न्युजिल्यान्डसहित यी देशमा छ 'इच्छा मृत्यु'को व्यवस्था

File Photo
File Photo

न्युजिल्यान्डमा आईतबारदेखि इच्छा मृत्युसम्बन्धी कानुन कार्यान्वयनमा आएको छ। न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले निश्चित मापदण्ड बनाएर आईतबारदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएसँगै यो कानुन कार्यान्वयनमा आएको हो।  

गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशतले इच्छा मृत्युको पक्षमा मतदान गरेका थिए। कानुन कार्यान्वयनमा आएसँगै निको नहुने रोग लागेका विरामीहरूलाई विशेष राहत मिल्ने सरकारी अधिकारीहरुले बताएका छन्। 

कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनि कम्तिमा दुई जना चिकित्सकले सिफारिस गरेमा उसले इच्छा मृत्यु रोज्न पाउने छ। तर, इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्नेछ।

कुन कुन देशमा छ इच्छा मृत्युको व्यवस्था ?
केही युरोपेली मुलुकहरुमा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ। नेदरल्यान्ड, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्गमा इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। स्पेनमा यसै वर्षको मार्चदेखि इच्छा मृत्युको व्यवस्था लागु भएको हो। 

त्यस्तै, क्यानडा र कोलम्वियामा पनि बिरामीले चाहेमा निश्चित शर्त पालना गरेर इच्छा मृत्यु वरण गर्न सक्छन्। 

इच्छा मृत्युका लागि देशअनुसार फरक फरक मापदण्ड छन्। अस्ट्रेलियाका क्विन्सल्यान्ड, भिक्टोरिया, साउद अस्ट्रेलिया र वेस्र्टन अस्ट्रेलियामा पनि इच्छा मृत्युको व्यवस्था छ। इच्छा मृत्युलाई कानुनी मान्यता दिने अन्तिम मुलुक भने पोर्चुगल हो। इच्छा मृत्युलाई कानुनी मान्यता दिने विषयमा शुक्रबार पोर्चुगलमा मतदान भएको थियो।

प्रकाशित मिति: : 2021-11-08 07:02:00

प्रतिकृया दिनुहोस्