रूसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना श्रमिकको निसास्सिएर मृत्यु, तीन दिन शोक मनाइने

रूसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन्। 

लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो। 

घटनामा ४९ श्रमिक घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। 

खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ। करिब ३०० श्रमिकले काम गरिरहेको खानीमा आगलागी भएपछि धेरै श्रमिक भागेर ज्यान बचाउन सफल भएका बताइएको छ। खानीबाट करिब ५० जनालाई जीवितै उद्धार गरिएको छ भने उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

रुसमा पछिल्लो एक दशकमा भएको खानी दूर्घटनामा यो नै ठूलो मानवीय क्षति हो। मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुनसक्ने भन्दैे उद्धार कार्य रोकिएको छ। पीडितका आफन्तहरू उद्धार कार्यलाई सशक्त नपारिएको भन्दै प्रशासनप्रति आक्रोशित बनेका छन्।  

खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनास्थल रूसी राजधानी मस्कोबाट तीन हजार ५०० किलोमिटर टाढा केमेरोभो क्षेत्रमा पर्छ। 

प्रकाशित मिति: : 2021-11-26 21:38:00

प्रतिकृया दिनुहोस्