२५ वर्षदेखि करारमै जागिरी, अवकाश पाउँदा रित्तै हात

नागरिक दैनिक

भुवन शर्मा

सरकारले श्रेणीवीहिन कर्मचारीहरूको स्थायी भर्ना नलिने निर्णय गरे पछि कार्यालय सहयोगी, सवारी चालक, हल्कारा, माली जस्ता कर्मचारीहरू लामो समयदेखि कारार तथा ज्यालादारीमै काम गर्दै आएका छन्। केही कर्मचारीहरू २५ वर्षदेखि करारमै कार्यरत छन्।

सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनीमा कार्यालय सहयोगी पदमा कार्यरत दिलकृष्ण नेपाली, चन्द्र लामा,भरत मगर सहितका कर्मचारी २५ वर्षदेखि करारमै कार्यरत छन्। यसैगरी राष्ट्रिय महिला आयोगमा २०५९साल देखि कुमार राउत सवारी चालक पदमा कार्यरत छन्। अहिले उनीहरूको अर्को ठाउँमा जागिरी गर्ने उमेर पनि सकिएको छ। ‘जीवनको उर्जाशील उमेर करारमै काम गरे। अवकाश पाउने बेला रित्तोहात हुने अवस्था छ’दिलकृष्ण नेपालीको गुनासो छ।

प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री निवासमै ७० जना कार्यालय सहयोगी र ड्राइभर करारमै कार्यरत छन्। मुलुकको शासन चलाइरहेका प्रधानमन्त्रीले आफ्नै गाडी गुडाउने ड्राइभरको व्यथा नसुनेको त्यहाँ कार्यरत करारका कर्मचारीहरू बताउँछन्। ‘हामी प्रधानमन्त्री कार्यालयमै काम गर्छौ तर हाम्रो व्यथा कसैले सुनेनन’प्रधानमन्त्री कार्यालयमा कार्यरत कार्यालय सहयोगी भवनाथ सापकोटाले दु:ख पोखे। यस्तै दुख कुमार राउतको पनि छ। ‘झण्डै २०वर्ष करारमै काम गरे। स्थायी गर्छन कि भन्ने आशामै जीवन वित्न लाग्यो’ राउतले भने।

प्रकाशित मिति: : 2021-10-28 13:53:00

प्रतिकृया दिनुहोस्