त्रिपुराः साम्प्रदायिक हिंसा भड्काउन सघाउ पुर्‍याएकाे आराेपमा दुई पत्रकार पक्राउ

राज राेकाया

फतेहपुर, उत्तर–प्रदेश
पत्रकार समृद्धि सकुनिया र स्वर्ण झा

भारतकाे त्रिपुरा राज्यमा साम्प्रदायिक हिंसा भड्काउन सघाउ पुर्‍याएकाे आराेपमा दुई महिला पत्रकार पक्राउ परेकी छन्।

विश्व हिन्दू परिषद्का समर्थकहरूको उजुरीपछि त्रिपुरा हिंसाकाे स्थलगत रिपाेर्टिङ गरिरहेकी पत्रकार समृद्धि सकुनिया र स्वर्ण झा प्रहरी हिरासतमा पुगेकी हुन्।

त्रिपुरा प्रहरी–प्रमुखकाे आदेशमा असमकाे करिमगञ्जस्थित नीलामबजार चाैकीमा राखेर थप अनुसन्धान थालिएकाे छ। असम प्रहरीले उनीहरूलाई होटलबाटै नियन्त्रणमा लिएको हाे।

प्रहरी स्राेतका अनुसार विश्व हिन्दू परिषद्का समर्थकहरूले धार्मिक कागजात जलाएको वा मस्जिदमा तोडफोड गरेकाे कुनै प्रमाण फेला परेको छैन।

तर, पत्रकार समृद्धिले मिथ्या समाचारका आधारमा राज्यभर साम्प्रदायिक हिंसा भड्किरहेका बेलामा मस्जिद जलेको फाेटाे सामाजिक सञ्जालमा बाँडेर हिंसा मच्चाउन सघाउ पुर्‍याएकाे प्रहरीकाे दाबी छ। पत्रकार समृद्धि सकुनियाको ट्विटका आधारमा एक दिनअघि उनीहरूविरूद्ध मुद्दा दर्ता गरिएको थियाे।

पक्राउ गर्नुअघि प्रहरीले आफूहरूलाई भेटेर धम्की दिएकाे समृद्धि  र स्वर्णले गम्भीर आराेप लगाएकी छन्। उजुरीलगतै कम्तिमा २० जना प्रहरीले उनीहरूलाई हाेटलबाट बाहिर निस्कन दिएका थिएनन्। उनीहरूमाथि अहिले  मिथ्या समाचार फैलाएको मामिलामा सोधपुछ भैरहेकाे छ।

समृद्धि  र स्वर्णले काम गरिरहेकाे एचडब्ल्यू न्यूज नेटवर्कले पत्रकारलाई हिरासतमा लिएकाेप्रति निन्दा व्यक्त गरेकाे छ। विश्व हिन्दू परिषद्को र्‍यालीलगतै त्रिपुराको एउटा मस्जिदमा तोडफोड भएकाे समाचार सामाजिक सञ्जालमा फैलिएपछि साम्प्रदायिक हिंसा भड्किएकाे प्रहरीकाे दाबी छ।

भारतीय केन्द्रीय गृह मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएका समाचारहरू नक्कली र गलत भएकाे स्पष्ट पारेकाे छ। उता त्रिपुरा राज्य सरकारकाे गृहमन्त्रालयले पनि मस्जिदमा कुनै क्षति नभएको बताएकाे छ।

प्रकाशित मिति: : 2021-11-15 06:15:00

प्रतिकृया दिनुहोस्