झि–टोड्के पदमार्ग र उद्यान निर्माण सुरू

File Photo
File Photo

म्याग्दीको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु भएको छ।

रघुगङ्गा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु गरेको हो। वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जिम्मा लिएको निर्माण कम्पनीले झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण सुरु गरेको जानकारी दिए।

'गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा ठेक्का प्रक्रियाबाट पदमार्ग निर्माण गर्न लागेका हौँ', उनले भने, 'झिँ हुँदै टोड्के जाने आउने पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि पदमार्गलगायत पूर्वाधार बनाउन लागिएको हो।'

सो सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत असारमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो।

योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो। कम्पनीका सञ्चालक मनोज कार्कीले हालसम्म एक सय मिटर भन्दा बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए। उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउने योजना छ। 

पदमार्गमा ४१० मिटर रेलिङ बनाउने लक्ष्य छ। विसं २०७८ फागुन महिनाभित्र पदमार्ग र उद्यान निर्माण गरिसक्ने सम्झौता रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए। उनका अनुसार ढुङ्गा बिछ्याइने उद्यान परिसरमा पर्यटक बसेर दृश्यावलोकन गर्ने स्थल पनि बनाउन लागिएको छ। 

प्रकाशित मिति: : 2021-11-13 08:58:00

प्रतिकृया दिनुहोस्