म्यान्मारः ११ वर्षको जेल सजाय पाएका अमेरिकी पत्रकार रिहा

बिएल संवाददाता

रंगुन, म्यान्मार
photo-AFP
photo-AFP

म्यान्मार ‘जुन्ता’ सरकारको सैन्य हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर रिहा भएका छन्।

सेनाविरुद्ध नागरिक उक्साएको र भिसा नियम उल्लंघन गरेको आरोपमा ११ वर्षको जेल सजाय पाएको तीन दिनपछि उनी रिहा भएका हुन्।

‘आउटलेट फ्रन्टियर म्यान्मार’का प्रबन्ध सम्पादक ड्यानी गोपनीयतासम्बन्धी ऐन अन्तर्गत दोषी ठहरिएका थिए। उनको गिरफ्तारीविरुद्ध विश्वभरका सञ्चार संस्थाहरूले प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्दै विरोध जनाइरहेका थिए।

सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ। सैन्य ‘कू’विरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ।

करिब एक वर्षदेखि म्यान्मारको स्थानीय ‘आउटलेट फ्रन्टियर म्यान्मार’का लागि काम गरिरहेका पत्रकार ड्यानी अमेरिका फर्किने क्रममा गत मे–महिनामा पक्राउ परेका थिए।

सैन्य सरकारले उनलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाएको थियो। आजीवन जेल सजाय दिन सक्ने अनुमान गरिएका पत्रकार ड्यानी सोमबार रिहा भएका छन्।

प्रकाशित मिति: : 2021-11-15 16:47:00

प्रतिकृया दिनुहोस्