‘अविछिन्न’ ओली उदयका अर्थ

आयोमेल

काठमाडौँ

केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। सर्वसम्मत हुने ओली आकांक्षालाई भीम रावलले चुनौती दिएपछि भएको निर्वाचनमा उनी सुविधाजनक मत ल्याएर अध्यक्ष बने। तर उनले यस्तो अवस्थामा दोस्रो कार्यकाल सम्हालेका छन्, जतिबेला उनका लामो समयदेखिका सहयात्री र पार्टीलाई नेतृत्व दिइसकेका शीर्षनेताहरु माधव नेपाल र झलनाथ खनाल एमालेमै छैनन्।

भीम रावल र घनश्याम भूसालले ओलीको एकाधिकारविरुद्ध खुल्ला रुपमा चुनौती दिए पनि उनीहरु पदाधिकारी निर्वाचनमा पराजित भइसकेका छन्। अर्थात्, ओलीलाई चुनौती दिने समूह अब एमालेमा छैन। यसहिसाबले अबको दोस्रो कार्यकालमा एमालेभित्र उनको एकछत्र राज चल्नेछ। र, आफूविरुद्ध आवाज उठाउनेहरुप्रति उनी अझ कठोर हुनसक्नेछन्।

अब ओलीले जे चाह्यो त्यही हुने स्थिति सिर्जना भएको छ। कारण पार्टीका अधिकांश पदहरुमा उनकै ‘कोर टिम’ छ । वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल छन्। महासचिवमा उनले उत्तराधिकारीकै रुपमा अगाडि सारिएका शंकर पोखरेल छन् भने उपाध्यक्षमा विष्णु पौडेल, सुवास नेम्वाङहरु छन्। अबका दिनमा ओलीका विरुद्ध सम्भवतः कुनै आवाज निस्कने पनि छैनन् र भीम रावल, घनश्याम भुसालले जसरी ‘नोट अफ डिसेन्ट’ राख्ने कोही निस्कने छैनन्।

प्रकाशित मिति: : 2021-12-01 07:17:00

प्रतिकृया दिनुहोस्