कहाँ हरायाे हेमन्त ऋतुमा ढकमक्कै फुल्ने 'पैयूँ'

स्थानीय भन्छन्– अनुसन्धान होस्

Breaknlinks
Breaknlinks

हेमन्त ऋतु लागेपछि वन–पाखा र बारीका ढिक–बारीमा फूलेर सेताम्मे देखिनुपर्ने हो– पैयूँ (चेरी)का रुख। तर, यतिबेला पैयूँ फूलेकाे छैन। पैयूँले हाँगाबाट पातहरू समेत निकालेकाे छैन।

कुनै समय किसान पैयूँको रुख फूले मात्रै गहुँ छर्न तयार हुन्थे। तर, किसानहरू कात्तिक–मंसिरमा गहुँ छर्न तयार छन्। तर पैयूँका रुखमा फूल भने फुलेनन्। रुख सुकेर हाँगा मात्रै छन्। कतै त ढलि नै सके। केही दाउराका लागि काटिए।

यसरी पैयूँका रुख सुकेर सबै सखाप भएपछि दाङकाे शान्तिनगर गाउँपालिकाका स्थानीय अचम्ममा परेका छन्। पुराना रुख सुक्नु स्वभाविकै रुपमा लिएपनि साना, भर्खरका रुख पनि सुकेर लोप हुने अवस्थामा पुगेपछि स्थानीय अचम्ममा परेका हुन्।

‘पहिले, पैयूँ फूले भने गहुँ छर्न हतार हुन्थ्यो। अहिले खै के भयो। सबै सुकिसके। हामी अचम्ममा छौँ,’ शान्तिनगर गाउँपालिका–१ बाजविसौनाका स्थानीय सोभाराम विकले भने।

यस्तै, वडा–१ कल्लेखाराका अर्का स्थानीय गोपिलाल वलीले पनि पैयूँको रुख सुकेपछि अचम्ममा परेको बताए। ‘हामी अचम्ममा छौँ। यी रुख किन सुके, के भयो ?’ उनले भने। उनले रुख सुकेको प्रति चिन्ता व्यक्त गर्दै अनुसन्धान गरिदिन आग्रह गरे।

यसरी पैयूँका रुखमात्रै होइन वडा–१ को बजविसौना, कल्लेखारा, हारिचारलगायतको ठाउँमा ️डालेघाँस दुधिलोको रुख पनि सुकेर सकिएका छन्। यी गाउँ वडा–१ को माथिल्लो (उच्च) भू–भागमा पर्छ।

यस्तै, शान्तिनगरकै वडा–३ को माथिल्लो भूभागमा पनि पैयूँ र दुधिलोको रुख सुकेका छन्।  यी माथि उल्लेख गरिएका वडा साविकका बाघमारे र शान्तिगर गाउँ विकास समिति अन्तर्गत पर्छन्।

वन, बारीका ढिकमा भएका रुख सुकेपछि स्थानीयले पैयूँ र डालेघाँस दुधिलोका घाँस गाई–बाख्रालाई खुवाउन पाएका छैनन्। दुधिलो घाँस बाख्राका लागि राम्रो डालेघाँसको रुपमा प्रयोग हुने गर्छ।

पैयूँ धार्मिक कार्यका लागिसमेत प्रयोग हुने रुख हो। यसको फूल पूजा पाठ गर्दा समेत प्रयोगमा ल्याइने कृषिवन सम्बन्धी काम गरिरहेको संस्था कृषि वन वीउ–विजन केन्द्र काठमाडौंका व्यवस्थापक रामप्रसाद पौडेलले बताए।

उनले पैयूँ औषधिका रुपमा पनि प्रयोग हुने जानकारी दिए। पैयूँ, डालेघाँस दुधिलोको रुख मध्य–पहाडमा पाइने रुख हो। यी रुखहरू उच्च र तराई भू–भागमा नहुने पनि उनले जानकारी दिए। 

किन लोप हुने गरेर सुके बोटहरू

यसरी लोप हुने गरेर बोटहरु सुक्नुमा भाइरसको आक्रमण भएको हुन सक्ने कृषि, वन, वीउ–विजन केन्द्रका व्यवस्थापक पौडेलले बताए। तर अध्ययन नगरी यही कारण हो भन्न नसकिने उनको भनाई छ। यस्ता विषयमा राज्यले लगानी गरेर अध्ययन गर्ने काम गर्नुपर्नेमा राज्य नै बेखबर जस्तो हुने गरेको उनको अरोप छ।

‘यो विषयमा अध्ययन हुनुपर्ने हो,’ उनले भने, ‘तर राज्यले सहयोग गर्दैन। बेखबर हुन्छ। यस्ता विषयमा राज्यले मतलब गर्दैन।’ पौडेलले सरकारको सहयोग भएमा आफूहरुले अध्ययन गर्न सक्ने बताए।

अनुसन्धान हुन्छ– डिभिजन वन प्रमुख श्रेष्ठ

डिभिजन वन कार्यालय घोराही दाङका प्रमुख मोहन श्रेष्ठले रुख सुकेको विषयमा आफूहरुले अध्ययन, अनुसन्धान गर्ने प्रतिक्रिया दिए। रुख सुकेको विषय हाम्रो जानकारीमा आएको थिएन। के भएर सुकेछन्। अनुसन्धान गर्छौँ,' उनले भने।

प्रमुख श्रेष्ठले भाइरसले आक्रमण गरेको हुँदा त्यसरी रुख सुकेको हुन सक्ने जनाए। उनले यी रुखका विरुवा उत्पादन गर्न सकिने र लोप भएको ठाउँमा संरक्षण गर्न सकिने बताए।

प्रकाशित मिति: : 2021-11-13 11:00:00

प्रतिकृया दिनुहोस्