जुम्ला गुठीचाैरका चार गाउँ अन्धकारमा

File Photo
File Photo

जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ कुम्डीमा रहेको नौमूले लघु जलविद्युत् आयोजनाको विद्युत् गृहमा समस्या आउँदा चार वटा गाउँ अन्धकार भएका छन्। 

नौमूले लघु जलविद्युत्गृहमा जडान गरिएको फित्ता चुँडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले बताए। 'मंगलबारबाट उपभोक्ता अध्याँरोमा बस्न बाध्य छन्,' उनले भने, 'गुठीचौर गाउँपालिका -५ का कुम्डी, फोई, देपाल र धिता गाउँका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन्।'

विद्युत् नियमित हुन अझै १ साता लाग्ने उनले बताए। 'फित्ता ल्याउन पहल भइरहेको छ,' उनले भने, 'विद्युत्को फित्ता आउनेबित्तिकै सुरु भइहाल्छ।'

गुठीचौरभित्रका करिब ५५० घरधुरीका उपभोक्ता विद्युत्बाट लाभान्वित हुँदै आएका थिए। तर, केही दिनयतादेखि उपभोक्ताले वैकल्पिक सोलार, टुकीमारा र वनजंगलमा पाइने झर्रो बालेर उज्यालोको व्यवस्थापन गरिरहेका छन्।

फित्ता भारतबाट आउने भएकाले १ सातासम्म विद्युत् अवरोध हुने व्यवस्थापक गिरी बताउँछन्। विद्युत् अवरोध भएपछि स्थानीयलाई मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पढ्न, सरकारी कार्यालय, गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन्। 

सबैभन्दा बढी असर विद्यार्थी र रेडियो एफएमलाई परेको छ। नौमूले लघु जलविद्युत् आयोजना २०६९ मा सञ्चालनमा ल्याइएको हो।

७६ किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि गुठीचौरमा कुम्डी, फोई, देपालगाउँ र धिताको गाउँबस्तीलाई सहज भएको थियो। 

त्रिभुवन माध्यमिक विद्यालयका लेखापाल राजेन्द्र भण्डारीले विद्युत् अवरोध हुँदा विद्यार्थीलाई समस्या भइरहेको बताए। सोही विद्यालयमा अध्ययनरत विद्यार्थी देवीलाल भण्डारीले बिहान, बेलुकी पढाइमा बाधा परिरहेको सुनाए।

प्रकाशित मिति: : 2021-11-20 09:13:00

प्रतिकृया दिनुहोस्