बहुदलीय व्यवस्थामा राजनीतिक दलको सिद्धान्त साझा सम्पत्ति हो। दलहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भावी कार्यदिशा मानिन्छ। विश्वव्यापी प्रजातन्त्रमा आएको सङ्कट, सिद्धान्तमा ल्याइने नयाँपन र वैश्विक रूपमा आएका नयाँ प्रचलनको अनुसरण कसरी गर्ने भन्ने विषयलाई दलहरूले महाधिवेशनबाट दस्तावेजका रूपमा लिपिबद्ध गर्छन्। अघिल्लो महाधिवेशनमा उठेका एजेन्डा, तिनको समाधानमा खेलिएका भूमिका र भावी कार्यदिशा के हुने भन्ने विषय उठाई त्यसको समीक्षा गर्ने पनि महाधिवेशनमै हो।
आन्तरिक बहस र बन्दसत्रमा आफ्ना अतीतका कर्मका बारेमा निर्मम शल्यक्रिया पनि महाधिवेशनले गर्न सक्नुपर्छ। शल्यक्रियामा अनावश्यक अङ्ग भए त्यसलाई हटाएर नयाँ प्रत्यारोपण गर्न सक्नुपर्छ । उत्पादनशील, सिर्जनशील र सक्रिय कार्यकर्ता भएको दलका रूपमा पार्टीलाई रूपान्तरण गर्न महाधिवेशन कोशेढुङ्गा साबित हुनुपर्छ।
सत्ताधारी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र आफ्ना महाधिवेशनको तयारीमा छन्। सत्ताधारी प्रमुख घटक कांँग्रेसको घोषित सिद्धान्त नै सामाजिक प्रजातन्त्रप्रतिको अविचल आस्था हो। कांँग्रेसले बीपीको सिद्धान्तअनुसार नै प्रजातान्त्रिक समाजवादलाई अँगाल्दै आएको छ। १४औँ महाधिवेशनलाई निर्वाचन प्रयोजनका लागि मात्र प्रयोग गर्ने भन्ने तयारीले कार्यकर्ता तथा नेताहरूमा अन्योल उत्पन्न भएको छ। महाधिवेशनले नेतृत्व परिवर्तनभन्दा दलको भावी नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ।