मैत्रीपूर्ण टी–२० क्रिकेट खेलमा नेपाली महिला टोलीले कतारलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। कतारको दोहामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको हो।
१४७ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ खेलिन्। ४७ बलमा ५ चौका हिर्काएकी इन्दुले सर्वाधिक ५५ रन बनाइन्।
यस्तै सीता राना मगरले ३९ रनको योगदान गरिन् भने सरिता मगरले २१ रन बनाइन्। नेपालकी कप्तान रुविना क्षेत्री भने २ बल खेल्दै शून्य रनमा आउट भइन्।
यता, टस जितेर बलिङ रोजेको कतारको लागि एन्जिलिनी मारे र सविजा पनायनले समान १ विकेट लिए।
विश्वकप छनोटका लागि ग्लोबल छनोट खेल्नु अघि नेपालले कतारसँग तीन टी–ट्वान्टी शृंखला खेल्न लागेको हो। नेपाल र कतारबीचको यो पहिलो मैत्रीपूर्ण खेल हो।