कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी भैँसी विज्ञको अन्तर्राष्ट्रिय सम्मेलन एसियन भैँसी सम्मेलन (एसियन बफेलो कंग्रेस) मा सात अनुसन्धान क्षेत्रका १४० कार्यपत्र प्रस्तुत हुने भएका छन्। सो क्षेत्रका नीतिगतदेखि प्राविधिक विषय समेटिएका सात क्षेत्रभित्र रहेर कार्यपत्र प्रस्तुत हुन लागेका हुन्।
सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाका अनुसार भैँसी विकास नीति र अर्थतन्त्रमा पार्ने प्रभाव, दूध र मासुको उत्पादन, भैँसीको नस्ल सुधार, प्रजनन क्षमता, व्यवस्थापन र पोषण, भैँसीको स्वास्थ्य र वातावरणीय प्रभाव लगायतका क्षेत्रमा कार्यपत्र प्रस्तुत हुनेछन्। कार्यपत्रमा नीतिगत र प्राविधिक पक्ष समेटिने उहाँले जानकारी दिए।
सोमबारबाट सुरु भएको सम्मेलनको उद्घाटनको दिन पाँच देशले आ–आफ्नो देशको भैँसीको अवस्थाबारे प्रस्तुत गरेका थिए। यसैगरी सम्मेलनको अवधारणबारे पनि प्रस्तुत गरिएको थियो। सम्मेलनमा १७ देशका ३५० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता छ।
भर्चुअल माध्यमबाट भइरहेको उक्त सम्मेलनका अवसरमा इन्टरनेसनल बफेलो फेडेरेसनको बैठक र एसियन बेफेलो एसोसिएसनको साधारणसभासँगै नयाँ नेतृत्व हस्तान्तरणसमेत हुनेछ। यही कात्तिक १२ गतेसम्म चल्ने सम्मेलनको अन्तिम दिन सम्मेलनको निचोड पारित गर्दै सम्पन्न गरिने उनले जानकारी दिए।
भैँसी पशुधनको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण, उपयोगिताका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास तथा सबलीकरणमा योगदान पु¥याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको समितिका अध्यक्ष डा देवकोटाले जानकारी दिए।
सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन्।
विश्वविद्यालयका पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैँसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आइरहेका छन्। बेमौसमी प्रजनन प्रविधिबाट करिब ४७ प्रतिशत सफलता मिलेको उनको भनाइ छ।
मुख्य अनुसन्धानकर्ता रहनुभएका समितिका अध्यक्ष प्राडा देवकोटाले बेमौसमी भैँसी प्रजनन नेपालमा सफल भएको बताए। नेपालका विभिन्न ठाउँका २०० भैँसीमा गरिएको अनुसन्धानबाट ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सकिएको उहाँले जानकारी दिए।
नेपालमा साउनदेखि मङ्सिरसम्मलाई मौसमी प्रजनन मानिन्छ भने फागुन चैतजस्ता सुक्खायाममा भैँसी बियाउने बनाउनेलाई बेमौसीमा भनिन्छ। सुक्खा याममा पनि भैँसीको पोषण र अन्य स्वास्थ्यमा सुधार गरी प्रजनन गराउन सफलता मिलेको उनको भनाइ छ।
नेपालमा दुग्ध उत्पादनमा भैँसीको करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा करिब ५२ लाख भैँसीको सङ्ख्या रहेको अनुमान छ। स्थानीय जातहरुमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैँसीपालन हुँदै आएका छन्।
पछिल्लो समय आयातीत हाइब्रिड जातका भैँसीपालनसमेत बढ्दो क्रममा रहेको जनाइएको छ। दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैँसीलाई बहुउपयोगी जनावर मानिन्छ।
विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई प्रवद्र्धन गर्न विश्वविद्यालय लागिपरेको जानकारी दिए।
उनले अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक सम्मेलनले पशुपालन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। सम्मेलनले प्राविधिकसँगै यससँग सम्बन्धित नीतिगत सुधारका लागि पनि सुझाव दिने उपकुलपति प्रडा रेग्मीले बताए।
नारायण अधिकारी