मादीका बाढी पीडितलाई गण्डकी प्रदेश सरकारको राहत

गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन्।

असार १ गते मादी नदीमा आएको बाढीले घरबाट पूर्ण क्षति पुर्‍याएका ११ घर परिवारलाई जनही १ लाख रुपैयाँका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरेका हुन्।

बाढी पहिरोले घर पूर्ण क्षति पुर्‍याउनेहरुलाई मनाङको हकमा २ लाख र अरु जिल्लाका हकमा १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो। भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ, दूधराज गुरुङलाई उक्त अवसरमा राहत प्रदान गरिएको हो।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुखमा सँधै साथमा रहेको बताए। उनले भने, ‘३ तहका सरकारका आआफ्नै दायित्व र अधिकार क्षेत्र छन्, प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर छ।’ आफू सरकारको नेतृत्वमा आएलगत्तै बाढीपहिरोको प्रकोप सुरु भएको स्मरण गर्दैै उनले पीडितलाई तत्काल राहत प्रदान गर्नेदेखि स्थायी रुपमा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भनाए राखे।

बाढी पहिरोले मादीमा धेरै क्षति भएको आफूले देखिसकेको भन्दै उनले बाढी लगत्तै बाटोघाटो खुलाउनका लागि केही रकम प्रदान गरेको र अब पनि थप रकमका लागि पहल गर्ने प्रतिबद्धता जनाए। विकास र सहयोगका काममा कसैले पनि राजनीति गर्न नहुने उनले बताए। चुनाव लड्ने बेलामा आफ्ना राजनीतिक एजेन्डा राख्ने कुरा स्वाभाविक भए पनि चुनाव जितेपछि नागरिककै सेवामा प्रतिबद्ध रहनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले २०७२ सालको भूकम्पपछि मुलुकमा धेरैथरी विपत्ती आएको भन्दै यी विपत्तीलाई सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताए। बाढीले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र बाटोघाटोको प्रवन्धका लागि उनले ध्यानाकर्षण गराए। असारको सुरुमै सिक्लेसको पहिरोले परी भेडीगोठमा क्षति पुगेको भन्दै राहतको लागि प्रदेश सरकारसँग आग्रह गरे।

गण्डकी प्रदेश सभामा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताइन्। समस्याको दीर्घकालीन रुपमा समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता उनले जनाइन्। संविधान सभा सदस्य तेजकुमारी पौडेलले बाढीले क्षति पुर्‍याएपछि आफूहरु स्थलगत अनुगमनमा पुगेको र राहतका लागि पहल गरेको उल्लेख गरिन्।

गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रक्रिया पूरा गर्ने क्रममा राहत वितरण गर्न केही ढिलाइ भएको बताए। बाढीपहिरोले घर पूर्ण क्षति पुर्‍याउनेका हकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउने भएकाले यसका लागि जनप्रतिनिधिले पहल गरिदिन आग्रह आग्रह गरे।

उक्त अवसरमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, मादी गाउँपालिका १ का वडाध्यक्ष सुरज गुरुङ, वडा नम्बर ७ का वडाध्यक्ष लालबहादुर गुरुङ लगायतले बोलेका थिए।

प्रकाशित मिति: : 2021-10-27 20:47:00

प्रतिकृया दिनुहोस्