अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन्। २४८ मत पाएका अमरेश भने पराजित भएका छन्।

यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्।

त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन्। प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन्।

अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि अधिवेशन हुन सकेको थिएन। 

सर्लाही १ र ४ मा मंगलबार सम्पन्न भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ। क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ।

प्रकाशित मिति: : 2021-12-08 09:09:00

प्रतिकृया दिनुहोस्