नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले असफल व्यवस्थाले गर्दा संसददेखि अदालतसम्म झगडा देखिएको बताएका छन्। शनिबार दाङ घोराहीमा पार्टीको युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
‘अहिले देख्नुभएको छ नि संसदमा झगडा छ। भएन भने न्याय दिने अदालतमा हानाहान छ,’ उनले भने, ‘यसले पुष्टि गर्छ संसदीय व्यवस्था असफल भइसकेको छ।’ उनले असफल संसदीय व्यवस्थाले गर्दा स्थानीय तहदेखि नेता, कर्मचारी, प्रहरी प्रशासन, अदालत सबैमा घुषखोरी मौलाएको बताए।
यस्तो हुनुमा सम्बन्धित व्यक्ति दोषी नभएर व्यवस्था नै त्यस्तै भएको उनको जिकिर थियो। महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्ने भन्दा खोस्ने र नेताहरु मात्रै मोटाउने काम भएको दावी गरे।
उनले अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नुपर्ने धारणा राख्दै त्यसो अबस्था आए आफूहरु चुनाबमा जाने स्पष्ट पारे। राज्य सत्ता अहिले संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गर्दै विप्लबले न्यायलयमा समेत प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको जिकिर गरे।
नेकपा एमाले, नेपाली कांग्रेस र माओबादी केन्द्र सत्तामा पुगे पनि सत्ता र अधिकार जनतामा फर्काउन नचाहेको उनले दावी गरे। उनले अमेरिकी सहयोग एमसीसी सहयोगका रुपमा लिन सकिने तर निस्वार्थ हुनुपर्ने धारणा व्यक्त गरे।
साथै महासचिव बिप्लबले सरकारसँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोश समेत व्यक्त गरे। तत्काल सहमती कार्यान्वयन गरेर इमान्दारीता देखाउने समेत उनले सरकारलाई आग्रह गरे।