाे याेजना भनेकाे ५० जना डाक्टर एकै वर्षमा उत्पादन गर्ने लक्ष्य लिएर आफूहरु अगाडि बढेकाे उनले बताए।
'अबको साडे पाँच वर्षकाे अवधिमा कर्णालीबाट उत्पादित डाक्टर देशदर सेवाका लागि जानेछन्। याे हिजाे खनेकाे जगकाे परिणाम हाे,' उनले भने, 'याे सेवा मुलक संस्था हाे। त्यसैले पनि विद्यार्थीकाे आकर्षककाे केन्द्र कर्णाली बन्नेछ। राम्राे व्यवस्थापन हुन सकेकाे खण्डमा याे एक अन्तर्राष्ट्रिय स्तरमा नाम चलेकाे संस्था बन्नेमा दुईमत छैन।'
हिजाेसम्म कर्णालीमा डाक्टर पढाइ गर्न सम्भव हुने कि नहुने भन्नेमा नेस्नल लेभलमा डिस्काेर्स नै भएकाे थियाे। कर्णालीमा डाक्टर पढाइ असम्भव भन्नेलाई आज मुखभरीकाे जवाफ मिलेकाे कर्णालीका नागरिकले बताइरहेका छन्।
तमाम सकारात्मक कदमका बीचमा चिकित्सकहरुलाई पेशागत रुपमा काम गर्नकाे लागि केही कठिनाइ पनि छन्। 'राज्यबाट भूगाेल जति टाढा भयाे त्यति बढी राजनीतिक संकिर्णता बढ्ने रहेछन्। याे हाम्रो लागि ठूलाे समस्या हाे,' उनले भने, 'तर यी समस्या पनि विस्तारै समाधान हुँदै जानेछन्। राजनीतिक पार्टी साेधेर गर्ने व्यवहार परिवर्तन हुनेछ।'
हिजाेका दिनमा विशेषज्ञ चिकित्सकलाई नमस्कार गरेर ल्याउनुपर्ने बाध्यता भएको कर्णालीमा अहिले नाम चलेका प्राध्यापकहरु आफै आउने वातावरण तयार हुनु गाैरवकाे विषय हाे। हाल प्रतिष्ठानमा ८५ जना विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन्।