मनसुन सकिनै लाग्दा आएकाे बाढीले देश प्रभावित छ। तराई पुरै जलमग्न हुँदा किसानकाे मुखमा माड नपस्ने हाे कि भन्ने पिरलाे बढेकाे छ।
बाढीकाे प्रभाव हिमालमा पनि पर्याे। जीउ र धन दुबै मासिएपछि नागरिक बिछिप्त छन्। भाैतिक क्षतिबाट जुम्ला पनि अछुतो रहेन। तिला गाउँपालिकामा बाढीकाे प्रभाव सबैभन्दा बढी छ।
त्यसैले तिला गाउँपालिकाका अध्यक्ष रतननाथ याेगी भावुक छन्। भन्छन्, 'सय वर्षमा खोला फर्किन्छ भन्ने भनाई चरितार्थ भएको छ। वि.सं. १९८४ साल पछि अर्थात ९४ वर्ष पछि आज तिला गाउँपालिकाको -४ काे भेरिखोलामा आएको बाढीले करिब २४ जिउलाको खेतबारी र धान, घट्ट, सिंचाई कुलो, विद्युत गृह र बाँध, रावतबाडा र नुवाकोटको खानेपानी योजना, काठेपुल, पशुवस्तु, घर, कुडारी ताम्ती सडक खण्ड बगायर अतुलनीय क्षति पुगेकोछ।'
उनी प्राकृतिक विपत्तिले पुर्याएको धनजनको क्षतिप्रति तिला गाउँपालिका परिवार दु:ख व्यक्त गर्दै पीडितहरुको घाउमा मलम पट्टी लगाउन खाेजिरहेका छन्। नागरिकलाई अपिल गर्छन्, 'यस्तो विपत्तिमा विचलित नहुन र तिला गाउँपालिका तपाईंहरुको पीडामा सँगसँगै घाउमा मलम पट्टी लगाउने काममा दत्तचित्त भएर लागिरहको छ।'
उनले भनेजस्तै जुम्ला तिला गाउँपालिका-४ रावतबाडाकी ७८ वर्षीया चन्द्रकला योगीले अहिलेसम्म भेरीखोला नदीमा यति ठूलो बाढी आएको नदेखेकाे बताइन्।
स-साना खहरे खोलामा बाढी आउँदा सामान्य क्षति त हरसाल देखेकै हुन्। तर यस्ताे विपत्ति ल्याउने बाढी पनि आउँछ हाेला कहिल्यै साेचिनन्। 'खेतीयोग्य जमिन बाढीले बगाएको, धान पुरेको देखेको थिएँ,' उनले भनिन्, 'अहिलेसम्म यत्रो ठूलो बाढी आएको कहिल्यै देखिनँ। यसले तहसनहस बनाएको पहिलो पटक देखेँ।'
उनले थपिन्, 'लगभग सय वर्ष हुन आँट्याे रे भेरीखोलामा सबैभन्दा ठूलो बाढी नआएकाे। त्याे सुनेकाे कुरा कथाजस्ताे लाग्याे। यो पटक आँखैले देखेँ। यो भेलले घर बगायो। खेत कटान गरेर धान लियो। पुलपुलेसा, घट्ट, मिल सबै बगायो। मान्छेका आँखाबाट आँसु बगेका छन्।'
यतिबेला तिला गाउँपालिकामा मानवीय क्षति त भएन। तर अत्यधिक रुपमा बालीनालीकाे क्षति हुनुले भोकमरी निम्तिने सम्भावना बढेकाे अध्यक्ष याेगीले बताए।
२०२८ साल असार १२ मा भेरीखोला मिसिने कोटखोला र पिठारीखोलाबाट बाढी आयो। कुलापाटा जीउलोमा लगाएको धान बगायो। तर खेत कटान गरेन। त्यतिबेला तिला गाउँपालिका -४ का रत्नप्रसाद उपाध्याय ८ वर्षका थिए।
