नेतृत्वले सोच अनि नागरिकले कर्म बदलेर मात्र राष्ट्रियताको मर्म प्रवर्द्धन हुन्छ।
राष्ट्रियताको व्यापक बहसले बेलाबखत हाम्रो पूरै समाजलाई तरंगित बनाइदिन्छ। राजनीतिदेखि नागरिकबाट समेत अपारस्परिक अवधारणाहरू आउँछन्। गनिएका समाजशास्त्रीहरूले राष्ट्रियतालाई अंग्रेजी शब्द ‘नेसनालिटी’को अनुवादका रूपमा बुझाउँदा समस्या झन् गहिरिँदैछ। ‘बाबुआमाको सेवा गर्नु सन्तानको धर्म हो’ को अनुवाद ‘सर्भिङ द प्यारेन्ट्स इज चिल्ड्रेन्स् रिलिजन’ हुन सक्दैन। पूर्वीय दर्शनमा धर्मलाई कोरा परम्परा (रिचुअल)सँग नभै दायित्व (डियुटी)सँग जोडिन्छ। यहाँ सन्तति र अभिभावकबीच औपचारिक नभै अद्वितीय आत्मीय सम्बन्ध रहन्छ। हामीले गहना ठान्ने सन्तानलाई पश्चिमाहरू बोझ मान्छन्।
आजकल अघिकांश उनीहरू परिवारप्रति नकारात्मक छन्। विवाह गर्दैनन्, गर्नेहरू पनि बच्चा जन्माउँदैनन्, भ्रूणहत्या गर्छन्, थुप्रैले सरोगेसी गर्छन्। जन्माउनेले पनि आफूले होइन, भाडाका मानिसबाट स्याहार गराउँछन्।
बच्चाले बाबुआमाको स्नेह र आलिंगन पाएको हुँदैन, बच्चाले पनि बाबुआमालाई सेवा गर्नुपर्ने कर्तव्य ठान्दैन। बाबुआमाको सेवा उनीहरूलाई औपचारिकता मात्र हो, हामीलाई दायित्व, तसर्थ हामीमा धर्मको भाव फरक छ। बुद्घको ‘धम्म’ र प्राचीन दार्शनिक मनुको ‘राजधर्म’का सिद्घान्तहरूले यसलाई प्रस्ट्याउँछ। ‘ट्रान्सलेसन अर मिसट्रान्सलेसन’ नामक लेखमा निराद सी चौधरी भन्छन्, ‘अनुवादले भावनासँगै व्यावहारिक समानता नबोकेमा त्यो घातक र बेअर्थको हुन्छ’। ‘नेसनालिटी’को भाषिक अनुवादलाई राष्ट्रियता सम्झनु समस्याको पहिलो जड हो।