सुपर हिट सिनेमा ‘साङ्ग ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्ग्स’

मार्बल स्टुडियो र निर्देशक डेस्टिन डेनियल क्रेटनको २५औं सिनेमा 'साङ्ग ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्ग्स' करिब दुई महिनापहिले सिनेमा घरहरुमा रिलिज गरिएको थियो। विशेष गरेर मार्बल कमिक्स पढ्ने नवयुवाहरुको प्रिय पात्र साङ्ग चीलाई नायकको रुपमा देखाइएको यो सुपर हिट सिनेमा हो।

अँग्रेजी सिनेमामा एसियाली पात्रहरुलाई प्राय: खल भूमिकामा मात्र देखाइने परम्परालाई छोड्दै यो सिनेमामा नायक वा 'सुपर हिरो' को रुपमा देखाइएको छ। सिनेमामा साङ्ग चीको जीवनको अतीत र वर्तमानलाई बडो रोचक रुपले देखाइएको छ। 

सिनेमा हेर्दै दर्शकहरुलाई साङ्ग ची कुनै काल्पनिक पात्र नभएर वास्तविक पात्र नै भएको अनुभव हुन्छ। यो नै सिनेमाको सबैभन्दा प्रमुख 'प्लस प्वाइण्ट' हो।

सिनेमाको कथा दुई साथी सीन (सीमू लियू) र केटी (अक्वाफिना) को मित्रताबाट सुरु हुन्छ। यी दुई साथीहरु आफ्नो परिवार र गाडी पार्किङ्गमा रहेको आफ्नो कामबाट खुशी छन्। एक दिन अदृश्य शक्तिप्राप्त मान्छेहरुले सिनको लकेट खोस्ने प्रयास गर्छन्।

ती व्यक्ति को हुन् भनेर खोज्दै जाँदा त्यो समूह (टेन रिङ्ग्स) को प्रमुख सिनकै पिता (टोनी लियुङ्ग) भएको थाहा हुन्छ। उनी मानव जातिकै विनाश गर्ने एउटा अभियानमा जुटेका हुन्छन्। 

के सिन आफ्नो पितालाई सम्झाइ–बुझाई असल मान्छे बनाउन सक्छन्? के उनी मानव जातिको विनाश गर्ने अभियानलाई रोक्न सक्छन्? यो नै सिनेमाको मूल कथा हो। यसलाई अगाडि बढाउन उपकथाहरु पनि जोडिएका छन्।

अभिनयको दृष्टिमा प्रमुख कलाकार सीमू लियू र अक्वाफिनाको जोडी निकै रोचक छ। यिनीहरुलाई पर्दामा देख्दा वास्तविक रुपमै साथी हुन् जस्तो लाग्छ। खलनायकको रुपमा वरिष्ट कलाकार टोनी लियुङ्ले गज्जबको अभिनय गरेका छन्। 

धेरै समयपछि बेन किंग्सलेले पनि ट्रेभर स्टेट्रीको पात्रमा अभिनय गरेका छन्। उनको अभिनय उत्कृष्ट छ। ओस्कार पुरस्कार प्राप्त हिन्दी सिनेमा 'गान्धी' मा महात्मा गान्धीको भूमिका गरेका अभिनेता किंग्सले हिन्दी सिनेमा का दर्शकहरुको लागि पनि चिर परिचित नाम हो।

अन्य सहयोगी कलाकारहरु सबै आफ्नो–आफ्नो भूमिकामा सामान्य छन्। लीको भूमिका गर्ने अभिनेत्री फाला चेनले आफ्नो सानो भूमिकामा न्याय गरेकी छिन्। स्क्रिप्ट स्वयम् निर्देशक क्रेटन र डेब केलाहम ले लेखेका हुन्। जो उत्कृष्ट छ। विलियम पोपको सिनेमोटोग्रफ़ीले सिनेमालाई थप उत्कृष्ट बनाउन सहयोग गरेको छ।

मार्बल कमिक्सका पाठक र पहिलो एसियाई 'सुपर हिरो' को सिनेमा हेर्न इच्छा हुनेहरुले यो सिनेमा अवश्य हेर्नुहोला तर यो दुवै विषयमा रुचि र जानकारी नभएकाहरुको लागि यो सिनेमाले खासै मनोरञ्जन दिन सक्दैन।

प्रकाशित मिति: : 2021-10-30 15:38:00

प्रतिकृया दिनुहोस्