कम्बोडियाका शक्तिशाली नेता हुन सेनले युद्धग्रस्त म्यान्मारको भ्रमण गर्ने

बिएल संवाददाता

रंगुन, म्यान्मार

कम्बोडियाका शक्तिशाली नेता हुन सेनले द्वन्द्वग्रस्त म्यान्मारको भ्रमण गर्ने भएका छन्। झण्डै तीस वर्षदेखि एकछत्र शासन गर्दै आएका हुन सेनले सैन्य शासन लागू भएको म्यान्मारको भ्रमण गर्न लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कम्बोडियाका प्रधानमन्त्री समेत रहेका हुन सेनले आगामी जनवरीमा म्यान्मारको भ्रमण गर्ने तय भएको उनका प्रवक्ताले मंगलबार जानकारी दिएका छन्।

म्यान्मारमा सेनाले सत्ता कब्जा गरेपछि विदेशी नेताको यो नै पहिलो भ्रमण हुने भएको छ। म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा देशका शिर्ष नेता तथा उच्च अधिकारीहरुलाई बन्धक बनाउँदै सत्ता नियन्त्रणमा लिएको थियो।

पूर्व सैन्य कमाण्डर हुन सेनले सन् १९८५ देखि कम्बोडियामा शासन गर्दैआएका छन्। उनी विश्वमै सवैभन्दा लामो समय शासन गर्ने नेतामा पर्छन्। अन्य धेरै देशहरुले सहयोग र सहकार्य बन्द गरेको म्यान्मारसँग हुन सेनले सहकार्य बढाउन भ्रमण गर्न लागेको प्रवक्ताको भनाई छ।

'म्यान्मार सैन्य जुन्ता सरकारसँग सँगसँगै काम गर्ने योजनाका साथ उनले भ्रमण गर्न लागेका हुन्,' हुन सेनका प्रवक्ताले भने। संसार भरीबाट सैन्य शासनको विरोध भइरहेको बेला त्यही देशको भ्रमण गर्ने र त्यही शासकसँग सहकार्य गर्ने हुन सेनको योजनालाई कुटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ।

म्यान्मारका सैनिक विदेश मन्त्री वुन्ना मौङले मंगलबार नोमपेन्हमा हुन सेनसँग भेटवार्ता गर्दा म्यान्मार भ्रमणको विषयमा छलफल भएको बताएका छन्।

भेटवार्ताका क्रममा म्यान्मारका विदेश मन्त्रीले हुन सेनलाई म्यान्मार भ्रमणका लागि औपचारिक रुपमा निमन्त्रणा गरेका थिए। उनको भ्रमण जनवरी ७ देखि ८ सम्म हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-12-08 05:42:00

प्रतिकृया दिनुहोस्