जाजरकोट बस दुर्घटना : घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगियो 

नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। कुशे-९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ। २९ जना घाइतेको उद्धार गरिएको थियो।

बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो।

दुर्घटनामा बेहोस भएका उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ। तीन जनाको अहिलेसम्म होस खुल्न सकेको छैन। कुशे-९ जाजरकोटका देवीसरा नेपाली, उनका श्रीमान् वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको हो। श्रीमान-श्रीमती दुवैको अवस्था चिन्ताजनक छ।

त्यस्तै, नलगाड-४ कि आस्था वलीको अवस्था पनि गम्भीर छ। उनलाई पनि नेपालगञ्ज लगिएको छ। आठविसकोट-५ का शरद शाही र आठवीसकोट-४ रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको हो।

उनीहरू सबैको अवस्था गम्भीर छ। त्यस्तै बिपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ। पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन्। नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। एक जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-28 20:22:00

प्रतिकृया दिनुहोस्