न्यूरोडको दुःख : बजार भरिभराउ, व्यापार शून्य (भिडियो रिपोर्ट)

प्रमिला घिसिङ

काठमाडाैँ

चिसो बढेसँगै न्यूरोड क्षेत्रमा चहलपहल निकै बढेको छ। मानिसको चहलपहल देख्दा त लाग्छ– न्यूरोड क्षेत्रको व्यापारमा वृद्धि हुनुपर्ने हो तर त्यस्तो छैन।

न्यूरोड क्षेत्रमा सामानको भाउ बुझ्न आउँछन् तर सामान किन्नेहरुको कारण न्यूरोडका व्यापारीहरु हैरान हुनेगरेका छन्। 

न्यूरोड क्षेत्रका खिचापोखरी, महाबौद्ध, ईन्द्रचोक, जनबहाल, असन लगायतका क्षेत्रमा हिजोआज दिउँसो त खुट्टा टेक्ने ठाउँ हुँदैन। भीडभाडलाई देख्दा लाग्छ– न्यूरोड क्षेत्रको व्यापार निकै राम्रो हुनुपर्ने हो तर त्यस्तो छैन।
मानिसको भीड जति भए पनि व्यापारीहरु फुर्सदिला देखिन्छन्। 
पसलमा किन्नेभन्दा पनि मोलमोलाई गर्न आउने गरेको व्यापारीको दुःखेसो छ। न्यूरोड घुम्न आउने र बजारभाउ बुझेर जानेहरु धेरै हुन थाले जसका कारण न्युरोडमा भीडभाड हुनेगरेको छ। 

व्यापारीहरुका अनुसार, गत वर्ष यही समयमा न्युरोड क्षेत्रका व्यापारीले राम्रै व्यापार गरेका थिए। कोरोना महामारीका बीच पनि दैनिक लाखभन्दा बढी कमाइ गर्ने व्यापारीको आम्दानी विगतको तुलनामा शून्यमा झरेको छ।

‘हेर्दा यहाँ इन्द्रचोकदेखि असनसम्म भीड नै देखिन्छ तर यो केवल देखाउने मात्र भीड हो, व्यापार छैन,’ लत्ताकपडा व्यापारी रमेश घिमिरेले बताए। 
‘अघिल्लो वर्षको तुलनामा चहलपहल बढेको छ तर नयाँ आएका सामानहरु महङ्गो भएर आएको छ। त्यस कारण मानिसको भिड छ व्यापार छैन’, उनले भने, ‘डलरको भाउ बढ्यो। केरुङ, चाइनाबाट सामान समयमा बजार आइपुग्न नसक्दा बजार महँगिएको छ।’
व्यवसायी मञ्जु शिवाकेटीले बताइन्, ‘हामीलाई चीन प्रवेशमा रोक लगाएको छ। त्यसैले सहज रुपमा सामान आयात गर्न सकेका छैनौँ।’ न्यूरोड स्थित खासाचोकका व्यवसायी धनपति आचार्यले भने, ‘बजारमा चहलपहल बढेको छ तर महंगीले ग्राहक घटेको छ काठमाडौंमा।’

सामानहरु भन्सारमै रोकिएका छन्। आएका सामानहरु पनि अघिल्लोे वर्षको तुलनामा ७० प्रतिशत महंगी बढेर आएका कारण ग्राहक बढ्न नसकेको व्यापारीको दुःखेसो छ। 

प्रकाशित मिति: : 2021-11-25 19:04:00

प्रतिकृया दिनुहोस्