म्यान्मार सेनाको आतंकः चर्चमाथि आक्रमण, पास्टरको क्रूरतापूर्वक हत्या

सुधा अत्रि

रंगुन, म्यान्मार
Photo: CJ
Photo: CJ

गत महिना म्यान्मार सेनाले ३१ वर्षीय ब्याप्टिष्ट चर्चका एक पास्टरमाथि गोली हानी हत्या गर्‍यो। ‘जुन्ता’ सेनाको आक्रमणले धुजाधुजा भएको बस्तीमा सहयोगका लागि पुगेका उनको सेनाले गोली हानी क्रूरतापूर्वक हत्या गरेको हो।

म्यान्मारको उत्तरपश्चिमी छिन् प्रान्तस्थित थान्तालाङ शहरको अर्को बस्तीमा आगो दन्किरहँदा सेनाले अर्को डरलाग्दो क्रूरता प्रदर्शन गर्‍यो। उनीहरूले एक पास्टरको औँला काटेर औँठी नै लुटे। पास्टरको औँलाबाट खोसिएको उक्त औँठी विवाह गर्दा पाएको उपहार थियो। छिन् प्रान्तका यी दुई घटना उदाहरण मात्रै हुन्। 

म्यान्मार सेनाले निर्दोष जनतामाथि बर्बरता प्रदर्शन महिनौँ भइसकेको छ। जनताले विरोध गरिरहेका बेला सैन्य सत्ता झन्–झन् हत्या–हिंसामा उत्रिएको छ।

सैन्य ‘कू’यता ‘जुन्ता सरकार’ले चर्च, नेता र स्वयंसेवक लक्षित २० वटा आक्रमण गरेको छ। सैनिकहरूले क्रिश्चियन समर्थकमाथि गोलाबारी, पास्टरहरूलाई हिरासत पुर्‍याउनेदेखि चर्चलाई सैन्य अड्डा बनाउनेसम्मको हर्कत् गरिरहेका छन्।

म्यान्मारका चर्चहरू सुनसान छन्। सैनिकविरूद्ध बोल्न–चल्न सक्ने अवस्था छैन। धार्मिक आस्थामाथि हमला गरिएको छ। तरपनि बर्मेली क्रिश्चियन समाज मौन छ।

मानिसको मनभित्र डर राखिएको छ। शहर मात्रै होइन गाउँका चर्चसमेत सुरक्षित छैनन्। गएको हप्ता आन्दोलनकारी लुकिरहेको आंशकामा कायाह प्रान्तको एक क्याथोलिक चर्चमाथि भिषण सैनिक हमला गरियो। तर त्यहाँ विद्रोहको युद्ध मैदानमा उत्रिएका नागरिकहरू थिएनन्। सैनिक आक्रमणबाट चार जना स्थानीयको मृत्यु भयो भने चर्च नजिकको बस्तीमा ठूलो क्षति भएको रेडियो फ्रि एसियाले जनाएको छ।

सन् २०१४ को जनगणना अनुसार म्यान्मारमा १८ लाखको हाराहारीमा क्रिश्चियन धर्म मान्नेहरू छन्। यहाँका बौद्धवादीहरू देशको सेना र राजनीतिमा हावी छन्। सेनाले लामो समयदेखि बौद्ध राष्ट्रवादी संघ–संस्थाहरूलाई बढावा दिँदैआएको छ।

सन् २००८ को संविधानसमेत बौद्ध धर्मलाई विशेष रूपमा चित्रण गर्दछ। म्यान्मारको जनसंख्याभित्र क्रिश्चियन धर्म अङ्गाल्नेहरू ६ प्रतिशत छन्। ती मध्ये प्रायः सीमाक्षेत्रमा बसोबास गर्ने र अल्पसंख्यकहरू हुन्।

म्यान्मार सेनाले बौद्ध धर्मलाई दमन नीतिको औजारका रूपमा प्रयोग गर्दैआएको छ। सेनाले दशकौंदेखि देशभित्र धार्मिक राष्ट्रवाद रोपेको छ। त्यसै कारण पनि सानो संख्यामा रहेका क्रिश्चियनकर्मीमाथि चर्को आतंक मच्चाउदासमेत अन्य धार्मिक संगठन बोल्न सक्दैनन्। 

म्यान्मारको उत्तरपश्चिम भारतीय सीमाक्षेत्रको छिन् प्रान्तको हखा गाउँमा सरकारी सेनाले बिहिबार ब्याप्टिस्ट चर्च र पूरै गाउँमा आगो सल्काइदिएको छ। नागरिकले सेनाविरूद्ध आक्रमण प्रयास गरेपनि हतियार अभावले सकेनन्। ‘जुन्ता’ सरकारले पछिल्लोपटक निरन्तर चर्चमाथि हमला गर्दैआएको छ। यो प्रान्तमा ४७ लाख बासिन्दा मध्ये ८५ प्रतिशत क्रिश्चियन धर्म अंगाल्नेहरू छन्।

प्रकाशित मिति: : 2021-10-18 12:30:00

प्रतिकृया दिनुहोस्