उनले भने, 'बाढी आयो। बाढी पन्छाएर फेरी खेती गर्न सुरु भयो। त्यसपछि जनजीवन सामान्य बन्दै गएको थियो। अहिले फेरि जनजीवन अस्तव्यस्त हुने गरेर भेरीखोलामा बाढी आइपुग्यो। धेरैका गाँस खोसेको छ। केहीका बास पनि खाेस्याे। बगाएर विस्थापित बनाइसक्यो।'
जिल्ला कृषि विकास कार्यालयकाे तथ्यांक अनुसार यतिबेलाकाे बाढीले समग्र जुम्ला जिल्लाकाे १३ हेक्टर जमिन फेरि प्रयाेग नहुने गरी बगाएको छ। मार्सी धानका फाँट बगर बनेका छन्।
रत्नप्रसाद २०३२ साल भदौ २७ गते नुवाकोट गाउँ नजिकैको भाडखोलामा आएकाे बाढीकाे पनि साक्षी थिए। उनका अनुसमर त्यसबेला सिम जीउलो, भिडमुनी र कुलदेउ जीउलाका धान बगायाे। धान पुरिए। तर कटान गरेर खेत नै बगाएको थिएन। पछि धान खेती गर्न मिलेकै थियाे।
उनले १९८४ सालको बाढीको कथा बुढापाकाबाट सुनेका थिए। त्यो बेला खानेपानी, घट्ट, घर, पशुवस्तु बगेका थिए। त्याे भयानक सुनिन्थ्याे। झण्डै शताब्दी पुग्न लाग्दा अर्को ठुलो विपत्ती आइपरेको उनी बताउँछन्। यो बाढी जुम्ला जाजरकोट पाटनदेखि आएको हो।
५६ वर्षीया चक्रबहादुर शाही जीवनकालमा यत्रो मानवलाई संकट पार्नै बाढी नआएको अनुभव सुनाउँछन्। 'खेत पुर्ने बाढी पटक पटक आयो। तर खेत कटान गरेर बगाउने बाढी कहिल्यै आएन,' उनले भने, 'यस्ताे किन हुन्छ हामीलाई थाहा छैन। माैमसकाे पूर्वानुमान हुने अहिलेकाे जमानामा पनि हामीले यति ठूलाे क्षति बेहार्नु पर्याे।'
उनका अनुसार किसानले साउन भदौ महिनामा अत्यधिक वर्षा हुँदा बाढी पहिरो आएकाे देखेका र भाेगेका थिए। त्यही अनुसार तयारी गरेर विपत्बाट पार पनि पाउँथे। तर यसपाली कात्तिक महिनामा बाढी आउँदा किसानले तयारी गर्न पाएनन्। पानी आउनेवाला छ भन्ने थाहा पाए पनि यस्ताे विपत् निम्तिन्छ साेचेनन्।
यतिबेलाको वर्षाले गिडीगंगा नदी र भेरीखोला नदीमा बाढी आएको हो। उनले थपे, 'तीब्र जनसंख्याबृद्धि भएर हाे कि, वन विनास गरेर हाे कि। विकासमा नाममा खोला, खाल्सीमा डोजर प्रयोग गरेर बाढी आएकाे हाे कि कारण त एकिन भएन,' उनले भने, 'तर यो प्राकृतिक रुपमा आइ लागेकाे विपत्तिले पर्याप्त पूर्व तयारीकाे सन्देश दिएकाे छ।'
७८ वर्षीया चन्द्रकला योगीले थपिन्, 'सिंजा खाेला(हिमा) कर्नाली(तिला) गीडीखाेला(जवा नदी)मा पनि बाढी आयो भन्ने त सुनेकी छु तर भेरीखोलाकाे भन्दा ठूलो बाढी कहीँ आएन। कहिले पनि आएन।'
अहिले अधिकांश खेत कटान भइसकेका छन्। भित्र्याउने बेला भएकाे धान सोत्तर भएकाे छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, 'जिल्लाकाे २९ सय पचार हेक्टरमा लगाइएको धानबालीमा ९ सय पचास हेक्टरकाे धान बचेको छ भने २ हजार हेक्टर जमिनमा लगाएकाे धान बाढीले सखाप गरेकाे छ।'