भारत सरकारले राजधानी दिल्लीमा चरम स्तरमा पुगेको वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले आकस्मिक उपायहरू लागु गरेको छ।
प्राय: जाडो महिनामा विभिन्न कारणले दिल्लीको तुवाँलो सबैभन्दा नराम्रो अवस्थामा पुग्छ। कृषकहरूले धानका ठुटा पोल्ने परम्परा, कारखानाबाट हुने उत्सर्जन, यातायातका साधनबाट निस्किने धुवाँ, दीपावलीका अवसरमा पड्काइने पटाका आदिका कारण वायु प्रदूषण बढ्ने गरेको छ।
तर ती कुराहरूले प्रदूषणको समस्यामा कति योगदान गरेका छन् त?
ग्रीन पीसका अनुसार कोभिड रोकथामका लागि लकडाउन लगाइएको बेलामा प्रदूषणको सम्पर्कमा पुगेका कारण गत वर्ष दिल्लीमा झन्डै ५७,००० जनाको अकालमृत्यु भएको थियो।
अहिले देखिएको चरम अवस्थाका कारण दिल्लीमा अधिकारीहरूले विद्यालयहरू बन्द गर्ने, निर्माणको कार्य बन्द गराउने र कर्मचारीलाई घरैमा बसेर काम गर्ने वातावरण मिलाउन सरकारी र निजी कार्यालयलाई आदेश दिने जस्ता उपाय घोषणा गरेका छन्।
त्यसलाई आंशिक लकडाउन भनिएको छ र बीबीसीका दक्षिण एशिया क्षेत्रीय सम्पादक अनबरसन इथिराजनका भनाइमा अधिकारीहरूले प्रदूषणलाई लिएर सम्भवत: पहिलो पटक लकडाउन भन्ने शब्द प्रयोग गरेका हुन्।
सर्वोच्च अदालतले पनि केन्द्र र प्रदेश सरकारहरूलाई आकस्मिक उपायहरू अवलम्बन गर्न आदेश दिइसकेको बीबीसीले जनाएकाे छ। दिल्लीमा वायुमण्डलमा पाइने खराब तत्त्वहरू विश्व स्वास्थ्य सङ्गठनले तोकेको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै बढी छन्। तिनलाई पीएम२.५ भनेर चिनिन्छ।
केन्द्र सरकारका अनुसार कृषकहरूले बाली भित्र्याइसकेपछि खेतमा धानका ठुटा जलाउँदा प्रदूषणमा १० प्रतिशत जति योगदान गर्छ।
जाडो सुरु हुन लागेपछि दिल्ली नजिकका राज्यमा किसानहरूले धानका ठुटा र अन्य बालीका अवशेषहरू जलाउन थाल्छन्।
त्यस्तो कार्यलाई सन् २०१५ मै प्रतिबन्ध लगाइएको भए पनि कार्यान्वयन एकदमै कमजोर छ। सरकारको आफ्नै अनुगमनसम्बन्धी विवरणले कृषकले जलाउने त्यस्ता तत्त्वको प्रदूषणमा हुने योगदान दैनिक रूपमा तलमाथि पर्ने गरेको देखाउँछन्।